Trending
Prev Story
Next Story

केदारनाथको उकालोमा तीर्थयात्री बोकेर परिवार पाल्दै नेपाली

Ekantipur •
November 05, 2026 • 03:02 PM
1
1 reads 0 reactions

भारतको उत्तराखण्डस्थित रुद्रप्रयागस्थित केदारनाथ मन्दिर खुलेको सिजनमा राम्रो आम्दानी हुने भएकाले दुई हजारभन्दा बढी नेपाली यात्रु, सामान बोक्ने र होटल स‌ञ्चालनका लागि त्यहाँ पुग्छन् ।

केदारनाथको उकालोमा तीर्थयात्री बोकेर परिवार पाल्दै नेपाली

भारतको उत्तराखण्डस्थित रुद्रप्रयागस्थित केदारनाथ मन्दिर खुलेको सिजनमा राम्रो आम्दानी हुने भएकाले दुई हजारभन्दा बढी नेपाली यात्रु, सामान बोक्ने र होटल स‌ञ्चालनका लागि त्यहाँ पुग्छन् ।

कञ्चनपुर — भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लाको केदारनाथ धेरैका लागि आकर्षणको केन्द्र हो। नेपालीहरू पनि वर्षेनि ठूलो संख्यामा केदारनाथ पुग्ने गरेका छन्। यो नेपालीका लागि धार्मिक स्थल मात्रै नभइ रोजगारीको प्रमुख माध्यम पनि बनेको छ। केदारनाथ मन्दिरको दर्शन गर्न पुगेका तीर्थयात्रीलाई पिठ्युँमा बोकेर मन्दिरसम्म पुर्‍याउने काममा नेपालीहरू नै संलग्न छन्।

केदारनाथ क्षेत्रमा मालसामान बोक्नेदेखि तीर्थयात्रीलाई बोकेर मन्दिरसम्म पुर्‍याउनेसम्मका काम नेपालीहरूले गर्दै आएका छन्। बझाङको बुङ्गल नगरपालिका–११ का जीवन बोहरा पनि तिनैमध्येका एक हुन्। ३५ वर्षीय बोहरा १८ वर्षदेखि केदारनाथमा तीर्थयात्री बोक्ने काम गरिरहेका छन्। त्यसैबाट उनले घरपरिवार चलाइरहेका छन्।

उकालोमा हिँड्न नसक्ने तीर्थयात्रीलाई केदारनाथ मन्दिरसम्मै पुर्‍याउने काम बोहराले गर्दै आएका छन्। गौरीकुण्डदेखि केदारनाथसम्म २२ किलोमिटर पैदल हिँड्नुपर्छ। उकालो बाटो भएकाले सबैले हिँडेर यात्रा पूरा गर्न सक्दैनन्। गौरीकुण्डबाट तीर्थयात्रीलाई बोकेर केदारनाथसम्म पुर्‍याएबापत उनीहरूले तौलअनुसार पैसा लिने गरेका छन्। एक व्यक्तिलाई बोकेबापत तौलअनुसार १५ देखि २२ हजार भारुसम्म लिने गरेको बोहरा बताउँछन्।

गौरीकुण्डबाट एक पटकमा एकजनालाई मात्रै बोक्न सकिन्छ। डोकाको आधा भाग काटेर कपडा लगाई बस्न मिल्ने गरी बनाइएको हुन्छ। यसलाई कण्डी भन्ने गरिन्छ। त्यही कण्डीमा मानिसलाई बसाएर पिठ्युँमा बोकी २२ किलोमिटर उकालो बाटो पार गरेर केदारनाथ मन्दिरसम्म पुर्‍याउने काममा ठूलो संख्यामा नेपाली संलग्न रहेको बोहरा बताउँछन्।

बझाङकै बुङ्गल नगरपालिकाका ४० वर्षीय कमल बाग पनि १० वर्षदेखि केदारनाथमा कण्डीमा तीर्थयात्री बोक्ने काम गरिरहेका छन्। मिहिनेत धेरै भए पनि आम्दानी राम्रो हुने भएकाले उनी वर्षेनि यही काममा जाने गरेका हुन्। ‘आफूले जति काम गर्न सक्यो त्यति कमाइ हुन्छ, मान्छे बोक्ने काममै सबैभन्दा बढी पाइने,’ बागले भने, ‘अरू काम पनि पाइन्छ, तर त्यसमा कमाइ कम हुन्छ।’

गौरीकुण्डबाट एकजनालाई केदारनाथ मन्दिरसम्म पुर्‍याएर फेरि गौरीकुण्डमै फर्किन सके ५/६ हजारसम्म बचत हुने उनी बताउँछन्। राम्रो यात्रु भेटिएमा ८/१० हजारसम्म बचत हुने उनको भनाइ छ। उनका अनुसार गौरीकुण्डबाट मन्दिरसम्म पुग्न एक दिन पूरै लाग्छ। बाटोमा र मन्दिरमा खाना, बस्न र पानीको मूल्य निकै चर्को हुने भएकाले खर्च पनि बढी नै लाग्छ।

केदारनाथमा तीर्थयात्री बोक्नका लागि नेपाली नागरिकले नागरिकतासँगै भारतको गाउँ पञ्चायतको सिफारिस र प्रहरीबाट पनि परिचयपत्र बनाउनुपर्ने बाग बताउँछन्। यसका लागि ४/५ हजार भारु खर्च लाग्ने उनले बताए।

अहिले केदारनाथ क्षेत्रमा तीर्थयात्री बोक्ने मात्रै दुई हजारभन्दा बढी नेपाली रहेको बागले बताए। उनका अनुसार उक्त क्षेत्रमा ठूलो संख्यामा नेपालीले होटल तथा किराना पसलसमेत सञ्चालन गरेका छन्। तीमध्ये कतिपय दसैंका लागि घर फर्किसकेका छन् भने बाँकी रहेकाहरू अब तिहारका लागि र केदारनाथ मन्दिर बन्द भएपछि फर्किनेछन्।

केदारनाथ मन्दिर वैशाख मध्यदेखि तिहारको भाइटीकासम्म खुला रहन्छ। त्यसपछि चिसो बढ्ने र हिमपातसमेत हुने भएकाले मन्दिर बन्द गरिन्छ। यही अवधिमा तीर्थयात्रीको चाप निकै बढी हुन्छ। यही बेला राम्रो आम्दानी हुने भएकाले नेपाली कामदार पनि केदारनाथ पुग्ने गरेका हुन्। ‘यसपटक बाटोमा पहिरो गएकाले निकै अप्ठेरो र जोखिमसमेत थियो,’ बागले भने, ‘विगतमा पनि पहिरो जाने र बाटो बन्द हुने भइरहन्थ्यो।’ उक्त क्षेत्रमा बर्खायाममा पहिरोमा परेर वा अन्य दुर्घटनामा परेर वर्षेनि नेपाली कामदारले ज्यान गुमाउँदै आएका छन्। तर पनि राम्रो आम्दानी हुने लोभमा नेपाली कामदार जोखिम मोल्न तयार हुने गरेका छन्।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2611