नेपालमा यसअघि भारतीय पर्यटकको संख्या धेरै हुने गरेको थियो । भारतीयको दाँजोमा अमेरिकी पर्यटक धेरै आएको यो नै पहिलोपटक हो
काठमाडौँ — अक्टोबर महिनामा नेपाल भित्रने पर्यटकहरुको सुचीमा अमेरिका पहिलो नम्बरमा छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस महिना १७ हजार ४ सय ३७ जना पर्यटक नेपाल भित्रिएका छन् ।
नेपालमा पर्यटक पठाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा आएको य नै पहिलोपटक हो ।
अमेरिकी पर्यटकको यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ३१.२४ प्रतिशतले बढी हो । सेप्टेम्बरको तुलनामा यो संख्या दोब्बरभन्दा बढी हो, सेप्टेम्बरमा ८,२९९ अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
परम्परागत रुपमा भारत नेपालको सबैभन्दा ठूलो पर्यटन स्रोत बजार मानिन्छ । तर, यस पटक भारत दोस्रो स्थानमा खुम्चिएको छ । अक्टोबरमा १२,०९७ भारतीय पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको सोही महिनाको तुलनामा ३० प्रतिशतले कम हो । यो संख्या सेप्टेम्बरमा आएका १७,४२५ भारतीय पर्यटकको तुलनामा पनि निकै कम हो ।
चीन ११,६९५ पर्यटकका साथ तेस्रो स्थानमा रहेको छ, जुन गत वर्षको अक्टोबरको तुलनामा ७३ प्रतिशतको वृद्धि हो । सेप्टेम्बर महिनामा ११,२१२ चिनियाँ पर्यटक नेपाल आएका थिए।
भदौ १० मा भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश प्रवाह भएर आतिथ्य क्षेत्रमा ठूलो संख्यामा बुकिङ रद्द भएको थियो ।
सेप्टेम्बर महिनामा विपद्को तत्काल परेको प्रभावका कारण भ्रमण योजनाहरू अस्त-व्यस्त भई आगमनमा उच्च गिरावट आएको थियो, तर अक्टोबरमा सुधार देखिएको छ ।
नेपालले अक्टोबरमा कुल १,३२,८१४ विदेशी पर्यटकलाई स्वागत गरेको छ, जुन गत वर्षको सोही महिनाको तुलनामा ३.४ प्रतिशतको वृद्धि हो ।
अमेरिकी पर्यटकलाई लक्षित गरेर सेवा प्रदान गर्दै आएको नेपाल हाइकिङ टिमका प्रबन्ध निर्देशक गंगाबहादुर थापाका अनुसार विपद्पछि उनको कम्पनीमा एउटा पनि बुकिङ रद्द भएन ।
‘वास्तवमा, हामीकहाँ एउटा पनि बुकिङ रद्द भएन। केहीले मात्र आफ्नो यात्रा पछि सारेका हुन्,’ वार्षिक १ हजार २ सयभन्दा बढी अमेरिकी यात्रुहरूलाई सेवा दिँदै आएका थापाले भने ।
थापाका अनुसार अमेरिकी पर्यटकहरू केवल समाचारका हेडलाइन र ट्राभल एडभाइजरी (यात्रा सल्लाह) का भरमा मात्र निर्णय नगरी वस्तुस्थितिको यथार्थ आँकलन गरेर मात्र भ्रमणसम्बन्धी निर्णय लिने गर्छन् ।
‘भदौ १० गतेको विपद्ले लोकप्रिय लाङटाङ पदयात्रा क्षेत्रलाई प्रभावित बनाएको थियो, तर अन्य क्षेत्रहरू सुरक्षित थिए र उनीहरूलाई त्यो कुरा थाहा थियो,’ उनले भने ।
टुर अपरेटरहरूका अनुसार नेपालले पदयात्रा र पर्वतारोहणसहितका साहसिक गतिविधिमा रुचि राख्ने युवा अमेरिकी यात्रुहरूलाई पनि आकर्षित गर्दै आएको छ ।
अमेरिकी पर्यटकहरूमाझ लोकप्रिय अर्को टुर अपरेटर ‘धर्म एड्भेन्चर्स’का संस्थापक तथा सञ्चालक पवन तुलाधरका अनुसार लामो समयदेखि अमेरिकी पर्यटकको रोजाईमा नेपाल पर्दै आएको छ ।
तुलाधरका अनुसार नेपालमा अमेरिकी होटल चेनहरूको विस्तारले पनि यात्रुहरूलाई परिचित बसोबासको विकल्प र अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराएको छ । जसले, उनीहरूमाझ विश्वास जगाउन मद्दत पुर्याएको छ ।
संगम प्रसाई काठमाडौं पोस्टका संवाददाता हुन् । उनी उड्डयन, पर्यटन, कृषि, पूर्वाधार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।