मूल्यवृद्धिले दैनिक जीवनमा निम्त्याएको कठिनाई तथा इरानसँगको युद्धलाई हेर्ने अमेरिकी जनताको दृष्टीकोण यस निर्वाचनले उजागर गर्नेछ
वासिङ्टन — अमेरिकीहरूले मंगलबार संसदीय निर्वाचनमा मतदान गर्दैछन् । यस निर्वाचनले राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालको अन्तिम दुई वर्ष संसद् कसको नियन्त्रणमा रहन्छ भन्ने स्पष्ट गर्नेछ ।
ट्रम्प दोस्रोपटक राष्ट्रपति चुनिएपछि अमेरिकीहरुले पहिलोपटक मतदान गर्न लागेका हुन् । त्यहीकारण, यस निर्वाचनमा ट्रम्प उम्मेदवार नभए पनि उनको पार्टीको लोकप्रियता परीक्षण हुनेछ ।
मूल्यवृद्धिले दैनिक जीवनमा निम्त्याएको कठिनाई तथा इरानसँगको युद्धलाई हेर्ने अमेरिकी जनताको दृष्टीकोण पनि यस निर्वाचनले उजागर गर्नेछ ।
यो नतिजाले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनअघि कुन–कुन मुद्दा र नीतिहरूले मतदातालाई सबैभन्दा बढी आकर्षित गर्छन् भन्ने विषयमा दुवै दलभित्रको बहसलाई नयाँ रूप दिन सक्छ ।
संसद्को नियन्त्रण तय गर्ने प्रतिस्पर्धा
अहिले संसद्मा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको झिनो बहुमत छ । तल्लो सदन (प्रतिनिधिसभामा २१८–२१४ र माथिल्लो सदन सिनेटमा ५३–४७) ले रिपब्लिकन पार्टी अघि छ ।
विपक्षी डेमोक्रेटिक पार्टीले यो अवस्थालाई उल्ट्याउन गत निर्वाचनको दाँजोमा प्रतिनिधिसभा र सिनेट दुबैमा कम्तीमा ४–४ सिट बढाउन जरुरी छ ।
अधिकांश, सर्वेक्षणहरुले प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले बहुमत ल्याउने देखाएका छन् । तर, सिनेटको प्रतिस्पर्धा भने रोचक हुने प्रक्षेपण गरेका छन् ।
यदि एक वा दुवै सदनमा डेमोक्रट्सले जित हासिल गरेमा ट्रम्पलाई अफ्टेरो पर्नेछ । डेमोक्रेट्सहरुले ट्रम्प प्रशासनको नैतिकता, सीमा सुरक्षा÷अध्यागमन कडाइ र इरान युद्ध सञ्चालनका विषयमा छानबिन सुरु गर्ने संकेत गरेका छन् ।
रिपब्लिकनहरूकै बहुमत कायम रहेमा ट्रम्पको पकड थप बलियो हुनेछ । अर्कोतर्फ, भारी पराजय व्यहोर्नुपरेमा भन्सार महसुल (ट्यारिफ) र युद्ध जस्ता अप्रिय नीतिहरूमा पुनर्विचार गर्न दबाब बढ्नेछ ।
ट्रम्पको उत्तराधिकारी बन्न प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरूको एजेन्डालाई पनि यस निर्वाचनले आकार दिनेछ ।
रिपब्लिकनको नियन्त्रणमा रहेका फ्लोरिडा र भर्जिनियाका प्रतिनिधिसभा सिटहरूबाट आउने प्रारम्भिक नतिजाले आगामी संसद्मा डेमोक्रेटिक पार्टीको आकार कस्तो हुनेछ भन्ने संकेत दिनेछ ।
सिनेटको कडा प्रतिस्पर्धा मुख्यतया ६ देखि ८ वटा सिटहरूमा टिकेको छ । सिनेटमा आफ्नो पकड बनाउनका लागि डेमोक्रेटिक पार्टीले ओहायो, आयोवा, अलास्का र टेक्सासजस्ता राज्यहरूमा रिपब्लिकनको सिट खोस्नुपर्ने हुन्छ । सन् २०२४ को चुनावमा ट्रम्पले यी राज्यहरुमा भारी मतान्तरले जितेका थिए ।
क्यान्ससमा ट्रम्पले गत निर्वाचनमा फराकिलो जीत हासिल गरेको भएपनि पछिल्ला हप्ताहरूमा त्यहाँ कडा प्रतिस्पर्धा देखिएको छ ।
कडा प्रतिस्पर्धा हुने क्षेत्रमा मतदाताको योग्यता, मतगणना र प्रमाणपत्र प्रमाणीकरणलाई लिएर विवाद हुनसक्ने चेतावनी निर्वाचन अधिकारीहरूले दिएका छन् ।
लामो लाइन, भोटिङ मेसिनमा खराबी वा दलीय प्रतिनिधिहरूले गर्ने अवरोधका कारण कानुनी झमेला र नतिजा घोषणामा ढिलाइ हुन सक्छ ।
ट्रम्पको न्याय मन्त्रालयले मतदानको दिन देशभर करिब १,००० पर्यवेक्षक खटाउने योजना बनाएको छ, जुन अघिल्लो मध्यावधिको तुलनामा तेब्बर हो । यसले मतदातामा भय उत्पन्न गराउन सक्ने केही स्थानीय अधिकारीको आशंका छ । तर, पनि न्याय मन्त्रालयले ती त्रास निराधार रहेको दाबी गरेको छ।
खासगरी रिपब्लिकनले कंग्रेसको नियन्त्रण गुमाएमा ट्रम्पले कसरी प्रतिक्रिया दिनेछन् भन्ने विषय चुनावी रातको सबैभन्दा ठूलो खबर बन्न सक्छ ।
सन् २०२० नोभेम्बर ४ को बिहान मतगणना नसकिँदै ट्रम्पले आफू विजयी भएको घोषणा गरेका थिए । उनले मतगणना रोक्न आह्वान समेत गरेका थिए ।
तर, उक्त चुनावमा उनी जो बाइडेनसँग पराजित भए । त्यसपछि उनले चुनाव चोरी भएको आरोप लगाए । चुनावी नतिजाप्रति असन्तुष्ट केही उत्शृंखल ट्रम्प समर्थकले २०२१ जनवरी ६ अमेरिकी क्यापिटल (संसद् भवन) मा आक्रमण गरेका थिए ।
ट्रम्पले अझै पनि २०२२ को चुनाव आफैंले जितेको दाबी गर्छन् । त्यसबेला, भोट चोरेर बाइडेनले आफुलाई विजेता घोषणा गरेको उनको तर्क छ ।
उनले यस मध्यावधि निर्वाचनको निष्पक्षतामाथि पनि चुनाव अगावै प्रश्न उठाएका छन् । ट्रम्प प्रशासनले राज्यहरूसँग मतदाताको विवरण मागेको छ र गैर–नागरिक समेत मतदानमा सहभागी हुनसक्ने भन्दै अनुसन्धान सुरु गरेको छ ।
दुवै दलका मूल समर्थकहरूको उपस्थिति निर्णायक हुने छ। चुनावअघिका सर्वेक्षणहरूमा रिपब्लिकनको तुलनामा डेमोक्रेटिक समर्थकहरू मतदानका लागि बढी उत्साहित देखिएका थिए।
तर, युवा, अश्वेत र हिस्पानिक मतदाताहरू राष्ट्रपतीय निर्वाचनको तुलनामा संसदीय निर्वाचनमा कम संख्यामा सहभागी हुने गरेको अमेरिकाको इतिहास छ ।
यी समुहहरु यसपटक बढ्दो मूल्यवृद्धिले चिन्तित छन् । दुबै पार्टीप्रति उनीहरुलाई खासै आशा छैन । प्रारम्भिक मतदान (अर्ली भोटिङ) को तथ्याङ्कमा डेमोक्रेटिक समर्थकहरूको उत्साह उच्च देखिन्छ ।
तर, रिपब्लिकनहरूले आफ्ना समर्थकहरूले चुनावकै दिन (इलेक्सन डे) मा मतदान बुथमै मत खसाल्ने दाबी गरिरहेका छन् ।
२०२८ को राष्ट्रपतीय दौडमा पर्ने प्रभाव
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा पराजय व्यहोरेपछि डेमोक्रेटिक पार्टीका नेताहरु पपुलिस्ट आर्थिक नीति ल्याउने वा मध्यमार्गी बाटो अपनाउने भन्ने विषयमा दुई पक्षमा बाँडिएका छन् ।
मंगलबारको निर्वाचनमा दुवै पक्षका उम्मेदवारको प्रदर्शनले उनीहरूको आगामी नीतिको परीक्षण गर्नेछ । यसले २०२८ को राष्ट्रपतीय मनोनयनका लागि पार्टीभित्रको प्रतिस्पर्धालाई झन् तीव्र र रोचक बनाउनेछ ।
यस निर्वाचन चक्रमा रिपब्लिकनहरूसँग ठूलो वित्तीय पहुँच (फन्ड) थियो । उनीहरूले डेमोक्रेट्सविरुद्ध आक्रामक विज्ञापन अभियान चलाएका छन्।
पार्टी समिति र बाह्य समूहहरूलाई जोड्दा रिपब्लिकनहरू डेमोक्रेट्सभन्दा सयौँ मिलियन डलरले अगाडि छन् ।ट्रम्पले मेगा इन्कमार्फत संकटमा परेका रिपब्लिकन उम्मेदवारहरूका लागि २७७ मिलियन डलरभन्दा बढी चुनाव खर्च गरेका छन् ।
टेस्लाका सिइओ इलोन मस्कले मात्रै मध्यावधिको क्रममा रिपब्लिकन पार्टीका लागि करिब ३६६ मिलियन डलर खर्च गरेका छन् ।