Trending
Prev Story
Next Story

विचार | साउदी अरबमा नेपालीको सुरक्षाका लागि कूटनीतिक सक्रियता

Ekantipur •
November 03, 2026 • 01:02 AM
1
1 reads 0 reactions

यमनबाट सञ्चालित हुने र इरानबाट समर्थनप्राप्त हुथी समूहले हालै साउदी अरबमा गरेको आक्रमणका कारण नेपालीले ज्यान गुमाएको र हैरानी बेहोर्नुपरेको घटना पछिल्लो सन्दर्भ हो ।

विचार | साउदी अरबमा नेपालीको सुरक्षाका लागि कूटनीतिक सक्रियता

यमनबाट सञ्चालित हुने र इरानबाट समर्थनप्राप्त हुथी समूहले हालै साउदी अरबमा गरेको आक्रमणका कारण नेपालीले ज्यान गुमाएको र हैरानी बेहोर्नुपरेको घटना पछिल्लो सन्दर्भ हो ।

देशभित्र रोजगारीको अवसर नहुँदा श्रमका लागि विदेसिनु धेरै नेपालीका निम्ति बाध्यता भएको छ । परिणामतः रोजगारीका लागि जाने गरिएको परम्परागत मुलुक मात्रै होइन, नयाँ–नयाँ मुलुकमा पनि नेपाली पुगिरहेका छन् । वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्रलाई दिएको टेको, परिवारको आर्थिक, सामाजिक पक्षमा भएको सुधार, गुणस्तरीय जीवन जस्ता सकारात्मक परिवर्तन ल्याएको छ ।

अर्कोतर्फ, युवाशक्तिको स्वदेशमै उपयोग हुन नपाएकोदेखि पारिवारिक विग्रहसम्मका नकारात्मक पक्ष पनि छन् । यी सबैका बीचमा गन्तव्य मुलुकको आन्तरिक तनाव र भूराजनीतिक संघर्षले निम्त्याउने असुरक्षा पनि बढ्दै छन् ।

यमनबाट सञ्चालित हुने र इरानबाट समर्थनप्राप्त हुथी समूहले हालै साउदी अरबमा गरेको आक्रमणका कारण नेपालीले ज्यान गुमाएको र हैरानी बेहोर्नुपरेको घटना पछिल्लो सन्दर्भ हो । अन्य देशका समस्याका कारण र त्यसका समाधान सूत्र हाम्रो हातमा नहुन सक्छ । तर, त्यहाँ रहेका नेपालीको सुरक्षा हाम्रो मुख्य चासो र प्राथमिकतामा पर्नुपर्छ ।

४ कात्तिकमा साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु भएको छ । अन्य देशका नागरिकको पनि मृत्यु भइरहेको छ । खासगरी हुथीले साउदी अरबका विमानस्थल, बन्दरगाह र ऊर्जा पूर्वाधारलाई लक्ष्य गर्दै आक्रमण तीव्र पारेको छ । जसले गर्दा मृत्यु र घाइते हुनेको विवरण सार्वजनिक भइरहेका छन् । हुन त आक्रमणका लागि पठाएका ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले यथाशक्य आकाशमै रोक्ने गरेको छ । तर त्यसका टुक्राले घाइते बनाउने गरेको पाइन्छ ।

नेपालको प्रमुखमध्येको गन्तव्य र अहिले पनि चार लाख नेपाली कार्यरत साउदी अरबमा भइरहेका घटना चिन्ताजनक छन् । यसलाई दुई पक्षबाट केलाउनुपर्छ । पहिलो, जो साउदी अरबमै रहेर रोजगारी गरिरहेका छन् वा चाहन्छन्, उनीहरूको सुरक्षा सुनिश्चितता । दोस्रो, जो नेपाल फर्किने योजनामा थिए वा छन्, त्यसका लागि सहजीकरण ।

जतिसुकै ठूला घटना भए पनि गन्तव्य मुलुकमा रहेका सबै नेपाली फर्किंदैनन् । त्यस्तो अपेक्षा व्यावहारिक पनि हुँदैन । त्यसैले त्यहाँ रहेकाहरूको सुरक्षामा श्रमिक स्वयं, नेपाली दूतावास तथा रोजगारदाताको भूमिका प्रमुख हुन्छ । श्रमिकले यतिबेला साउदी अरब सरकारले जारी गरेका सुरक्षाका मापदण्डलाई कडाइपूर्वक पालना गर्नुपर्छ । रोजगारदाताका निर्देशनलाई पनि पालना गर्नुपर्छ । आफ्नो अवस्थाबारे दूतावासलाई सूचना दिनुपर्छ । दूतावासले पनि नेपाली श्रमिकलाई आफ्नो अवस्थाबारे जानकारी गराउन आह्वान गर्नुपर्छ ।

नेपालीका सम्बन्धमा विस्तृत विवरण तयार गर्नुपर्छ । सहज अवस्थामा हुने सूचना आदानप्रदानले सम्भावित जटिल अवस्थामा रणनीति कार्यान्वयन गर्न मद्दत पुग्छ । देशविरुद्ध लक्षित यस्ता आक्रमण कति बेला तीव्र बन्छन्, कहाँ आक्रमण लक्षित गरिन्छन्, कति बेला ठूलो मानवीय क्षति निम्त्याउँछन् भन्ने पूर्वानुमान गर्न सकिँदैन । जुन बेला अप्ठ्यारो अवस्था आउँछ, त्यतिबेला क्षति बेहोर्नुपर्ने हुन सक्ने भएकाले त्यसअघि नै सुरक्षाका मापदण्डलाई ऐच्छिक नभई अनिवार्य बनाउन अभ्यस्त हुनुपर्छ ।

यतिबेलाको अर्को समस्या भनेको नेपाल फर्किने तयारीमा रहेका वा पछिल्लो अवस्थापछि नेपाल फर्किन चाहेकाहरूले भोग्नुपरेको अप्ठ्यारो हो । हुथीको आक्रमणपछि साउदी अरबका महत्त्वपूर्ण विमानस्थल बन्द भएका छन्, उडानहरू रद्द भएका छन् । त्यसैले टिकट काटिसकेकाहरू पनि उतै रोकिएका छन् । यसमा पनि करार अवधि समाप्त भएर फर्किन तयारी गरेकाहरू बढी दबाबमा परेका छन् ।

यस्तो संख्या कति हो भनेर विवरण संकलन गरिहाल्नुपर्छ । साउदीबाट उडान नभए पनि बहराइन, कुवेत वा कतारबाट त्यस्ता नेपालीलाई फर्काउन सकिन्छ । यसका लागि नेपालको कूटनीतिक सक्रियता अपेक्षित छ । फरक देश प्रयोग गरेर नेपाल आउन चाहने नेपालीका लागि भिसाको समस्या हुन सक्छ, खासगरी श्रमिकका हकमा । उनीहरूलाई नेपाल आउने प्रयोजनका लागि ‘अनअराइभल भिसा’ दिने व्यवस्था गराउन सकिन्छ । यद्यपि, यो काम दूतावासकै तहबाट नहुन सक्छ, त्यसैले परराष्ट्रमन्त्री तहमै पहलकदमी अनिवार्य छ । उनले साउदी अरब र उल्लेखित तीन देशसँग संवाद गर्नुपर्छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीले फरकफरक देशमा केही न केही समस्या भोग्नुपरिरहेकै हुन्छ । सम्बन्धित देशका आन्तरिक र बाह्य संघर्षको चेपुवामा नेपाली श्रमिक पर्नुपरेको पाइन्छ, जसमा उनीहरूको प्रत्यक्ष सरोकार नै हुँदैन । जबसम्म वैदेशिक रोजगारी हाम्रा निम्ति बाध्यता बनिरहन्छ, तबसम्म हामी त्रासमा पनि रहिरहन बाध्य हुने नै छौं । त्यसैले बाध्यताको वैदेशिक रोजगारीलाई अन्त्य गर्नैपर्छ । त्यसका लागि देशभित्रै रोजगारीको सिर्जना गर्नु अनिवार्य छ ।

आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गर्ने अनुकूल वातावरण निर्माण गर्ने र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने कामलाई प्राथमिकता दिनुपर्छ । सरकारले पूर्वाधारमा प्रशस्त लगानी गर्नुपर्छ । पुँजी निर्माण हुने र रोजगारी सिर्जना हुने आयोजनालाई प्राथमिकता दिनुपर्छ । उद्यमशीलताका नयाँ–नयाँ क्षेत्र पहिचान भइरहेका छन् । नेपालमै बसेर पनि विश्वका विभिन्न संस्थामा जोडिएर काम गर्ने अवसर प्रविधिका कारण सम्भव भएको छ ।

कानुनी, नीतिगत तथा राजनीतिक प्रतिबद्धताद्वारा सहजीकरण गर्ने हो भने रोजगारीका परम्परागत क्षेत्रप्रति विश्वास र नयाँ क्षेत्रप्रतिको आबद्धता बढ्दै जानेछ । त्यसले अन्ततः बाध्यताको वैदेशिक रोजगारीलाई अन्त्य गर्न र त्यहाँका दुर्घटनाबाट बेहोर्नुपर्ने क्षति पनि न्यूनीकरण हुनेछ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Prev Swipe Story Next

Related Stories

Opinion & Editorial
Build #2611