चाडपर्वका लागि आवश्यक पूजासामग्री, ढाकाटोपी, कपडा, फलफूल, भाइमसला तथा उपहारका सामग्री खरिद गर्न उपभोक्ता हाटबजार पुग्न थालेका छन् ।
धनकुटा — तिहार नजिकिएसँगै धनकुटाका ग्रामीण तथा सहरी क्षेत्रमा लाग्ने हाटबजारमा चहलपहल बढेको छ । चाडपर्वका लागि आवश्यक पूजासामग्री, ढाकाटोपी, कपडा, फलफूल, भाइमसला तथा उपहारका सामग्री खरिद गर्न उपभोक्ता हाटबजार पुग्न थालेका छन् ।
तिहारलाई लक्षित गरेर लाग्ने हाटबजारमा ढाकाटोपी, कपडा, सगुन, फलफूल, ओखर, कटुस, बदाम, काजु, किसमिस, रङ, भगवान्का तस्बिर, बिमिरो, बत्ती, माटाका पाला तथा घर सजावटका सामग्रीको कारोबार बढेको छ ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा आवश्यक पर्ने सामग्रीदेखि घरको पूजा र सजावटका सामानसम्म एउटै बजारमा पाइने भएकाले उपभोक्ताको आकर्षण बढेको धनकुटा सदरमुकामको बिहीबारे हाटमा पसल राख्दै आएका खुद्रा व्यापारी जीवछ साह बताउँछन् । विशेषगरी भाइटीकाका लागि आवश्यक फलफूल तथा भाइमसलाको माग बढी हुने गरेको उनले बताए । घर सजावटका लागि प्रयोग गरिने रङ, बत्ती र माटाका पाला तथा पूजासामग्रीको समेत व्यापार बढेको उनको भनाइ छ ।
स्थानीय उत्पादनदेखि बाहिरी जिल्लाबाट ल्याइएका सामानसम्म एउटै बजारमा उपलब्ध हुने भएकाले उपभोक्तालाई किनमेल गर्न सहज भएको छ । तिहारका लागि आवश्यक सामग्री खरिद गर्न टाढाटाढाबाट समेत उपभोक्ता हाटबजार आउने गरेका छन् । धनकुटाको छथर जोरपाटीबाट तिहारका लागि ढाकाटोपी, कपडा, भाइमसला र पूजासामग्री खरिद गर्न बिहीबारे हाट आएकी मुना कार्कीले गाउँमा उत्पादन भएका फलफूल तथा तरकारी बिक्री गरेर चाडपर्वका सामग्री किन्न आएको बताइन् । तर, बजारमा महँगी बढेकाले खर्च धान्न मुस्किल परेको उनको गुनासो छ । ‘गएको तिहारको तुलनामा केही सामानको मूल्य दोब्बरसम्म बढेको छ,’ उनले भनिन् ।
हाटबजारको चहलपहलसँगै घुम्ती, थोक तथा खुद्रा व्यापारी पनि व्यापारका लागि ग्रामीण बस्तीसम्म पुग्ने गरेका छन् । सडक पहुँच विस्तार भएपछि व्यापारीले गाउँगाउँमा लाग्ने हाटबजारलाई व्यापारको अवसरका रूपमा उपयोग गर्न थालेका छन् । एकै ठाउँमा धेरै उपभोक्ता भेला हुने भएकाले सामान बिक्री गर्न सहज हुने व्यापारी बताउँछन् । तर, व्यापारीको संख्या र बजारको विस्तारसँगै प्रतिस्पर्धा पनि बढेको छ । धनकुटा बजारमा खुद्रा किराना पसल सञ्चालन गर्दै आएका शिवपुजन साहले व्यापारी र पसल धेरै भएकाले अपेक्षाअनुसार व्यापार हुन नसकेको बताए । ‘व्यापारी धेरै छन्, हाटबजार पनि धेरै ठाउँमा लाग्छन् । त्यसैले व्यापार औसत मात्रै छ,’ उनले भने ।
धनकुटा सदरमुकाम, हिले, सिधुवा, काजीमान, आँखिसल्ला, फलामेटार, लावरबोटे, डाँडाबजार, मौनाबुधुक र बुधबारेसहित जिल्लाका २५ भन्दा बढी स्थानमा हाटबजार लाग्दै आएका छन् । यस्ता बजारले ग्रामीण क्षेत्रका उपभोक्तालाई दैनिक उपभोग्य तथा चाडपर्वका सामग्री खरिद गर्न सहज बनाउनुका साथै स्थानीय उत्पादन बिक्री गर्ने अवसरसमेत दिँदै आएका छन् । विशेषगरी दसैं, तिहार र छठजस्ता ठूला चाडपर्वका बेला हाटबजारमा हुने कारोबारले स्थानीय व्यापार व्यवसायलाई थप गति दिने गरेको छ । गाउँमा उत्पादित कृषि उपज बिक्रीबाट प्राप्त रकम पुनः स्थानीय बजारमै खर्च हुने भएकाले हाटबजारले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याउँदै आएका छन् ।
विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।