१५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको अस्पतालले भवन पाए पनि पूर्ण सेवा सञ्चालनका लागि उपकरण र जनशक्ति जुटाउनुपर्नेछ ।
खोटाङ — भवन अभावमा टहरोबाट सेवा दिँदै आएको खोटाङ अस्पतालले सुविधासम्पन्न पक्की भवन पाएको छ । अस्पताललाई बिहीबार आयोजित कार्यक्रमबीच ५० शय्या क्षमताको भवन हस्तान्तरण गरिएको हो ।
सघन सहरी भवन निर्माण आयोजना ओखलढुङ्गाका प्रमुख सुरज पौडेलले जिल्ला अस्पतालका निमित्त प्रमुख डा. पुस्कल राईलाई भवन हस्तान्तरण गरेका हुन् ।
संघीय सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँको लागतमा ३० महिनाभित्र सक्ने गरी श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले २४ असार २०७८ मा सघन सहरी भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेको थियो । तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण ढिलाइ भएको थियो ।
पटक–पटक ताकेता गर्दा समेत निर्माण कम्पनीले अटेर गरेपछि कारबाहीको प्रक्रिया सुरु भएपछि उक्त निर्माण कम्पनीले जिल्लाकै निर्माण व्यवसायी सुनिल राईलाई जिम्मा दिएको थियो । त्यसपछि भवन सम्पन्न भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।
२२ असार २०८२ मा १५ शय्याको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिए पनि भवन अभावमा सेवा विस्तार हुन सकेको थिएन । अब ५० शय्या सञ्चालनका लागि थप पहल गर्नुपर्ने राईले सुनाए । ‘भवन त हस्तान्तरण भयो तर उपकरण र आवश्यक जनशक्ति अभाव छ,’ राईले भने, ‘यसका लागि पहल गर्नुपर्ने हुन्छ ।’
डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।