हवाई उडानका हिसाबले काठमाडौं बंगलादेशका लागि छोटो दूरी हो, तर यसअघि नेपाली क्रिकेटमा बंगलादेशी क्रिकेटर कमै देखिएका थिए, अहिले भने एनपीएलमा झुम्मिएका छन्।
काठमाडौँ — मिडिया सेन्टरलाई फिनिसिङ दिने कार्य चलिरहेको थियो। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटनको अघिल्लो दिन बंगलादेशका पत्रकारहरू सो क्रममा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर पुगेका थिए।
तीन जना बंगलादेशी पत्रकारहरू आफ्नो सामान खुला रहेको त्यही मिडिया सेन्टरमा छाडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ दौडिएका थिए। बंगलादेश क्रिकेटका सबैभन्दा ठूला नाम शकिब अल हसन अमेरिकाबाट काठमाडौं आइरहेको मौका ती बंगलादेशी पत्रकारहरू गुमाउन चाहँदैनथे।
एनपीएलका पहिलो दुई संस्करणमा बंगलादेशी क्रिकेट खेलाडीको संख्या शून्य थियो। एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएको मौका पनि परेकोले होला, तेस्रो सिजनमा भने १० जना बंगलादेशी खेलाडीहरू खेल्दैछन्, त्यसमा एक हुन् शकिब।
एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा बंगलादेशका लागि सर्वाधिक रन बनाउने र विकेट लिने सूचीमा दोस्रो स्थानमा रहेका शकिबदेखि आरिफुल इस्लाम र जिसन आलमजस्ता युवाहरूसम्म, एनपीएल सिजन ३ ले बंगलादेशी प्रतिभाहरूको उपस्थितिमार्फत प्रतियोगिताको स्तर उकास्दै गरेको देखाएको छ।
एनपीएलका ५ फ्रेन्चाइज टोलीमा यी १० बंगलादेशी खेलाडी बाँडिएका छन्। कर्णाली याक्स र पोखरा एभेन्जर्समा सबैभन्दा बढी ३–३ जना बंगलादेशी खेलाडीहरू छन्। शकिबबाहेक पोखरामा महेदी हसन र मोहम्मद सैफुद्दिन छन्। कर्णालीले इस्लाम र आलमबाट इनिङ्सको सुरुआत गराउँदैछ भने अकबर अलीले २ खेल खेलिसकेका छन्। काठमान्डु गोर्खाजमा रिपन मोन्डोल, जनकपुर बोल्ट्समा सैफ हसन र परवेज हुसेन इमोन तथा लुम्बिनी लायन्समा शामिम हुसेन रहेका छन्। एनपीएलमा मौका पाउने बाँकीमा परवेज मात्र छन्।
एनपीएलको तेस्रो सिजनमा ठूलो चर्चा कमाइरहेका खेलाडीमध्ये आरिफुल एक हुन्। कर्णालीबाट उनले ३ खेलमा १ सय ११ रन बनाइसकेका छन्। आरिफुलले काठमान्डुविरुद्ध २२ बलमा ४४, विराटनगर किङ्सविरुद्ध १२ बलमा ३२ र जनकपुरविरुद्ध २९ बलमा ४३ रन बनाएका थिए। कर्णालीले जनकपुर र विराटनगरलाई पराजित गर्यो, तर काठमान्डुसँग पराजित भयो।
काठमान्डुसँग सोमबारको हारपछि आरिफुलले भने, ‘टी–२० क्रिकेटमा पावर प्ले महत्त्वपूर्ण हुन्छ, यसैले म पहिलो बलदेखि नै आक्रामक भएर खेल्ने र टोलीका लागि धेरै रन बनाउने उद्देश्यका साथ मैदानमा उत्रन्छु।’ जिसनले भने काठमान्डुविरुद्धको आफ्नो एनपीएल ‘डेब्यु’ खेलमा ५ बलमा ७ रन मात्र बनाउन सके। २१ वर्षे आरिफुल र जिसन दुवैले अहिलेसम्म बंगलादेशको राष्ट्रिय टोलीबाट खेलेका छैनन्।
एनपीएलमा रिपोर्टिङ गर्न आएका बंगलादेशी पत्रकारहरूमध्ये एक कावसर सान्तोले भने, ‘आरिफुल र जिसन दुवैसँग छिट्टै बंगलादेशको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने अवसर छ। आरिफुल दिमाग लगाएर खेल्छन् भने जिसन पावर हिटर हुन्। एनपीएलमा राम्रो प्रदर्शन गर्नु उनीहरूका लागि निकै आवश्यक छ।’
‘क्रिकफ्रेन्जी’ का प्रतिनिधित्व गर्ने कावसरसँगै ‘सी स्पोर्ट्स’ का मुन्ना चन्द्र दास र ‘बीडीक्रिकटाइम डट कम’का अल महमुद फहिम पनि काठमाडौं आएका छन्। अल महमुदले भने, ‘बंगलादेशी खेलाडीहरू जहाँ खेल्छन्, हामी ती फ्रेन्चाइज प्रतियोगिताहरू कभर गर्न पुग्छौं, हामीले पाकिस्तान सुपर लिग, लंका प्रिमियर लिग र आईएल टी–२० पनि कभर गरेका छौं।’
बंगलादेशी पत्रकारहरूका अनुसार एउटै सिजनमा १० जना बंगलादेशी खेलाडीहरूले एउटै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेलेको यो पहिलो पटक हो। मुन्नाले भने, ‘एनपीएलले विश्वव्यापी रूपमा जसरी क्रेज सिर्जना गरिरहेको छ, यो त्यसको परिणाम हो। यति धेरै खेलाडीहरू यहाँ खेलिरहेपछि नेपालमा मात्र होइन, बंगलादेशमा पनि एनपीएलको क्रेज बढिरहेको छ।’
हालैका दिनहरूमा बंगलादेशी क्रिकेटमा सबैभन्दा ठूलो नाम को हो भनी सोध्दा उनीहरूको एउटै स्वर थियो, शकिब। शकिब पहिलो पटक नेपाल खेल्न आएका हुन्। कावसरले भने, ‘साकिबका फलोअर्सहरू पनि छन् र हेटर्सहरू पनि। तर उनी बंगलादेशी क्रिकेटका सबैभन्दा ठूलो ब्रान्ड हुन्।’
क्रिकेटका तीनै फर्म्याटमा विश्वको नम्बर १ अलराउन्डर रहिसकेका शकिब अगस्ट २०२४ मा शेख हसिनाको सरकार पतन भएपछि हाल अमेरिकाबाट बंगलादेश फर्किएका छैनन्। साकिब हसिनाका निकटका थिए। बंगलादेशका लागि शकिबको अन्तिम खेल सेप्टेम्बर–अक्टोबर २०२४ मा कानपुरमा भारतविरुद्धको दुई खेलको टेस्ट शृंखला हुने तालिका रहेको थियो।
पोखराका लागि शकिबको प्रदर्शन राम्रो हुन सकेको छैन। पोखरा पहिलो तीनै खेलमा पराजित हुन पुगेको छ भने शकिबको पनि ‘फ्लप सो’ चलिरहेको छ। सुदूरपश्चिमविरुद्ध १४ र जनकपुरविरुद्ध ९ रन बनाएका साकिब ब्याटबाट प्रभावकारी हुन सकेका छैनन्। लुम्बिनीविरुद्ध मंगलबार उनी ३ रन बनाई रोहित पौडेलको बलमा आउट भएका थिए। उनले चार विकेट भने लिइसकेका छन्।
मंगलबार कीर्तिपुरमा सैफ हसनले हलचल मच्चाएका थिए। फेब्रुअरी २०२० मा बंगलादेशका लागि डेब्यु गरेका हसनले जनकपुरलाई विराटनगरविरुद्ध विजयको नजिक पुर्याएका थिए। विराटनगरविरुद्ध १ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा पहिलो विकेट पतन भएपछि क्रिजमा आएका सैफ अन्तिम बलसम्म टिके। तर अन्तिम बलमा उनले बाउन्ड्री प्रहार गर्न नसक्दा जनकपुरले पराजय बेहोरेको थियो। अन्तिम बलमा ३ रन आवश्यक पर्दा ४७ बलमा ७१ रन बनाएका सैफले एन्ड्रे रसेलको सर्ट बललाई राम्रै प्रहार गरे, तर बाउन्ड्री लाइननजिकै क्याच आउट भए।
खेलपछिको पत्रकार सम्मेलनमा सैफले भने, ‘टोलीलाई जितको नजिक पुर्याएर पनि जिताउन नसक्दा म दुःखी छु, यो टोलीले आगामी खेलहरूमा अझ राम्रो प्रदर्शन गर्नेछ।’
एनपीएलको तेस्रो सिजनमा यति धेरै बंगलादेशी खेलाडीहरू आउनुको कारणबारे सोधिएको प्रश्नमा सैफले जवाफ दिए, ‘बंगलादेशी खेलाडीहरू विश्वभर फ्रेन्चाइज क्रिकेट खेलिरहेका छन्, सायद त्यसैले यहाँ पनि यति धेरै खेलाडीहरू आएका छन्। हामीलाई यहाँ खेल्नका लागि सजिलै एनओसी प्रदान गर्नुभएकोमा बंगलादेश क्रिकेट बोर्डप्रति कृतज्ञ छौं।’
सैफले एनपीएल बंगलादेशी खेलाडीहरूका लागि एक राम्रो मञ्च भएको पनि जोड दिए। बंगलादेशका लागि ६ टेस्ट, १५ एकदिवसीय र ३१ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका सैफले भने, ‘ठूला स्टारहरूको सामुन्ने आफ्नो सीप प्रदर्शन गर्ने यो राम्रो मञ्च हो, आरिफुल र जिसनजस्ता राष्ट्रिय टोलीमा पर्न चाहने खेलाडीहरूका लागि एनपीएलमा प्रदर्शन गर्नु सहयोगी हुनेछ। मलाई लाग्छ यहाँ खेलिरहेका यी सबै खेलाडीहरू अब राम्ररी अनुभवी भइसकेका छन्।’
शकिब र सैफबाहेक माहेदी, मोहम्मद सैफुद्दिन, रिपन, परवेज र शामिम हुसेनले पनि बंगलादेशको राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। बंगलादेशी खेलाडीहरू एनपीएलमा आएको यो पहिलो पटक भए पनि नेपालको फ्रेन्चाइज क्रिकेट इतिहासमा यो नयाँ होइन।
तामिम इकबालले २०२१ मा एभरेस्ट प्रिमियर लिग शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सबाट खेलेका थिए। उनी नै हाल बीसीबीका अध्यक्ष हुन्। तामिम घाइते भएर बीचैमा प्रतियोगिताबाट फर्किएका थिए।
अहिले एनपीएलमा खेलिरहेका बंगलादेशी खेलाडीहरू रमाइरहेका छन्। आरिफुलले भने, ‘दर्शकहरू एनपीएलप्रति निकै जोशिला छन्। उनीहरू प्रत्येक टोलीलाई समर्थन गरिरहेका छन्, यहाँ नेपालमा सबै कुरा राम्रो छ।’ अन्य बंगलादेशी खेलाडीहरूले आगामी खेलहरूमा आफ्नो पूर्ण क्षमता देखाउन बाँकी नै छ।
तर एउटा यस्तो भिडन्त छ, जसको लागि विश्व क्रिकेट जगतले प्रतीक्षा गरिरहेको हुनुपर्छः पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्स। वा भनौं, शकिबविरुद्ध एन्जेलो म्याथ्युज। श्रीलंकाका म्याथ्युज ‘टाइम आउट’ हुने पहिलो खेलाडी बनेका थिए, त्यसको कारण उनै शकिब थिए। २०२३ को एकदिवसीय विश्वकपमा दिल्लीमा भएको खेलमा उक्त विवाद मञ्चन भएको थियो, जुन विश्व क्रिकेटकै सबैभन्दा ठूलो विवादमध्येको एक बन्यो।
थोत्रो हेल्मेट लगाएर म्याथ्युज क्रिजमा पुगेका थिए। तर हेल्मेटको डोरीको क्लिप भाँचिएकाले उनलाई स्ट्राइक लिन ३ मिनेट २० सेकेन्ड लागेको थियो र यसैमा उनी ‘टाइम आउट’को सिकार भएका थिए। क्रिकेट भलाद्मीको खेल हो, तर सो समयमा बंगलादेशी कप्तान रहेका शकिबले म्याथ्युजविरुद्ध क्रिजमा ढिला आएको भनी आउटको अपिल गरेका थिए। शकिबको तर्क थियो, यो नियमअन्तर्गतकै अपिल थियो।
अक्टोबर २९ मा कर्णालीसँगको हारपछि खेलपछिको पत्रकार सम्मेलनमा जब एक बंगलादेशी पत्रकारले म्याथ्युजलाई एनपीएलको दौरान शकिबसँग भेट भयो भनेर सोधे, तब म्याथ्युजले हाँस्दै जवाफ दिए, ‘अहिलेसम्म छैन।’
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।
नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।