पहिरो खस्ने क्रम नरोकिँदा स्थानीय प्रभावित छन् भने साकिमा डाँडादेखि सेराङसम्म करिब तीन सय मिटर क्षेत्र प्रभावित बनेको छ।
गोरखा — चुमनुब्री गाउँपालिका–५ विहि स्थित बुम्राङमा मंगलबारदेखि निरन्तर सुक्खा पहिरो खसेको छ । विहिबाट सेराङ गुम्बा जाने बाटोमा पर्ने बुम्राङमा सुक्खा पहिरो खसेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए।
‘बुम्राङमाथिको पाखाबाट हिजो (मंगलबार) ११ बजेबाट पहिरो खस्न सुरु भएको हो । हिजो १२ बजेसम्म नै पहिरो खस्यो,’ उनले भने, ‘अब त पहिरो रोकियो होला भनेको फेरि राति पहिरो खसेको छ ।’ पाखामा सेतो ढुंगा रहेकाले पहिरो खस्दा सेतो माटो उडेको उनले बताए ।
‘बस्तीभन्दा पहिरो गएको ठाउँ टाढै हो, अरू क्षति त छैन,’ उनले भने, ‘पहिरो भने रोकिएको छैन, आइरहेको छ । के भएर पहिरो खस्यो भनेर हेर्न जान पनि सकेका छैनौँ ।’
साकिमा डाँडाबाट सेराङसम्म झन्डै तीन सय मिटर पहिरो रहेको पनि उनले बताए । सेराङ गुम्बा जाने बुम्राङमा पहिरो खसेपछि आउजाउ ठप्प बनेको छ । विहि गाउँबाट ५ घण्टाको पैदल दूरीमा पुगिने सेराङ गुम्बामा विद्यार्थीहरू आवासीय रूपमा अध्ययन गर्ने गर्छन् ।
सुक्खा पहिरोपछि विहिबाट सेराङतर्फ जान नसकिएको स्थानीयले बताए ।
हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।