Trending
Prev Story
Next Story

एनपीएल प्लेअफ समीकरणको आधार तयार हुँदै

Ekantipur •
November 05, 2026 • 03:02 AM
1
1 reads 0 reactions

प्लेअफ समीकरणका लागि आधार तयार हुने हुनाले नेपाल प्रिमियर लिग (एनपीएल) मा अबका खेलहरू अझ बढी रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछन्

एनपीएल प्लेअफ समीकरणको आधार तयार हुँदै

प्लेअफ समीकरणका लागि आधार तयार हुने हुनाले नेपाल प्रिमियर लिग (एनपीएल) मा अबका खेलहरू अझ बढी रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछन्

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले दोस्रो विश्राम लिएयता बिहीबारदेखि फेरि खेल सुरु हुनेछ । प्लेअफ समीकरणका लागि आधार तयार हुने हुनाले अबका खेलहरू अझ बढी रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछन् । अबका चार खेलले ठ्याक्कै प्लेअफ पुग्ने कुनै टिमको स्पष्ट निर्णय नगरे पनि एउटा सम्भावना भने छ, प्लेअफ नपुग्ने एउटा टिमको किटान हुन सक्नेछ ।

यस्तोमा तेस्रो सिजनको एनपीएल सनसनीको उत्कर्षतर्फ अग्रसर छ । बिहीबार डबल हेडरमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजले विराटनगर किंग्सको सामना गर्नेछन् । शुक्रबारका दुई खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्ने छन् । तेस्रो विश्राममा जानु अगाडि शनिबार काठमान्डु र लुम्बिनीले एकअर्काविरुद्ध खेल्नेछन् । राउन्ड रोबिन लिगको १३ खेल समाप्तिमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी ५ अंकसहित शीर्षस्थानमा छ । त्यसपछि चार टिम ४ अंकमा छन् । यी टोलीहरू नेट रनरेटले मात्र छुट्टिएका छन् । दोस्रोदेखि पाँचौं स्थानसम्म रहनेमा विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिम छन् । त्यसपछि चितवनको ३ र काठमान्डुको २ अंक छ । तीन खेल खेलेको पोखरा अंकविहीन भएर पुछारमा छ ।

लुम्बिनी–जनकपुर यो एक खास अर्थमा ‘ब्लकबस्टर्स’ खेल रहनेछ, किनभने यो पछिल्ला दुई सिजनका विजेताबीचको खेल हुनेछ । लुम्बिनी त वर्तमान च्याम्पियन नै भयो, जनकपुरले पहिलो सिजन उपाधि जितेको थियो । अहिले कुनै एक खास टिम लयमा छ भने त्यो लुम्बिनी नै हो । रोहित पौडेलको नेतृत्वमा पछिल्ला ९ खेलमा हार सामना गर्नुपरेको छैन । यसमा पोहोर सिजनका तीन प्लेअफ खेल पनि पर्दछ ।

चितवनविरुद्धको एउटा खेल वर्षाका कारण रद्द हुनुबाहेक टिमका लागि अरू सबथोक राम्रो चलिरहेको छ । कप्तान रोहित भन्छन्, ‘यो नहार्ने क्रम चलिरहोस् ।’ लुम्बिनी अबको खेल जितेमा प्लेअफको असाध्यै नजिक पुग्नेछ, किनभने पछिल्ला दुवै सिजन ८ अंक लिग चरण काट्न चाहिने कम्तीको मापदण्ड बनेको छ ।

जनकपुरको प्रदर्शन अहिले ठीकठाक चलिरहेको छ । पहिलो खेल गुमाएर त्यसयता दुई जित निकालेको जनकपुरले विरानगरविरुद्धको खेल २ रनको झिनो अन्तरले मात्र गुमाएको थियो । कप्तान हरमित सिंहले पनि मानेका छन्, त्यस खेलको अन्तिम बलमा जित निकालेको भए, प्लेअफ समीकरण असाध्यै सजिलो हुन्थ्यो । यी दुई टिम एक आपसमा दुईपल्ट मात्र भिडेका छन् । यसमा एक जित जनकपुरको छ भने अर्को जित लुम्बिनीको ।

काठमान्डु–विराटनगर दुवै टिम आ–आफ्नो पछिल्लो खेलमा प्राप्त सनसनीपूर्ण जितले खुसी छन् । विराटनगरले त्यही जनकपुरविरुद्धको खेल अन्तिम बलमा जितेको थियो । एन्ड्रे रसेलले बल र ब्याट दुवैबाट राम्रो गरिरहेका छन् । उनी नै अबको खेलमा निर्णायक हुन सक्नेछन् । विराटनगरसँग जोडिएयता उनी लगातार दुई खेलमा ‘प्लेयर अफ द म्याच’ भइसकेका छन् । उनले के दाबी गरेका छन् भने आफ्नो नेपाल बसाइ केही लामो हुन सक्नेछ ।

त्यसको अर्थ, विराटनगरले लिग चरण काट्छ भन्ने नै हो । सुरुआती २ खेलमा जितको संघारमा रहेर पनि विराटनगर दुवैमा पराजित रह्यो । कप्तान सन्दीप लामिछाने रसेलको प्रशंसा गर्दा खुसी देखिएका छन् । सुदूरपश्चिमविरुद्ध प्राप्त भाग्यमानी जितले विराटनगर फेरि प्लेअफ समीकरणमा फर्केको हो । काठमान्डुका लागि जनकपुरविरुद्धको खेल त बिर्सनलायक नै रह्यो । त्यसमा खेलाडीहरू जित्नकै लागि खेलिएको पनि देखिएन । तर कर्णालीविरुद्ध भने काठमान्डुको जित अहिलेसम्मकै उत्कृष्टमध्ये एक रह्यो । काठमान्डुको त्यो ४ विकेटको जित १ सय ८१ रनको लक्ष्य पछ्याएर प्राप्त भएको हो । काठमान्डुका कप्तान करण केसी आफ्नो टिममाथि पूरा विश्वास रहेको बताउँछन्् । यी दुई टिम अहिलेसम्म दुईपल्ट भिडेकामा नतिजा दुवैको पक्षमा १–१ रहेको छ ।

विराटनगरविरुद्धको खेल सुदूरपश्चिमले जसरी गुमाएको छ, त्यसमा टिमलाई धेरै गुनासो रहेको देखिएको छ । प्रशिक्षक मिसबाह उल–हकले असन्तोष व्यक्त गरेका छन् । तर तिनै मिसबाह चितवनविरुद्धको खेलपछि भने केही खुसी देखिए । खेलको अन्त्यतिर उनको अनुहारमा हाँसो देखिएको थियो । तर आफ्नो पछिल्ला दुवै खेलपछि सुदूरपश्चिमले पोस्टम्याच समारोहमा सहभागिता जनाएको छैन । सायद सुदूरपश्चिमको चित्त दुखाइ होला । तर टोलीका लागि अब पुरानो कुरा बिर्सेर अगाडि बढ्नु नै ठीक हुनेछ । दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम त्यस्तो टिम हो, जसलाई लिग चरणमा कसरी जित निकाल्नुपर्छ, त्यो थाहा छ । सुरुआती दुई सिजनमा लिग चरणमा एक–एक खेलमा गुमाएको सुदूरपश्चिमले यसपल्ट दुई हार बेहोरिसकेको छ । टोलीका लागि अब तेस्रो हार सह्य हुने छैन ।

सुदूरपश्चिमको प्रतिद्वन्द्वी कर्णालीको प्रदर्शन पनि राम्रै चलिरहेको छ । भलै, टोली काठमान्डुसँग स्तब्धपूर्ण नतिजा बेहोर्न बाध्य रह्यो । नत्र सुरुआती दुई खेल कर्णालीले जसरी जितेको छ, त्यसको प्रशंसा नै गर्नुपर्छ । अब त दक्षिण अफ्रिकी ब्याटर डेविड मिलर नेपाल आइसकेका छन् । उनको आगमनले कर्णाली उत्साहित रहनेछ । तर कर्णालीको पक्षमा एउटा तथ्य भने राम्रो छैन । यी दुई टिमबीचको अघिल्ला संस्करणमा सुदूरपश्चिम नै विजयी छ ।

चितवन–पोखरा पोखरा नै एक्लो त्यस्तो एकमात्र टिम रहेको छ, जसले अहिलेसम्म प्लेअफ खेलेको छैन । टोलीलाई डर छ, तेस्रो सिजन पनि नखेल्ने त होइन । कारण स्पष्ट छ, पोखरा आफ्ना सुरुआती तीनै खेलमा पराजित छ । अझ लुम्बिनीविरुद्धको तेस्रो खेलमा पोखरा जसरी पराजित रह्यो, त्यो स्वीकार्न योग्यसमेत छैन । कप्तान कुशल भुर्तेल मान्छन्, किन टिम लगातार हार्छ भन्नै सकिएको छैन । उनी मान्छन्, अबको खेलमा जित्न सकिएन भने प्लेअफको सम्भावना टुंगिन्छ नै । त्यसैले पोखरा आफ्नो छोटो इतिहासमा आफूलाई प्रमाणित गर्नुपर्ने सबैभन्दा ठूलो र महत्त्वको खेल खेल्दै छ । तर पोखरा आफूले खेलेका सबै १७ खेलमध्ये पाँचपल्ट मात्र विजयी छ । यसले देखाउँछ, पोखरालाई जित्न जहिल्यै गाह्रो हुन्छ । संयोगले पोखराको पछिल्लो जित भनेकै चितवनविरुद्ध नै छ ।

दुई टिमबीचको पहिलो खेल भने चितवनले जितेको थियो । यसपल्ट चितवनको प्रदर्शन मिश्रित छ । टोलीले एक खेल जितेको छ, एक खेल गुमाएको छ अनि वर्षाका कारण एक खेल विना नतिजा टुंग्याएको छ । चितवनले आफूले सक्दो खेलेको छैन अथवा भनौं खेल्न पाएको छैन । चितवनलाई पनि जित अत्यावश्यक छ, टोलीका लागि २ अंक हात पार्न सकिने प्रतिद्वन्द्वी पोखरा हुन सक्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
एनपीएल : सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शीर्ष स्थानमा उक्लियो

एनपीएल : सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शीर्ष स्थानमा उक्लियो

काठमाडौं । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा सुरक्षित भएको छ । शुक्रबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा सुर...

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Arthasansar
6h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Onlinekhabar
6h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Nagarik News
7h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #प्लेअफ
Compare →

Related Stories

Sports
Build #2611