Trending
Prev Story
Next Story

भवन तयार हुँदा पनि सञ्चालनमा आएन आठपहरिया संग्रहालय

Onlinekhabar •
November 03, 2026 • 04:01 AM
1
1 reads 0 reactions

१७ कात्तिक, धनकुटा । धनकुटामा निर्माण गरिएको आठपहरिया संग्रहालयको भवन तयार भए पनि सञ्चालनमा आउन सकेको छैन । भवन निर्माणको काम अधिकांश सम्पन्न भए पनि आन्तरिक व्यवस्थापन, प्रदर्शनी सामग्री संकलन र सञ्चालनको जिम्मेवारी टुंगो नलाग्दा …

भवन तयार हुँदा पनि सञ्चालनमा आएन आठपहरिया संग्रहालय

१७ कात्तिक, धनकुटा । धनकुटामा निर्माण गरिएको आठपहरिया संग्रहालयको भवन तयार भए पनि सञ्चालनमा आउन सकेको छैन । भवन निर्माणको काम अधिकांश सम्पन्न भए पनि आन्तरिक व्यवस्थापन, प्रदर्शनी सामग्री संकलन र सञ्चालनको जिम्मेवारी टुंगो नलाग्दा संग्रहालय सञ्चालनमा ढिलाइ भएको हो ।

धनकुटा नगरपालिका–४ स्थित बिहीबारे हटिया नजिक करिब तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको दुईतले संग्रहालय भवनमा १० वटा कोठा र एउटा मुख्य हल छन् । परम्परागत शैली झल्काउन भवनको छानो फुसले छाइएको छ ।

गत वर्ष आठपहरिया समुदायको प्रमुख चाड वाडाङ्मेटका अवसरमा सञ्चालनमा ल्याउने भनिए पनि संग्रहालय अझै सञ्चालनमा आउन सकेको छैन ।

संग्रहालय निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा संघीय सरकारले ५० लाख रुपैयाँ र धनकुटा नगरपालिकाले २ करोड ८ लाख रुपैयाँ विनियोजन गरेका थिए । कुल २ करोड ५८ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको भवनमा अहिले पनि आँगन निर्माण, भित्री व्यवस्थापन, सामग्री संकलन र प्राविधिक तयारीका काम बाँकी छन् ।

संग्रहालयमा आठपहरिया समुदायका परम्परागत पोसाक, बाजागाजा, कृषि औजार, घरेलु सामग्री तथा धार्मिक र सांस्कृतिक महत्त्वका वस्तु राख्ने योजना छ । समुदायको इतिहास, संस्कार, संस्कृति र परम्परागत जीवनशैली झल्काउने सामग्रीको छनोट, वर्गीकरण र अभिलेखीकरणसमेत गर्नुपर्नेछ ।

किरात आठपहरिया समाजका केन्द्रीय महासचिव कोमल आठपहरियाका अनुसार संग्रहालयमा राखिने सामग्रीले समुदायको पुरानो जीवनशैली, श्रम संस्कृति, सामाजिक परम्परा र धार्मिक विश्वासबारे जानकारी दिनेछ ।

उनका अनुसार संग्रहालयमा आठपहरिया समुदायले मान्ने २२ मार्गाथानी र ५२ चुले अर्थात् ठूला घरको विवरणसहित समुदायका संस्कार र संस्कृतिसम्बन्धी जानकारी राखिनेछ । जन्मदेखि मृत्युसम्मका संस्कारबारे पनि संग्रहालयमा जानकारी उपलब्ध गराउने योजना रहेको उनले बताए ।

आठपहरिया समुदायका पुराना पुस्ताले प्रयोग गर्दै आएका सामग्री र जीवनशैली नयाँ पुस्तामा हस्तान्तरण हुन नसकिरहेको अवस्थामा संग्रहालयले त्यसको संरक्षण र अभिलेखीकरणमा सहयोग पुग्ने महासचिव आठपहरियाको भनाइ छ । उनका अनुसार यसबाट समुदायका बालबालिका तथा युवाले आफ्ना पुर्खाको जीवनशैली बुझ्न पाउनेछन् भने अन्य समुदायका मानिसलाई पनि आठपहरियाको संस्कृति र इतिहासबारे जानकारी लिन सहज हुनेछ ।

संग्रहालय सञ्चालनको जिम्मा टुंगो लागेन

किरात आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले यस वर्ष मंसिरमा मनाइने वाडाङ्मेट पर्वदेखि संग्रहालय सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

‘वाडाङ्मेट आठपहरिया समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यही अवसरमा संग्रहालय सञ्चालनमा ल्याउन सके समुदायका लागि थप अर्थपूर्ण हुनेछ,’ उनले भने ।

तर, संग्रहालय सञ्चालनको जिम्मेवारी कसले लिने भन्ने विषय अझै टुंगिएको छैन । धनकुटा नगरपालिकाले वार्षिक केही रकम अनुदान उपलब्ध गराएर संग्रहालय सञ्चालनको जिम्मा आठपहरिया समाजलाई दिने तयारी गरेको छ । समाजले भने सुरुदेखि नै सञ्चालनको जिम्मेवारी लिनुपर्ने प्रस्तावमा सहमति जनाएको छैन ।

समाजका उपाध्यक्ष सूर्य आठपहरियाका अनुसार सुरुमा नगरपालिकाले नै संग्रहालय सञ्चालन गर्नुपर्छ । संग्रहालयबाट आम्दानी हुन थालेपछि मात्र समुदायको संस्थालाई जिम्मेवारी दिन सकिने उनको भनाइ छ ।

‘सुरुमा नगरपालिका आफैंले सञ्चालन गर्नुपर्छ । संग्रहालयबाट आम्दानी हुन थालेपछि मात्रै समाजलाई जिम्मा दिनुपर्छ,’ उनले भने ।

धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले संग्रहालय सञ्चालनको ढाँचा र व्यवस्थापनबारे छलफल भइरहेको बताए । आधुनिक जीवनशैली र पुस्तान्तरणका कारण आठपहरिया समुदायका परम्परा, संस्कार र जीवनपद्धतिमा परिवर्तन आउन थालेपछि तिनको अभिलेखीकरण आवश्यक देखिएको उनले बताए ।

‘समुदायको मौलिक पहिचान र संस्कृतिको संरक्षणका लागि संग्रहालय निर्माण गरिएको हो । यसको सञ्चालन ढाँचा र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ अधिकारीले भने ।

संग्रहालय सञ्चालनमा आएपछि सामग्रीको दीर्घकालीन संरक्षण, सुरक्षा, प्रदर्शनी व्यवस्थापन र कर्मचारीको व्यवस्था गर्नुपर्नेछ । त्यसका लागि आवश्यक कार्यविधि, जिम्मेवारी र स्रोत व्यवस्थापनसमेत टुंग्याउन बाँकी छ ।

धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायको आफ्नै भाषा, संस्कार, संस्कृति र चाडपर्व छन् । समुदायले मुख्यगरी वैशाखमा विशु, भदौमा न्वागी र मंसिरमा वाडाङ्मेट पर्व मनाउने गर्छ ।

आठपहरिया समुदायका केन्द्रीय अध्यक्ष अष्टमान आठपहरियाका अनुसार समुदायका मुख्य धार्मिक तथा सांस्कृतिक गतिविधि धनकुटा नगरपालिकाभित्र रहेका २२ मार्गाथानी र ५२ चुले अर्थात् ठूला घरसँग जोडिएका छन् ।

वैशाखमा मनाइने विशु पर्व रामनवमीपछिको दोस्रो सोमबारदेखि आठ दिनसम्म मनाउने परम्परा छ । यस अवसरमा बाली लगाउने समय भएकाले वर्षा गराइदिन मार्गाथानी तथा प्रकृतिको पूजा गर्ने चलन छ । सुख, शान्ति र समृद्धिको कामना गर्दै मनाइने यस पर्वमा महिलाको सुख–समृद्धिका लागि घर तथा कोठेबारीमा समेत पूजा गर्ने परम्परा रहेको छ ।

भदौमा मनाइने न्वागी पर्व नयाँ बाली पाकेपछि कुलदेवता र पितृलाई चढाएर मात्र खाने परम्परासँग सम्बन्धित छ । भदौ शुक्ल पूर्णिमापछिको मंगलबारदेखि आइतबारसम्म छ दिन मनाइने यस पर्वमा वर्षा गराएर बाली फलाउन सहयोग गरेको भन्दै कुल, पितृ र मार्गा देवतालाई नयाँ अन्न चढाउने गरिन्छ ।

मंसिरमा मनाइने वाडाङ्मेट आठपहरिया समुदायको सबैभन्दा ठूलो पर्व हो । यो पर्व १५ दिनसम्म मनाउने परम्परा छ । यस अवसरमा ढोल, मारुनी र डल्लो नाचलगायत सांस्कृतिक गतिविधि हुन्छन् । पहिलो सन्तान जन्मिएको खुसीयाली तथा वर्षभरि बाबु वा आमा गुमाएका सन्तानले सामूहिक रूपमा बरखी फुकाउने परम्परासमेत यस पर्वसँग जोडिएको छ ।

बरखी फुकाउन आठपहरियाहरू तीन दिनको पैदल यात्रा गरेर सुनसरीको बराहक्षेत्रनजिकै रहेको कोकाहा खोला पुग्ने र त्यहाँ केश तथा दाह्री मुण्डन गर्ने चलन रहेको छ । पर्वका अवसरमा पैसाको माला दान गर्ने परम्परासमेत छ ।

आठपहरिया समुदायको मान्यताअनुसार विभिन्न स्थानमा बसोबास गरे पनि चाडपर्व र संस्कार मनाउन धनकुटा नगरपालिका नै आउनुपर्ने चलन छ । अन्य स्थानमा गरिने धार्मिक तथा सांस्कृतिक गतिविधिले परम्परागत मान्यता नपाउने विश्वास रहेको अध्यक्ष अष्टमान आठपहरियाले बताए ।

उनका अनुसार आठपहरिया समुदायको जनसंख्या करिब ६ हजार छ । मुख्य बसोबास धनकुटा नगरपालिकामा रहेको यस समुदायका सदस्यहरू रोजगारी तथा अन्य कारणले बाहिर रहे पनि चाडपर्व र संस्कारका अवसरमा धनकुटा आउने गर्छन् ।

संग्रहालय सञ्चालनमा आएपछि समुदायको सांस्कृतिक सामग्री संरक्षण र अभिलेखीकरणका साथै विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकलाई आठपहरियाको इतिहास र जीवनशैलीबारे अध्ययन गर्ने अवसर मिल्ने समाजको अपेक्षा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

खोटाङ– सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको अस्पताल भवन हस्तान्तरण गरेको छ । नेपाल सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा निर्माण गरिएको सुविधा...

#भवन
Compare →
Ekantipur
1w ago
खोटाङ अस्पतालको सेवा अब सुविधासम्पन्न भवनबाट

खोटाङ अस्पतालको सेवा अब सुविधासम्पन्न भवनबाट

१५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको अस्पतालले भवन पाए पनि पूर्ण सेवा सञ्चालनका लागि उपकरण र जनशक्ति जुटाउनुपर्नेछ ।

#भवन
Compare →
Nagarik News
1w ago
संसदीय समितिले गर्यो निर्माणाधीन संसद् भवनको अनुगमन, ढिलाइ नगर्न सभापतिको निर्देशन

संसदीय समितिले गर्यो निर्माणाधीन संसद् भवनको अनुगमन, ढिलाइ नगर्न सभापतिको निर्देशन

निरीक्षणका क्रममा टोलीले संसद् भवन निर्माणको वर्तमान अवस्था, भौतिक प्रगति तथा निर्माणका क्रममा देखिएका समस्या र चुनौतीबारे सम्बन्धित आयोजना पक्षसँग जानकारी लिएको थियो।

#भवन
Compare →
Bizshala
1w ago
उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले काठमाण्डौको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। बैंकले भवन...

#भवन
Compare →
Arthasansar
1w ago
ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक...

#भवन
Compare →

Related Stories

Building & Construction
Build #2611