१७ कात्तिक, धनकुटा । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिबास धनकुटालाई पाख्रिबास नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।
कलेजका प्रिन्सिपल निराजन भण्डारीका अनुसार नगरपालिकाले कलेजका ग्रिन हाउस बनाउनका लागि ५ लाख र सञ्चालन खर्चका लागि ५ लाख सहयोग गरेको हो ।
कलेजमा अध्ययन गर्ने बिएससी एजीका विद्यार्थीको प्रयोगात्मक तथा अनुसन्धान कार्यलाई सहयोग पुर्याउने उद्देश्यले ग्रिन हाउस बनाउन लागिएको छ । नगरपालिकाबाट प्राप्त रकमको काम गर्नका लागि सिलबन्दी बोलपत्र मार्फत काम अगाडि बढाइएको कलेजका प्रिन्सिपल भण्डारीले जानकारी दिए । ‘नगरपालिकाको सहयोगबाट प्राप्त रकमले ग्रिन हाउस बनाउँदै छौं, विद्यार्थीको अनुसन्धान गर्न, विभिन्न जातका विरुवाहरु उत्पादन गर्न यसले सहयोग पुर्याउँछ’ कलेजका प्रिन्सिपल भण्डारीले भने, ‘नयाँ ग्रिन हाउस बनेपछि हामीसँग दुईवटा ग्रिन हाउस हुन्छ, विद्यार्थीलाई प्रयोगात्मक र सिकाईका लागि सहज हुन्छ ।’
कलेजलाई नगरपालिकाले चालु वर्षमा नै सञ्चालन खर्च भनेर ५ लाख रकम उपलब्ध गराएको नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरूङले जानकारी दिए । उनले कलेजका स्थापनादेखि सञ्चालनसम्म नगरपालिकाले निरन्तर साथ दिँदै आएको बताए । कृषि उत्पादन र उत्पादकत्व बढाउन अध्ययन र अनुसन्धान जरुरत भएको भन्दै नगरप्रमुख गुरूङले पालिकाको तर्फबाट हरतरहले साथ दिने बताए ।
उनले पाख्रिबास नगरपालिकाका लागि पाख्रिबास कलेज गौरवको विषय भएको भन्दै कृषि उत्पादनलाई बढाउन, यहाँका कृषि सम्बन्धी समस्याको अनुसन्धान र समाधान गर्न कलेजको तर्फबाट पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
उनले आगामी दिनमा कलेजमा स्नातकोत्तरका कार्यक्रमसमेत ल्याउनका लागि पहल गरिने बताए ।