भूवन केसी निर्देशित फिल्ममा अनमोल केसी गाउँका शिक्षकको भूमिकामा छन्, जहाँ प्रेम, सामाजिक कथा र दुई पुस्ताको कथा प्रस्तुत गरिएको छ।
काठमाडौँ — भूवन केसी निर्देशित फिल्म 'बाटुलो जून 'को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको ट्रेलरमा अनमोल उनका अघिल्ला फिल्महरू भन्दा भिन्न अवतारमा देखिन्छन् ।
यो फिल्ममा उनी गाउँमा शिक्षकको भूमिकामा छन् । ट्रेलरमा प्रेम सम्बन्ध र सामाजिक कथालाई जोडिएको छ । फिल्ममा अनमोलको अपोजिटमा प्रिन्सी खतिवडा छिन् ।
ट्रेलरमा एकै कालखण्डको प्रेकथालाई दुई पुस्ताको माध्यमबाट देखाइएको छ । ४० वर्ष पहिलेको नेपाली समाजको परिस्थितिलाई चित्रण गरिएको फिल्ममा भुवन र गरिमा केसी देखिएका छन् ।फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् ।
फिल्ममा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेलसमेत अभिनयमा छन् ।
कृष्ण भण्डारी सम्पादक रहेको फिल्म लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन् । फिल्ममा पार्श्व संगीत रोमन बज्राचार्यको छ ।