Trending
Prev Story
Next Story

हिउँद छल्न गाउँ छाड्ने हतारो, टिंकर र छाङरुमा कुञ्चा सर्ने चटारो

Ekantipur •
November 05, 2026 • 08:32 AM
1
1 reads 0 reactions

दार्चुलाको व्यास–१ का करिब १२ सय बासिन्दा अन्नपात, पशुचौपाया र घरबारीको बन्दोबस्त गर्दै आगामी दुई साताभित्र बेसी झर्ने तयारीमा छन्।

हिउँद छल्न गाउँ छाड्ने हतारो, टिंकर र छाङरुमा कुञ्चा सर्ने चटारो

दार्चुलाको व्यास–१ का करिब १२ सय बासिन्दा अन्नपात, पशुचौपाया र घरबारीको बन्दोबस्त गर्दै आगामी दुई साताभित्र बेसी झर्ने तयारीमा छन्।

टिंकर (दार्चुला) — यतिखेर देशैभर तिहारको रमझम सुरु भएको छ। दाजुभाइ र दिदीबहिनीहरू सप्तरङ्गी टीका, सयपत्री र मखमलीका मालामा सजिएर झिलिमिली पर्वको खुसी साट्ने तयारीमा छन्। दसैंमा गाउँ फर्किन नपाएकाहरू समेत यतिखेर घर आउने तरखरमा देखिन्छन्। तर नेपालको नक्साको सुदूर उत्तर कुनामा पर्ने छाङरु गाउँकी अन्जनी बोहरालाई भने यही बेला गाउँ छाड्ने हतारो छ।

गाउँ छाड्नुअघि उनको परिवारलाई अन्नपात थन्काउनु छ। ‘खेतबारीदेखि घरगोठसम्मका सबै काम एकैचोटि भ्याउनुछ, राम्रोसँग पानी खाने फुर्सद पनि छैन,’ अन्जनीले भनिन्। उनको १३ जनाको परिवार अर्को साल वैशाखमा गाउँ फर्किंदा बाल्नका लागि चाहिने दाउरा जोहो गर्नेदेखि पशुचौपायाका लागि खर (घाँस) काट्ने, सुकाउने र ओछ्याउने पतेला (सुकेका स्याउला) संकलन गर्ने काममा व्यस्त छ।

हिउँदका ६ महिना टिंकर र छाङरुमा बाक्लो हिमपात र अत्यधिक चिसो हुन्छ। लामो समय हिउँ जम्ने भएकाले चिसोमा गाउँमा बस्न सम्भव हुँदैन। जाडो छल्न यी दुई गाउँका सबैजना अबको केही हप्तामै गाउँ छाड्दै छन्। उनीहरू दार्चुला सदरमुकाम खलंगालगायत बेसी/औलतिर अस्थायी बसाइँ सर्छन्। एकैचोटि अर्को सालको वैशाखमा मात्रै गाउँ फर्किने भएकाले यहाँका स्थानीयलाई राखनधरनको चटारो परेको छ। यो प्रक्रिया हरेक वर्ष दोहोरिने भए पनि घर छाडेर हिँड्ने हरेक परिवारलाई खाद्यान्न तथा लत्ताकपडाको तयारी र पशुचौपाया तथा खेतबारी व्यवस्थापनको ठूलो जिम्मेवारी आइलाग्छ। हिउँदभरि ताला लाग्ने घर, खाली हुने गाउँ र अर्को वर्ष फर्किंदा फेरि सुरु हुने जीवनचर्याको पूर्वतयारी गरेर मात्रै गाउँ छाड्नुपर्छ।

जाडोको सिजनमा गाउँ पूरै खाली हुने भएकाले सबै काम अहिले नै सकाउन स्थानीय रातदिन नभनी खटिरहेका छन्। खासगरी छिमेकी देश चीन र भारतसितको सीमामा पर्ने छाङरु र टिंकरका जुन घरमा गए पनि स्थानीय खाली हात बसेको देखिँदैन। कोही गत वैशाख–जेठमा लगाएर पाकेको फापर चुटिरहेका छन्। कोही नलसहित काटिएको नपल (तिब्बती जातको गहुँ) पुला (सानो बिटो) बनाएर थन्काइरहेका छन्। कोही हिउँदका छ महिना औलतिर बस्दा खानका लागि आलु, सिमी, पिठोलगायत अन्नपात छुट्याउँदै गरेको भेटिन्छन् भने कोही चोतो (गाँठे मुला) को सुकुटी बनाइरहेका देखिन्छन्।

सबैलाई गाउँ छाड्नुअघि खेतबारीको काम सक्नुछ। ‘धेरैजसोले अन्नबाली भित्राइसके, अब गोठको मल खेतमा ओसार्ने काम सुरु हुन्छ,’ टिंकरका भूपेन्द्र टिंकरीले भने, ‘त्यो काम सकिएपछि बारीमा धनियाँ र रायो पनि छरेर जाने हो, फर्किंदा ठिक्क उम्रिरहेको हुन्छ, वैशाखमा आउँदा खान हुन्छ।’

उनीहरू बारीमा लसुन, मटर, रायो र धनियाँ छरेर जान्छन्। फर्किंदा ती उम्रिएर खानलायक भएका हुन्छन्। अहिले खेतबारीमा लगेर थुपारेको मल गाउँ फर्किएपछि छरेर बाली लगाउने गरेको भूपेन्द्रले बताए।

टिंकरमा ७५ र छाङरुमा १२४ गरी करिब दुई सय परिवारका झन्डै १२ सय जनाको बसोबास छ। यी गाउँ दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्छन्। अबको दुई सातापछि (कात्तिक अन्तिम सातातिर) यी दुवै गाउँ आगामी ६ महिनाका लागि पूर्ण रूपमा मानवविहीन हुनेछन्। ‘हिउँदमा त यहाँ मान्छे त के चरोमुसो पनि बस्दैन, सबै उतै (औलतिर) हुन्छ,’ टिंकरीले भने।

यसरी ६ महिनाका लागि गाउँ नै खाली गरेर जाने मौसमी बसाइँसराइलाई स्थानीय भाषामा ‘कुञ्चा सर्ने’ भनिन्छ। सौका समुदायको बसोबास रहेको छाङरु र टिंकरमा यो चलन पुर्खौंदेखि चल्दै आएको छ। गाउँ छाड्नुअघि वर्षभरि खान पुग्ने अन्नपात जोहो गर्नुका साथै अर्को वर्ष गाउँ फर्किंदा खेतीपाती गर्न सहज हुने गरी खेतबारीको व्यवस्थापन गर्नुपर्ने हुन्छ। उनीहरू खेतीपातीको सिजनमा छ महिना आफ्नै गाउँमा बस्ने र जाडो छल्न बाँकी छ महिना बेसीमा झर्ने समयको तारतम्य मिलाउँछन्।

‘जाडोले गर्दा गाउँ छाडे पनि बर्खामा त यहीँ फर्किनुपर्छ। त्यही भएर अहिलेको मात्रै होइन, फर्किंदा खेरिको पनि बन्दोबस्त गरेर मात्रै जानुपर्छ,’ व्यास गाउँपालिका–१ का वडा सदस्य हितेश बुढाथोकीले भने, ‘अहिले नै सबै व्यवस्था गरेर गयो भने फर्किंदा सजिलो हुन्छ।’

उच्च हिमाली भेगमा पर्ने छाङरु र टिंकर गाउँमा वर्षको एक सिजन मात्रै खेतीपाती हुन्छ। यहाँका बासिन्दाको आम्दानीको स्रोत भनेको पशुपालन हो। मानिससँगै पशुचौपाया पनि कुञ्चा सर्छन्। यसकारण कुञ्चा सर्ने क्रममा घरायसी सामान, अन्नपात र खेतबारी मात्रै होइन, पशुचौपायाको पनि व्यवस्थापन हुन्छ। बारीको काम सकेपछि यहाँका स्थानीय ओढ्ने–ओछ्याउने र खानेकुरा पोको पारेर बस्तुभाउसहित गाउँ छाड्छन्। साता दिन पैदल हिँडेर भारतको बाटो हुँदै यी दुई गाउँका बासिन्दा बेसी पुग्छन्।

‘दुहुना गाईवस्तु हामी जहाँ गयो उतै लैजान्छौँ,’ छाङरु गाउँकी द्रोपती ऐतवालले भनिन्, ‘अरू वस्तुहरू बाटोमा राम्रो चरन हुने ठाउँमा ग्वालो (गोठालो) राखेर छोड्छौँ। फर्किंदा सँगै ल्याएर आउँछौँ।’ उनले पशुवस्तुको संख्या हेरेर सामूहिक रूपमा पारिश्रमिक दिने गरी ग्वालो राख्ने गरिएको सुनाइन्।

कुञ्चा सर्दा केटाकेटी, सुत्केरी, गर्भवती, वृद्धवृद्धा, महिला, अपांगता भएका व्यक्ति र पशुचौपायासहितको यात्रा त्यति सहज भने हुँदैन। ‘गाह्रो भएर पनि के गर्नु? जिजुबाजेका पालादेखिको चलन हो, गाउँ नछाडे त हिउँ र चिसोले बस्नै सकिँदैन,’ उनले भनिन्।

कुञ्चा सर्नुअघि हरेक घरमा इष्टदेवताको पूजाआजा गर्ने चलन छ। गाउँभरिका सबैलाई बोलाएर प्रत्येक घरले भोजभतेर आयोजना गर्छन्। अन्तिममा सबैको सामूहिक पूजा गरेर सबैले एकै दिन गाउँ छाड्छन्। ‘हिउँदका लागि घर छाड्नुअघि आफ्नो परिवार र समुदायको सुख, सुरक्षा तथा कल्याणको कामना गर्दै पूजा गरिन्छ, त्यसपछि मात्रै गाउँ छाड्ने तयारी विधिवत् रूपमा पूरा भएको मानिन्छ,’ टिंकरका ८० वर्षीय देवलाल बुढाथोकीले भने।

अन्नपात थन्काउने, खेतीपातीको काम सकाउने, पशुचौपायाको व्यवस्था मिलाउने र पूजाआजा गर्ने क्रमसँगै कुञ्चा सर्ने दिन नजिकिन्छ। उनीहरू खाद्यान्न र ओढ्ने–ओछ्याउनेका पोकापुन्तुरासहित लावालस्करै गाउँबाट बाटो लाग्छन्।

छाङरु र टिंकरवासी सदरमुकाम र बेसी झरेपछि सीमावर्ती यी गाउँमा मान्छेको चहलपहल शून्य हुन्छ। हरेक घरमा ढोका लागेसँगै दैनिक गतिविधि रोकिन्छन्। सुनसान गाउँले फेरि मानिसको चहलपहल पाउन वसन्त ऋतु कुर्नुपर्छ। वैशाखतिर फर्किएपछि फेरि घरका ढोका खुल्छन्। खल्याङबल्याङ सुरु हुन्छ। गाउँ छाड्ने बेला बारीमा लगाएका लसुन, रायो, धनियाँ र मटरका बीउ उम्रिएका हुन्छन्। तिनको रेखदेख सुरु हुन्छ। खेतीपाती, पशुपालन र गाउँको दैनिकी फेरि पुरानै लयमा फर्किन्छ। हिउँद लागेपछि फेरि गाउँ छाड्ने बेला सुरु हुन्छ। यो चक्र छाङरु र टिंकरमा सदियौँदेखि चलिरहेको छ।

छाङरु र टिंकरका स्थानीयलाई हिउँदका लागि बेसी झर्ने कुञ्चा सर्ने बेला नजिकिएसँगै बाटोको चिन्ता थपिएको छ। आफ्नै देशको बाटो भएर आवतजावत गर्न सहज छैन। टिंकरदेखि छाङरु जोड्ने बाटो ठाउँठाउँमा पहिरोले अवरुद्ध छ भने छाङरुदेखि दुम्लिङसम्मको घोरेटो बाटोसमेत जीर्ण छ।

बुदी खोला, मौस्याभिर, घाटीबगर, दोपखे, तम्बाकु र कल्जुलगायत क्षेत्रमा बाटो भत्किएकाले मानिस र पशुचौपायाको आवतजावत कठिन रहेको स्थानीय बताउँछन्। ‘गाउँका सबै कुञ्चा सर्ने तयारीमा छन्। तर आफ्नै देश भएर आवतजावत गर्ने बाटो छैन,’ स्थानीय दानसिंह टिंकरीले भने, ‘बाटो राम्रो नहुँदा हामीले हरेक वर्ष सास्ती खेप्नुपरेको छ।’ उनले टिंकरदेखि छाङरुसम्मको बाटो केही ठाउँमा स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा कामचलाउ रूपमा मर्मत गरे पनि पूर्ण रूपमा नबनेको बताए।

घोरेटो बाटो मर्मत तथा पुनर्निर्माणका लागि तीनै तहका सरकारले बजेट खर्च गरे पनि समस्या समाधान हुन सकेको छैन। चार वर्षअघि मात्रै नेपाली सेनामार्फत एक करोड आठ लाख, सुदूरपश्चिम प्रदेश सरकारको ३० लाख र व्यास गाउँपालिकाको १६ लाख गरी करिब एक करोड ५४ लाख रुपैयाँ खर्च भएको थियो। तर बाटो हिँड्नलायक नबन्दा स्थानीयले अझै भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।

विगतमा कुञ्चा सर्ने बेला बाटो र सीमा नाकाको समस्याले स्थानीय खलंगामै रोकिएका थिए। त्यसबेला उनीहरूले पशुचौपायासहित जिल्ला प्रशासन कार्यालयअगाडि धर्नासमेत दिएका थिए। व्यासी समुदायका लागि सुरक्षित र भरपर्दो घोरेटो बाटो नहुँदा वर्षमा दुई पटक हुने मौसमी बसाइँसराइ चुनौतीपूर्ण बन्दै आएको छ।

बाटोको दूरी लामो भएका कारण पालिकाकै बजेट खर्च गरेर दीर्घकालीन रूपमा चल्ने गरी बनाउन समस्या भएको व्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशीले बताए। ‘अस्थायी समाधानका लागि के गर्न सकिन्छ भनेर कार्यपालिकामा छलफल गर्छौँ,’ उनले भने, ‘दीर्घकालीन रूपमा सधैँ हिँड्न मिल्ने बाटो बनाउन पालिकाकै स्रोतले सम्भव नहुने भएकाले संघ र प्रदेश सरकारलाई गुहारिरहेका छौँ।’

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
11h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →
Hamro Patro News
11h ago
एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी ९इभी० दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको...

#गाउँ
Compare →
Nagarik News
14h ago
भीमफेदी दुर्घटना : छठको चुल्होमा आगो बलेन, गाउँमा शवको प्रतीक्षा

भीमफेदी दुर्घटना : छठको चुल्होमा आगो बलेन, गाउँमा शवको प्रतीक्षा

छठको अर्घ्य दिन घर फर्किने प्रतीक्षामा थिइन् निर्मला, तर बुहारी, तीन नातिनी र दुई छोराको शव पर्खिनुपर्ने नियतिले उनको आँगनलाई शोकमा बदलिदियो।

#गाउँ
Compare →
Onlinekhabar
2d ago
विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

२५ कात्तिक, विराटनगर । केही वर्ष उनले परदेशको तातो घाममा पसिना बगाए । फर्किएपछि स्थानीय बजारमा यातायात व्यवसाय पनि गरे । आम्दानी नभएको होइन, तर मोरङ केराबारी गाउँपालिका–९ घङ्गरुका गणेशबहादुर थापाको मन भने कतै अडिएन । …

#गाउँ
Compare →

Related Stories

Business & Economy
Build #2611