भोटेकोशी र कालीगण्डकीको बाढीले निर्माण सामग्री ढुवानी प्रभावित हुँदा सिद्धबाबा सुरुङमा सवारी सञ्चालनको समय धकेलिएको छ।
बुटवल — भोटेकोशी र कालीगण्डकीमा आएको बाढीका कारण निर्माण सामग्री र उपकरण ढुवानीमा ढिलाइ हुँदा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गमा सवारी साधन सञ्चालनको समय धकेलिएको छ। दसैंअघि नै सुरुङबाट सवारी सञ्चालन गर्ने तयारी भए पनि आवश्यक विद्युतीय उपकरण र सुरक्षा प्रणाली जडान हुन नसक्दा अब पुससम्ममा सञ्चालन गर्ने आयोजनाको तयारी छ ।
चिनियाँ निर्माण कम्पनीले सुरुङ निर्माणका अधिकांश सामग्री चीनबाट ल्याउने गरेको छ । पछिल्लो समय सुरुङ सञ्चालनका लागि आवश्यक विद्युतीय उपकरण, सुरक्षा सामग्री र अन्य उपकरण रसुवा नाकाबाट ल्याउने तयारी थियो । तर, भोटेकोशीमा आएको बाढीले बाटो अवरुद्ध भएपछि ती सामग्री कोराला नाकातर्फ फर्काइएको थियो । कोराला नाका हुँदै ल्याउने क्रममा कालीगण्डकीमा आएको बाढीले करिडोरका पक्की पुलसमेत बगाएपछि सामग्री ढुवानी फेरि प्रभावित भएको हो ।
सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालय, बुटवलकी सूचना अधिकारी एवं इन्जिनियर सौम्या आनन्दका अनुसार भदौ १० गतेअघिसम्म आवश्यक निर्माण सामग्री रसुवा नाकाबाटै आउने गरेको थियो । पछिल्लो समय विद्युतीय र सुरक्षासम्बन्धी सामग्री तथा केही उपकरण पनि यही नाका हुँदै ल्याउने तयारी थियो । तर, भोटेकोशीमा बाढी आएपछि सामान बाटोमै रोकियो ।
‘रसुवा नाकाबाट आउन लागेको सामान फिर्ता भएर अहिले कोराला नाकाबाट यता आउने क्रममा छ । अबको केही दिनमा सामान आइपुग्ने निर्माण कम्पनीले जनाएको छ,’ उनले भनिन्, ‘सामान निर्माण स्थलमा आइपुगेको डेढदेखि दुई महिनामा जडान गरेर टनेल सञ्चालनमा ल्याउने तयारी छ ।’ सामान र उपकरण ल्याउन निर्माण कम्पनीका प्रतिनिधि अहिले कोरोला पुगेका छन् । असोजमै सुरुङमा सवारी साधन सञ्चालन गर्ने तयारी भए पनि बाढीका कारण ढिलाइ भएको आनन्दले बताइन् ।
आयोजना कार्यालयका अनुसार सुरुङको भौतिक प्रगति ७० दशमलव २६ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत छ । सुरुङभित्रका अधिकांश संरचनागत काम सकिएका छन् । कन्ट्रोल रुमसँगको कनेक्सन गराउने काम पनि पूरा भएको कार्यालयले जनाएको छ । तर, सुरुङ सञ्चालनका लागि आवश्यक लाइटिङ, भेन्टिलेसन, साउन्ड कन्ट्रोल सिस्टम र इमर्जेन्सी टेलिफोन जडानको काम बाँकी छ । सुरक्षासँग सम्बन्धित केही काम र सडकदेखि चार फिटसम्मको भित्तामा रंगरोगन गर्न पनि बाँकी छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७८ फागुनमा सिद्धबाबा सुरुङ मार्ग निर्माणको ठेक्का सम्झौता गरेको थियो । कम्पनीले २०७९ को अन्त्यतिरबाट निर्माण सुरु गरेको हो । सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का लिएको कम्पनीले हालसम्म ६३ दशमलव ५५ प्रतिशत भुक्तानी लगेको छ । निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद २०८३ चैत मसान्त हो ।
२०८१ माघ ११ गते सुरुङको ब्रेकथ्रु गरेको कम्पनीले अन्य निर्माणका काम पनि तोकिएको समयभन्दा चार महिना अगावै सक्ने गरी काम गरिरहेको छ । अहिलेसम्म सुरुङभित्र भित्ता र सडकको ढलान तथा लाइनिङलगायतका काम सकिएका छन् । सुरुङ प्रवेश गर्ने दुवैतर्फका प्राविधिक भवन निर्माण गरी फिनिसिङ, विद्युतीय उपकरण जडान र नेटवर्किङको काम भइरहेको छ । सुरुङमा बत्ती, पंखा तथा भेन्टिलेसन जडान गर्ने इलेक्ट्रो–मेकानिकल काम अन्तिम चरणमा छ ।
आपतकालीन निकासका लागि १ सय ५१ मिटर, १ सय ६१ मिटर र १ सय ३० मिटर लम्बाइका तीनवटा बाइपास सुरुङ निर्माण गरिएको छ । मुख्य सुरुङसहित तीनवटा बाइपास सुरुङ, १४ वटा कल्भर्ट र टनेलभित्रको पेभमेन्टको काम सकिएको इन्जिनियर आनन्दले बताइन् । ‘सम्झौताअनुसार बाहिरी सडक ढलानको काम पनि सुरु गर्ने प्रयासमा छौं,’ उनले भनिन् । आयोजनाअन्तर्गत सुरुङ मार्गदेखि दक्षिण चिडियाखोलासम्म ९ सय मिटर र उत्तरतर्फ ड्यामसाइडदेखि नागनाथसम्म साढे ५ सय मिटर सडक ढलान गर्नुपर्नेछ । दुवैतर्फको बाहिरी सडक ढलान गर्ने काम सुरु भए पनि सवारी साधनको आवागमनमा समस्या भएपछि रोकिएको आनन्दले बताइन् ।
अहिले सवारी साधन सञ्चालन भइरहेको सुरुङबाहिरको सडक ढलान र त्यसलाई सुरक्षित बनाउने काम भने सुरुङभित्र सवारी सञ्चालन भएपछि मात्र सुरु गरिने आयोजनाले जनाएको छ । सडकको बाहिरी भागमा निरन्तर खस्ने पहिरोबाट जोगाउन रक फल ब्यारियर, रक सेड र स्लोप प्रोटेक्सनका काम बाँकी छन् ।
सुरुङबाहिरको सडकलाई समेत सुरक्षित बनाउने उद्देश्यले निर्माण गर्न लागिएका यी संरचना नेपालमै पहिलोपटक यहाँ प्रयोग हुन लागेको आयोजनाको दाबी छ । यी काम सम्पन्न भएपछि सुरुङबाहिरको झन्डै ९ सय मिटर सडकसमेत मिनी सुरुङजस्तै सुरक्षित बन्ने आयोजनाले जनाएको छ ।
१ हजार १ सय २६ मिटर लामो सुरुङ निर्माणको काम हालसम्म झन्डै ७१ प्रतिशत सकिएको र सवारी सञ्चालनमा आउँदासम्म ८५ प्रतिशत काम पूरा हुने आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर नवराज बाँस्तोलाले बताए । ‘आयोजना निर्माणको सम्झौता अवधिभन्दा अगावै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ उनले भने, ‘अबको बढीमा दुई महिनामा सुरुङमा सवारी साधन चलाउने छौं ।’
सुरुङ निर्माणका लागि तोकिएको म्याद सकिन अझै पाँच महिना बाँकी रहेको उनले बताए । कम्पनीले सुरुङ मार्गसँगै पाल्पातर्फका जोखिमयुक्त सडकको समेत स्तरोन्नति र सुरक्षा गर्ने सम्झौता गरेको छ । जोखिमयुक्त सडकको ७ सय ८० मिटर क्षेत्रमा डबल लेन ढलान, बाइपास सडक निर्माण तथा सडकको माथिल्लो भागमा रक नेट, रक सेड र स्लोप प्रोटेक्सनलगायत प्रविधि प्रयोग गरी साढे ३ किलोमिटर सडक सुरक्षित बनाउने सम्झौता रहेको आयोजनाले जनाएको छ । सिद्धबाबा सुरुङ मार्ग सञ्चालनमा आएपछि बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, म्याग्दीलगायत मुक्तिनाथसम्म जाने सवारी साधनलाई सहज हुनेछ । यस मार्ग हुँदै दैनिक करिब ३ हजार सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन् । क्याप्सन : सिद्धबाबा सुरुङ मार्गको बुटवलतर्फको प्रवेशद्वारमा तयार भएका संरचना । तस्बिर : घनश्याम गौतम/कान्तिपुर
घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।