संस्कारी र अनुशासित हुनु भनेको कमजोरी नभई मानवीय गुण हो, जसको कमीले आजको समाजमा विकृति झाँगिएको छ ।
हामी जुनसुकै क्षेत्र वा पेसामा रहौं, हामीमा संस्कार र अनुशासन अपरिहार्य हुन्छ । त्यसमा पनि मानवीय व्यवहारको जग बाल्यकालमै बस्ने भएकाले बालबालिकामा संस्कार र अनुशासन सिकाउनु महत्त्वपूर्ण हुन्छ । संस्कारले मानिसलाई कसरी राम्रो बन्ने भनेर सिकाउँछ भने अनुशासनले आफूलाई कसरी मर्यादित र व्यवस्थित राख्ने भनेर सिकाउँछ । संस्कारबिना अनुशासन सम्भव हुँदैन । संस्कार भनेको हामीभित्र रहेको असल मूल्य, सोच र व्यवहारको आधार हो । अनुशासन भनेको ती मूल्य, नियम र मर्यादा व्यवहारमा पालना गर्नु हो ।
व्यक्तिले परिवार, समाज र वातावरणबाट सिकेका असल मूल्य, मान्यता, आचरण र व्यवहार नै संस्कार हो । जस्तै: ठूलालाई आदर र सानालाई माया गर्नु, घरमा आएका पाहुनालाई सम्मान गर्नु, मानिसहरूसँग नम्र भएर कुरा गर्नु, कसैप्रति रिसइबी नराख्नु । यस्तै, आफूले पालना गर्नुपर्ने नियम, मर्यादा र कर्तव्यलाई व्यवहारमा उतार्नुचाहिँ अनुशासन हो । जस्तै: पाहुना आउँदा मोबाइल वा खेल थाती राखेर उहाँहरूलाई समय दिनु, उहाँहरूको मानमर्यादा र सुविधाको ख्याल राखेर व्यवहार गर्नु, कुनै कुराकानी वा छलफलमा कोही बोलिरहँदा बीचमा नबोल्नु ।
संस्कार जानेको छ तर त्यो व्यवहारमा प्रकट भएन भने त्यस्तो संस्कारको कुनै अर्थ हुँदैन । त्यस्तै, डर वा करले नियमको पालना गर्नु, मनमा आदर–सम्मान र स्नेहको भाव नभए पनि देखावटी व्यवहार गर्नु पनि साँचो अर्थको अनुशासन होइन । त्यस्तो व्यवहार दिगो हुँदैन, क्षणिक हुन्छ । त्यसैले संस्कार र अनुशासन आडम्बर र स्वाङ होइन, व्यक्तिको परिचायक वा व्यक्तित्व बन्नुपर्छ । यसले नै व्यक्तिलाई मानवीय र सफल पनि बनाउँछ । संस्कार र अनुशासनको गुण हासिल गर्न बालबालिकामा नैतिक शिक्षा आवश्यक हुन्छ । जसमा घरको पारिवारिक वातावरण र व्यवहारदेखि विद्यालयमा हुने सिकाइको भूमिका हुन्छ ।
म एउटा संस्थागत विद्यालयसँग जोडिएकाले आजका बालबालिकालाई नजिकबाट बुझ्ने मौका पाएकी छु । बालबालिकाले सूचना प्रविधिमा सहज पहुँचका कारण देश–विदेश र ज्ञान–विज्ञानका धेरै कुरा जानेका पाइन्छन् । बाहिरी कुराको सिकाइ र बुझाइ हुनु राम्रो कुरा हो, आजको प्रतिस्पर्धी समयमा यो आवश्यक छ । तर क्षमता र विवेकले पूर्ण भए पनि व्यवहारमा संस्कार, अनुशासन भएन भने मानिस पलाँसको फूल जस्तो हुन्छ । न कुनै बास्ना, न कुनै प्रभाव, मात्र हेर्दाको आकर्षण । यसको विपरीत, संस्कार र अनुशासन भएको मानिस सबैको मन–मस्तिष्कमा रहन्छ, ज्ञानसँगै गुनको सुगन्ध फैलाउँछ ।
आजका बालबालिका भोलिका देशका सञ्चालक, संगठक हुन् । उनीहरूलाई पाठ्यपुस्तक र सूचना प्रविधिको संसारबाट सिकेको कोरा ज्ञान मात्र पर्याप्त हुँदैन । उनीहरूको मन–मस्तिष्कमा बुझिने गरी नैतिकता, अनुशासन, इमानदारी जस्ता किताबमा नपाइने अमूल्य शिक्षा दिनु छ । जसको प्रभावबाट बालबालिका क्षमतावान् र ज्ञानीसँगै योग्य मानिस बन्न सकून् ।
एउटा बच्चाका लागि परिवार नै उसको पहिलो पाठशाला हो । उसले बोली, खानपिन, उठबस जस्ता सामान्य कुरा पहिलो पाठशालाबाटै सिक्छ । घरमा पाएको वातावरण, देखेको र पाएको व्यवहार नै उसका लागि संस्कार बन्छ । त्यसैले हामी अभिभावकले बच्चालाई कस्तो संस्कारमा हुर्काउँदै छौं, कस्ता कुरा सिकाउँदै छौं भन्नेमा सजग हुन जरुरी छ । अभिभावक, शिक्षक, समाज सबै मिलेर आजको पिँढीलाई सजग र सक्षम बनाउन सकिएमा परिवार हुँदै समाज पनि त्यही गतिमा अगाडि बढ्न सक्छ ।
भौतिकवादी दौडमा लागेका आजका मानिस अति व्यस्त छन् । हामी अभिभावकसँग आफ्ना बालबालिकाको कुरा सुन्ने, बुझ्ने र जिज्ञासा मेटाउने समय र धैर्य नै छैन । बालबालिकालाई सुनाउनुपर्ने कथा र सिकाउनुपर्ने शिक्षाका लागि हामीसँग फुर्सद छैन । यस्तो हतारोका कारण बालबालिका आफ्ना कुरा मन खोलेर कोसँग गर्ने भन्ने अन्योलमा छन् । जसका कारण उनीहरू संवेगात्मक समस्या पोको पारेर बसेका छन् । उनीहरूमा सुसंस्कार, अनुशासन, लगनशीलता जस्ता आधारभूत मानवीय गुणकै कमी छ ।
मान्छेका स–साना बानी नै भविष्यमा जोडिएर उसको पहिचान बन्ने हो । राम्रो बानीले असल पहिचान बन्छ, नराम्रोले खराब । हामीले आफ्ना बालबालिकालाई सिकाउन र बुझाउन जरुरी छ– अनुशासित वा संस्कारी हुनु भनेको कमजोरी नभई यो त हामीमा हुनैपर्ने मानवीय गुण हो । यी कुराको कमीले नै आजको समाजमा अनेक विकृति झाँगिएको छ ।
सक्षम र असल बन्नु अरू कसैका लागि नभई आफ्नै जीवनको सहजता, शान्ति र प्रगतिका लागि आवश्यक हुन्छ । यी गुण भएमा कसैको मुख ताक्ने वा अरूको इसारामा हिँड्नुपर्ने बाध्यता रहँदैन । आफ्नै बाटो बन्छ । यी कुरा बालबालिकालाई सिकाउन र बुझाउन सके नयाँ पिँढी इमानदार, नैतिकवान्, कर्मशील र मानवतावादी बन्नेछ, जसले सभ्य समाज निर्माणमा इँटा थप्नेछ ।
रूपा पुरी विद्यालय परामर्शदाता हुन्।