बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बकैयाका युवकलाई पक्राउ गरेको हो ।
हेटौंडा — मकवानपुरको बकैयाकी एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बकैयाका २६ वर्षीय युवकलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
बकैयामा आफन्तको घरमा बस्दै आएकी बालिकालाई ती युवकले आइतबार राति बलात्कार गरेको परिवारको आरोप छ ।
घटनाबारे बालिकाले आफन्तलाई जानकारी गराएपछि नजिकको प्रहरी चौकीमा खबर गरिएको थियो । त्यसपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध नाबालिका बलात्कार मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लामा चालु आर्थिक वर्षको साढे तीन महिनामा बलात्कारका १७ वटा घटना भएका छन् । तीमध्ये नाबालिकामाथि बलात्कारका १० घटना छन् ।
मकवानपुरमा गत आर्थिक वर्षमा २३ जना बालिकासहित ५७ जना बलात्कारबाट पीडित भएका छन् । पाँचदेखि १६ वर्षसम्मका बालिकाहरू अधिकांश छिमेकी र आफन्तबाट पीडित बनेका छन् ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।