Trending
Prev Story
Next Story

जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण, पर्यटन र व्यापार फस्टाउने आशा

Onlinekhabar •
November 05, 2026 • 11:31 AM
1
1 reads 0 reactions

१९ कात्तिक, जनकपुरधाम । जनकपुरधामदेखि भारतको अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको परीक्षण गरिएको छ । डब्ल्यूडीपी ४ डी ४०४०३ नम्बरको दुई इञ्जिन र सात बोगी भएको भारतीय विशेष रेल सेवाले भारत जयनगरदेखि जनकपुरधामको कुर्था …

जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण, पर्यटन र व्यापार फस्टाउने आशा

१९ कात्तिक, जनकपुरधाम । जनकपुरधामदेखि भारतको अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको परीक्षण गरिएको छ । डब्ल्यूडीपी ४ डी ४०४०३ नम्बरको दुई इञ्जिन र सात बोगी भएको भारतीय विशेष रेल सेवाले भारत जयनगरदेखि जनकपुरधामको कुर्था स्टेसनसम्म परीक्षण गरेको हो ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भुदेव झाका अनुसार भारत बिहारको जयनगरदेखि विशेष परीक्षण गर्दै बिहान ११ बजे रेल जनकपुरधाम आइपुगेको थियो । उनका अनुसार प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी हुँदैछ ।

भारतीय उच्च अधिकारी इस्ट सेन्ट्रल रेल्वे हाजिपुरका एडिसनल जेनरल म्यानेजर अमरेन्द्र कुमार, रेल्वेको लिक अप्रेसन म्यानेजर, चिफ सेक्युरिटी कमान्डरसहितको टोली चढेर रेलको परीक्षण गरेका हुन् । परीक्षणको क्रममा जयनगरदेखि कुर्थासम्म नेपालको तर्फबाट पनि अधिकारीहरू सहभागी भएका थिए ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुली, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भुदेव झा, धनुषाका प्रहरी उपरीक्षक रुपेश खड्का लगायत परीक्षणमा सहभागी थिए ।

आज गरिएको परीक्षणलाई ‘ड्राइ रन’ पनि भनिन्छ । सो क्रममा रेल्वे लिकको अवस्था, सुरक्षा अवस्था लगायतको प्राविधिक परीक्षण गरिन्छ ।

रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीका अनुसार तयारीस्वरूप विशेष रेल सेवाको परीक्षण गरिएको हो ।

‘प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी हुँदैछ । तयारीस्वरूप नै भारतीय रेल्वे कम्पनीका प्रतिनिधि तथा प्राविधिक सहितको टोलीबाट रेल सेवाको परीक्षण गरिएको छ,’ उनले भने ।

उनका अनुसार रेल सञ्चालनका लागि अहिले नै तय भएको छैन । सम्बन्धित निकायहरू परीक्षण गरिरहेका छन् । अपरेसन, व्यवस्थापन, प्राविधिक तथा प्रशासनिक कुराहरूको सबै तयारी पूरा भएपछि रेल चल्ने तय हुन्छ ।

‘चल्ने कुरा अहिले फाइनल भएको छैन । विभिन्न निकायद्वारा परीक्षण हुँदैछ । सबै कुरा कन्फरमेसन भएपछि मात्र रेल चल्ने डिक्लियर हुन्छ,’ उनले भने, ‘कसरी अपरेसन गर्ने, मेन्टिनेन्सका कुराहरू, प्राविधिकदेखि प्रशासनिक कुराहरूमा छलफल हुँदैछ । फिल्डमा रेल चलाएर परीक्षण गरियो । सतप्रतिशत काम सकिएपछि रेल चल्छ ।’

रेल परीक्षणको क्रममा रेल्वे अधिकारी र नेपाल रेल तथा सुरक्षा अधिकारीहरूबीच छलफलसमेत भएको छ । जनकपुरधाम–अयोध्या रेलसेवा सञ्चालनको रूपरेखा भने तयार भएको छैन । सञ्चालनमा नआएसम्म दुवै पक्षबीच विविध पक्षबारे छलफल हुने क्रम चलिरहने छ ।

नेपालको एउटा मात्र जनकपुर–जयनगर रेल सेवा रहेको छ । त्यसकारण जनकपुर–अयोध्या रेल सेवामा हाल भारतीय रेल नै गुड्ने छ । नेपाल पक्षले नेपालतर्फको रेखदेखको जिम्मा लिने प्रबन्ध गरिएको प्रबन्ध सञ्चालक पराजुलीले बताए ।

‘सञ्चालनको मोडालिटी कन्फर्म भएको छैन । अहिले चले पनि भारतीय रेल नै चल्छ । भोलि हाम्रो ट्रेन पनि चल्न सक्छ,’ उनले भने ‘नेपालतिर जेजे हुन्छ, अपरेसनको इस्यु हामी ह्यान्डिल गर्छौं । ट्रेन र भारत पक्षको उहाँहरूले नै हेर्नुहुन्छ ।’

केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो ।

सम्बन्धसँगै व्यापार–व्यवसाय फस्टाउने आशा

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधाममा पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमनमा थप सहज हुने अपेक्षा छ । दुवै देशको धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ हुने आशासमेत नागरिकमा थपिएको छ ।

दुवै देशको प्रत्यक्ष रेल सेवाले मधेशको राजधानी जनकपुरधामको व्यापार–व्यवसाय फस्टाउने सम्भावनाले व्यवसायीहरू उत्साहित भएका छन् । यसले नेपाललाई नै प्रत्यक्ष रूपमा फाइदा पुग्ने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी बताउँछन् ।

‘विगतको सरकारले नै रेल सेवा सञ्चालनको पहल गरेको थियो । अहिले सुरु हुन लागेको छ । पर्यटकको आवागमनले जनकपुरधामको व्यापार–व्यवसायमा फाइदा पुग्छ नै, साथै आउने पर्यटक देशको विभिन्न ठाउँमा पुग्दा पर्यटन प्रवद्र्धन हुन्छ,’ उनी भन्छन् ।

भण्डारीका अनुसार पटकपटक जनकपुरधाम–अयोध्या हवाई सेवासमेत चल्ने कुरा भए पनि अहिलेसम्म सञ्चालनमा आएको छैन । हाल नेपालको एक मात्र रेल सेवा महोत्तरीको भंगहादेखि भारतको जयनगरसम्म सञ्चालन हुँदै आएको छ ।

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
10h ago
माग सम्बोधन गर्ने आश्वासनपछि शव परीक्षण गर्न सहमति

माग सम्बोधन गर्ने आश्वासनपछि शव परीक्षण गर्न सहमति

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको विद्युतीय सवारी (इभी) दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तले आफ्ना माग सम्बोधनका लागि पहल गर्ने प्रशासनको आश्वासनपछि शव परीक्षण गर्न सहमति जनाए...

#परीक्षण
Compare →

Related Stories

Business & Economy
Build #2611