मकर जितुमाया सुरी हाइड्रोपावरले लाभांश घोषणा गरेपछि सेयर मूल्य बढेको छ भने घलेम्दी हाइड्रोपावरमा ठूलो आयोजनामा लगानी गर्ने योजनाका कारण उच्च कारोबार भइरहेको छ ।
काठमाडौं — आज मंगलबार बजारमा २ कम्पनीमा लगानीकर्ताले विशेष ध्यान दिनुपर्ने देखिन्छ । यी दुई कम्पनी हुन् मकर जितु माया सुरी हाइड्रो पावर र घलेम्दी हाइड्रोपावर ।
मकर जितुमाया सुरी हाइड्रो : सोमबार मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य एकै दिन ८.७७ प्रतिशतले बढेर ४६० रूपैयाँ पुगेको छ । यसले सोमबार नै लाभांश घोषणा सार्वजनिक गरेकोले पनि मूल्य उच्चले बढेको हो ।
यसले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यो प्रस्ताव विधुत् नियमन आयोगबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ ।
वैशाख २०८० बाट मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर कारोबारमा आएको हो । हालसम्मको यसको उच्च मूल्य ८४५ रूपैयाँ हो । सो उच्च मूल्य बनाएयताकै कम मूल्य आसपासमा अहिले यसको सेयर कारोबार भइरहेको छ । यसको सो यताको न्युन मूल्य ३९७ रूपैयाँ हो ।
मकर जितुमाया आर्थिक वर्ष २०८१/८२ बाट नाफामा जान थालेको हो । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यो ६ करोड ४० लाख रूपैयाँ नाफामा छ । गत आर्थिक वर्ष २०८२/८३ को यही अवधिको यसको नाफा दुई करोड ८० लाख रूपैयाँ थियो । यो १२८ प्रतिशतले बढेको हो ।विद्युत् बिक्रीबाट हुने यसको आम्दानी वृद्धि भएपछि पनि नाफामा सुधार भएको हो । विद्युत् बिक्री शुल्क ३ प्रतिशतले वृद्धि भएकोले आम्दानी बढेको यसले वित्तीय विवरणमा उल्लेख गरेको छ ।
यसअघि विद्युत् बिक्रीबाट १२ करोड ७७ लाख रूपैयाँ आम्दानी गरेको यसले यस पटक १२ करोड ८९ लाख रूपैयाँ कमाएको हो ।
बैंकलाई तिनुपर्ने ब्याज खर्च पनि ४ करोड ६४ लाखबाट घटेर २ करोड ६६ लाख रूपैयाँमा सीमित भएको छ । यसको हाल एक अर्ब ७१ करोड बराबरको दीर्घकालीन ऋण दायित्व छ । कर्जाको ब्याजदर न्युन भएकोले पनि जलविद्युत् कम्पनीहरूको ब्याज लागत घटिरहेको छ ।
डोल्मा इम्प्याक्ट फन्डमार्फत वैदेशिक लगानी भित्र्याएको मकरले २ आयोजना सञ्चालन गरिरहेको छ । सुरी खोला र माथिल्लो सुरी खोला जलविद्युत आयोजना दुवै ७ मेगावाटका हुन् ।
मकर हाल यसको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ३३ रूपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रूपैयाँ छ ।
सोमबार सेयर मूल्य बढेपछि यसले लामो हरियो मैनबत्ती आकृति बनाएको छ । ४ कारोबार दिनमा मकरको सेयर मूल्यले करिब करिब ‘राइजिङ थ्री मेथड बुलिस’ आकृति बनाएको छ ।
४ कारोबार दिनमा पहिलो दिन लामो हरियो मैनबत्ती आकृति बनेको थियो । त्यसपछिका ३ दिन लगातार मूल्य घट्दै साना राता मैनबत्ती आकृति बने । अन्तिम दिन यो सोमबार लामो हरियो मैनबत्ती आकृति बन्यो ।यसले मकरको मूल्य बढ्ने संकेत गर्छ ।
घलेम्दी हाइड्रोपावर : सोमबार घलेम्दी हाइड्रोपावरको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ । यसको एकै दिन ३७ करोड रूपैयाँको सेयर कारोबार भएको हो ।
केही समयदेखि घलेम्दी उच्च कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ ।गत असोजमा घलेम्दीको समेत लगानी रहने ६३ मेगावाटको छुजुङ खोला अर्ध जलाशययुक्त आयोजनाको लागि बैंकहरूबाट लगानी जुटेको छ । यही कारण पनि लगानीकर्ता यो सेयरमा आर्कषित भएका हुन् ।
माछापुच्छ्रे बैंकको अगुवाइमा छुजुङ खोला आयोजनामा विभिन्न बैंकले ९ अर्ब ऋण लगानी गर्ने भएका छन् ।
घलेम्दीले ६३ मेगावाटको छुजुङ खोला आयोजनामा करिब ५१ प्रतिशतसम्म सेयर लगानी गर्ने उदेश्य राखेको छ । यसैको लागि घलेम्दीले केही समयअघि १ बराबर २ कित्ताको अनुपात अर्थात् २०० प्रतिशतको दरमा हकप्रद सेयर जारी गरेको थियो ।
त्यस बेला घलेम्दीको सबै हकप्रद सेयर बिक्री भएन र बोलकबोल प्रक्रियाबाट बेचिएको थियो । बोलकबोलको क्रममा भने १५२ रूपैयाँ दरमा यसको सेयर बिक्री भएको थियो । यही कारण घलेम्दीमा १६ करोड रूपैयाँ प्रिमियम रकम देखिएको छ । यो रकमबाट समेत लाभांश दिन सकिन्छ ।
घलेम्दीको सेयर २०७५ सालबाट कारोबारमा आएको हो । हालसम्म यसले कमाएरै भने लगानीकर्तालाई लाभांश दिएको छैन ।
हाल ५ मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको यसले ठूलो आयोजनामा लगानी गर्ने खबरले लगानीकर्ता यसको सेयरमा झुम्मिएका हुन् ।
१३ असोजमा २५३ रूपैयाँमा कारोबार भइरहेको घलेम्दीको सेयर मूल्य यस सोमबारसम्म ३२ प्रतिशतले बढेको छ । सोमबार यसको सेयर ३३५ रूपैयाँमा कारोबार भएको छ । फागुन २०७८ पछि यसको मूल्य केही दिनयता ३३५ रूपैयाँ आसपास छ ।
पछिल्ला ३ कारोबार दिनमा यस सेयर मूल्यले दोस्रो दिन (शुक्रबार) ‘दोजी’ मैनबत्ती आकृति बनाएको छ । यो आकृतिले लगानीकर्ताहरू अन्योलमा रहेको संकेत गर्छ । सोमबार यसको मूल्य २ रूपैयाँले बढे पनि शुक्रबारको उच्च मूल्य (३४० रूपैयाँ) पार गर्न सकेन । त्यसैले केही दिनको कारोबार हेरेर लगानी रणनीति बनाउनु सही हुन्छ ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी शेयर बजार र बैंक र लगानीका बिषयमा उनी रुची राख्छन् ।