१० भदौको विपत्तिले रसुवा र नुवाकोटमा ठूलो मानवीय क्षति भयो । धेरैले परिवारका सदस्य र प्रियजन गुमाए । यति ठूलो मानवीय क्षतिबाट बाँचेका बालबालिका र किशोरकिशोरीहरू कस्तो अवस्थामा छन् ? उनीहरूले कस्तो मनोवैज्ञानिक समस्याको सामना गरिरहेका छन् ? हामीले १३ जना किशोरकिशोरीसँग कुराकानी गरेका छौं ।
१० भदौको विनाशकारी बाढी । एक निमेषमा रसुवा र नुवाकोटका नदी किनार आसपासको दृश्य बदलियो । अनि फेरियो, बालबालिकाका घर, स्कुल, खेलमैदान र आसपासका सबै चीज ।
बितेर जानेहरू सम्झनामा मात्रै बाँकी भए । अनि बाँचेकाहरू साथीभाइ र परिवारका प्रियजन गुमाउँदाको गहिरो चोटसहित अघि बढ्ने संघर्षमा छन् । यो संघर्ष सबैभन्दा धेरै हुर्किंदै गरेका बालबालिकाले गर्नुपर्ने देखिएको छ । उनीहरूले आमा, बुबा, भाइबहिनी, हजुरबुबा, हजुरआमा गुमाएका छन् । उनीहरूको रिक्तता अब कसरी पूरा होला ? विभिन्न स्थानका होल्डिङ सेन्टर, गुम्बा र आफन्तकहाँ आश्रय लिइरहेका उनीहरूलाई थाहा छैन ।
पढाइलाई निरन्तरता दिँदै भविष्य कसरी तय गर्ने ? यस्तै प्रश्नबीच अन्योल र छटपटी उनीहरूको दैनिकी भएको छ । हामीले बाढी प्रभावित क्षेत्रका १३ बालबालिकाको अनुभव र ऐंठन संकलन गरेका छौं । अभिभावकको अनुमति लिएकाहरूको नाम उल्लेख गरेका छौं भने अन्यको परिवर्तन गरेका छौं ।
बाढी आउँदा म तुप्चे चण्डेश्वरी स्कुलमै थिएँ । मेरो घर भएको ठाउँ खाल्टेसम्म बाढी पुगेको छैन होला भन्ने लागेको थियो । सबै जना डाँडातिर भागिसके वा उहाँहरूले खबर पाइसक्नुभयो होला भन्ने सोचेकी थिएँ । तर, जब म हाम्रो घर देखिने चापडाँडामा पुगें, त्यहाँबाट हेर्दा हाम्रो घर नै थिएन । दिनभर मैले आमा, हजुरबुबा, हजुरआमा र परिवारका कोही पनि भेटिनँ । बाटोमा भेटिएका सबैलाई सोधें, ‘मेरो परिवारका कसैलाई डाँडातिर देख्नुभयो कि ?’ तर, कसैले पनि देखेका रहेनछन् ।
साँझतिर साथीकी आमा भेटिनुभयो । उहाँले आमा रहनुभएन भन्नुभयो, मलाई पत्यारै लागेन । अझै पनि लाग्दैन । कहिलेकाहीँ साँझमा ढिलोसम्म साथीको घरमा हुँदा आमाले ‘छिटो आइज’ भनेर कराउनुहुन्थ्यो । अहिले पनि साँझ पर्दा त्यही सम्झन्छु । बुबा विदेशमा हुनुहुन्थ्यो । यो घटनापछि घर फर्किनुभएको छ । हिमालयन एकेडेमी स्कुलमा आश्रय लिएर बसिरहेका बेला मैले बुबालाई भेटें । ५ वर्षपछि भेटेकाले बोल्नै सकिनँ ।
मेरो स्कुल भत्किएको छैन तर त्यहाँ फर्केर जान मन छैन । यहीँ पीपलटारमै पढ्न पाए हुन्थ्यो भन्ने लागेको छ । मेरो परिवार मात्रै होइन, लगभग सबै साथी हराए । अहिले कुरा गर्न धेरै साथी छैनन् । पहिले आफ्ना कुराहरू आमासँग साट्न सक्थें । अहिले परिवारमा म एक्ली महिला सदस्य छु र पुरुषहरूसँग सबै कुरा सेयर गर्न गाह्रो हुँदो रहेछ ।
सुरुका केही दिन सुत्न धेरै गाह्रो भयो । राति सुतेका बेला सबै जना अत्तालिएर तर्सिन्थे । ‘बाढी आयो, भागौं !’ भन्दै ब्युँझिन्थे । मान्छेहरू तर्सिएको देखेरै मलाई निद्रा लाग्दैनथ्यो । यत्रो ठूलो विपत्ति पर्दा पनि मान्छेहरू कसरी सुत्न सकेका होलान् भनेर म छक्क पर्थें । अहिले अलिअलि सुत्न सक्छु ।
मलाई काठमाडौं पनि जान मन छैन । सरकारले उतै पढाइदिन्छु भनेको छ रे । तर, मेरो बुबा र भाइ यहीँ हुनुहुन्छ, उहाँहरूसँगै बस्न मन छ । काठमाडौं गएँ भने फेरि छुट्टिनुपर्ने हुन सक्छ ।
म उत्तरगया पब्लिक स्कुलमा पढ्थें । कक्षा ६ देखि यही स्कुलमा पढ्दै आएको हुँ । त्यसअघि राम्चेकै स्कुलमा पढ्थें । म स्कुल नजिकैको होस्टेलमा बस्थें, तर त्यो होस्टेल बाढीले बगाएकाले अहिले देखिँदैन । म घरको एक्लो सन्तान हुँ । आमा सँगै हुनुहुन्छ, बुबा विदेशमा हुनुहुन्छ । बाढी आउने बेला स्कुलमै थिएँ । ट्युसन भर्खरै सकिएको थियो । हामी खाना खान जान लागेका थियौं । त्यतिकैमा बाढी आयो ।
सुरुमा सानो बाढी होला भन्ने सोचेका थियौं तर घर भत्किन थालेपछि तुरुन्तै भाग्यौं । स्कुलको पछाडिपट्टि रहेको जालीमा चढेर माथितिर भागेर ज्यान जोगायौं । हाम्रो कक्षा ८ को कोठा माथिल्लो तलामा थियो तर अहिले त्यहाँ केही पनि बाँकी छैन । हाम्रो कक्षामा २९ विद्यार्थी थिए । मेरो कक्षाका साथीहरू कोही पनि बाढीमा परेका छैनन्, सबै जना सम्पर्कमै हुनुहुन्छ ।
तर, साना बच्चाहरू बाढीमा परे । मेरो एक जना साथीको बहिनी पनि बाढीमा पर्नुभयो । बाढी आएपछि म अस्ति एक पटक यहाँ आएको थिएँ, तर हेर्न मन नलागेर फर्किएँ । आज फेरि यहाँ आएको छु, घर जाने बाटो नै यही हो, नआई भएन । आफू पढेको र बसेको ठाउँ यस्तो ध्वस्त भएको देख्दा नरमाइलो लागेको छ । अब के गर्ने भन्ने ठ्याक्कै थाहा छैन तर अब अर्कै स्कुलमा भर्ना भएर पढ्नुपर्छ होला ।
बाढी आउँदा म स्कुलमै थिएँ । स्कुलमा सहयोग गर्ने एक जना दिदीले जतिसक्दो छिटो भाग्न भन्नुभयो । भाग्दै गर्दा मलाई आमाको मात्रै सम्झना आइरह्यो । उहाँलाई बाढीमा गुमाउनुपर्यो । मलाई उहाँको धेरै याद आउँछ ।
त्यो घटनापछि मलाई राति सुत्न गाह्रो हुन्छ । म नुवाकोटको विदुर–१०, बेत्रावतीस्थित रामचन्द्र आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्थें । फेरि स्कुल जाने कि नजाने सोच्नै सकेको छैन । सरकारले भनेजस्तै पढ्नका लागि काठमाडौं सर्न पनि मन छैन । तर, म त्यही पुरानो स्कुलमा पनि जान चाहन्नँ । पहिले बसिरहेको ठाउँ खाल्टेमै फर्किन चाहन्छु ।
मलाई फुटबल खेल्न मन पर्छ । नेयमारले खेलेको तरिका र उसको स्टाइल धेरै मन पर्छ । मेरो मनपर्ने विषय नेपाली हो । भविष्यमा के बन्ने भन्ने मलाई अझै थाहा छैन ।
म पाँच सेकेन्डले मात्रै बाँचेकी हुँ जस्तो लाग्छ । सर्पजस्तै फुसफुसाउँदै ठूलो वेगमा खोला आएको थियो । आमा घरमै हुनुहुन्थ्यो र म भर्खरै स्कुलका लागि निस्किएकी थिएँ । काकीले मलाई ‘भाग, भाग’ भन्नुभएको थियो । तर, उहाँ नै अहिले हुनुहुन्न । बुबा तिरु गाउँमा हुनुहुन्थ्यो । उहाँलाई कहिले भेटें भन्ने पनि सम्झना छैन । धारापानीस्थित मामाघरमा १५ दिन बसें ।
अहिले मसँग बुबा मात्रै हुनुहुन्छ । मामाकी छोरी र म बिहानै उठ्छाैं, सबैका लागि मिलेर खाना पकाउँछौं । म स्कुल जान चाहन्छु तर कसैले हामीलाई केही भनेका छैनन् । टेन्टमा बसेको एक महिना भइसक्यो । म गुम्बामा बस्न काठमाडौं जान चाहन्नँ । सरकारले मेरो पुरानो स्कुल (रामचन्द्र आधारभूत विद्यालय) अर्कै सुरक्षित ठाउँमा बनाइदियोस् भन्ने चाहन्छु । बेत्रावतीमै भए पनि हुन्छ, हुन त त्यो ठाउँ पनि सुरक्षित छैन रे ।
राति सुत्ने बेलामा आमाको सबैभन्दा धेरै याद आउँछ । उहाँले तामाङ भाषामा बोलेको अनि मलाई गाली गरेको समेत सम्झिन्छु । सरकारले हामीलाई सुरक्षित बासस्थान र राम्रो स्कुलको व्यवस्था गरिदियोस् भन्ने चाहन्छु । पहिले पनि हाम्रो घर जस्तापाताकै थियो, फेरि त्यस्तै टहरा त चाहिँदैन ।
बाढी आउँदा म स्कुलको आधा बाटोनजिकै पुगिसकेकी थिएँ । कसैले केही भनेका थिएनन् । मैले आफैं बाढी आएको देखें र भाग्न थालें । बाढीले खुट्टा छुनै लागिसकेको थियो, म भागिरहें । म मात्रै बाँचे होला भन्ने सोचेकी थिएँ, तर पछाडि फर्केर हेर्दा अरू केही मान्छे पनि कुदिरहेका रहेछन् ।
मेरो परिवारका सबै जना ठीक हुनुहुन्छ । हामी शिविरमा बसेका छौं । बिहान/दिउँसो कति बजे खाना खाने वा पकाउने भन्ने केही थाहा हुँदैन । जब मान्छेहरूले ‘खाने बेला भयो’ भन्छन् अनि मिलेर खाना बनाउँछौं । दिउँसोको खाजामा चाउचाउ खाँदै आएका छौं ।
मेरो पुरानो स्कुल अझै छ। त्यो रसुवाको जिबजिबेस्थित नीलकण्ठ माध्यमिक विद्यालय हो । तर, म त्यहाँ फर्किन चाहन्नँ किनभने रसुवा सुरक्षित छैन भन्ने लाग्छ, जानै डर लाग्छ । हामीलाई राम्रो गरिन्छ भने बरु काठमाडौं जान तयार छु । तर, म कहिल्यै त्यहाँ गएकी छैन, त्यसैले केही थाहा नभएकाले हराइन्छ कि भन्ने डर लाग्छ । म अब कहाँ जाने हो र मेरो स्कुल अनि पढाइ के हुन्छ भन्ने जान्न चाहन्छु ।
पहिले मेरो सानो भाइ र तीन बहिनी थिए । उनीहरूलाई बाढीले बगाएर लग्यो । अहिले म, आमा र बुबा मात्रै छौं । बाढी आउँदा म स्कुल, रामचन्द्र आधारभूत विद्यालयमा थिएँ । स्कुलमा काम गर्ने एक जना दिदीले बाढी आयो भन्नुभएको थियो ।
मलाई अब पुरानो स्कुल जान मन छैन किनभने पढाइमा ध्यान दिन सक्दिनँ जस्तो लाग्छ । तर, अहिले बसिरहेकै ठाउँमा स्कुल भयो भने जान्छु । हामीलाई कसैले पनि अब काठमाडौं वा अन्त कतै नसारे हुन्थ्यो ।
मेरो परिवारमा आमा, बुबा, दुई दिदी, भाइ, भाउजू र दाइकी छोरी छन्। बाढी आउँदा स्कुल जान आँटेको थिएँ । मेरो स्कुलको नाम नीलकण्ठ माध्यमिक विद्यालय हो । त्यो स्कुल अहिले चलिरहेको छ कि छैन वा मेरा साथीहरू स्कुल जान थाले कि थालेनन्, थाहा छैन।
मलाई आमाले फोन गरेर ‘भाग’ भन्नुभयो । बाढीले हजुरबुबा, हजुरआमा अनि काकाका छोराछोरीलाई लग्यो । हामी सँगै बस्थ्यौं तर उहाँहरू भाग्न सक्नुभएन । भागिसकेपछि मैले बाढीले नयाँ पुल भत्काइरहेको देखेको थिएँ ।
मलाई सुत्न गाह्रो त हुँदैन तर राति हजुरबुबा–हजुरआमाको याद आउँछ । खासगरी हजुरआमाको, उहाँले मेरा लागि खाना पकाइदिनुहुन्थ्यो । मलाई भोक लाग्दा वा बिरामी पर्दा दुवै जनाले हेरचाह गर्नुहुन्थ्यो ।
अहिले आमाबुबाले खाना पकाउनुहुन्छ । यहाँ आउने मान्छेहरूले यही ठाउँमा पढाउन सहयोग गर्छौं भन्छन् तर अब पढ्ने कि नपढ्ने, मलाई नै थाहा छैन । मेरो मनपर्ने विषय नेपाली हो । गणित गाह्रो लाग्छ । केही बालबालिका काठमाडौं सरिसकेका छन् भन्ने सुनें । मेरा साथीहरू गए भने मात्र म जान्छु । म पुरानै ठाउँमा फर्किन चाहन्नँ किनभने त्यो सुरक्षित छैन । अहिलेका लागि भविष्यबारे केही सोचेको छैन ।
म रसुवाको खाल्टेस्थित नीलकण्ठ स्कुलमा कक्षा ८ मा पढ्थें । बाढी आउँदा बिहानको कोचिङ क्लासमा थिएँ । परिवारमा आमा, बुबा र म मात्रै छौं । दुई साना बहिनी थिए, एउटी ७ वर्षकी र अर्की १४ वर्षकी । उनीहरूलाई धेरै सम्झिन्छु । कान्छी बहिनीलाई बाथरुममा करेन्ट लागेर त्याे दिन घरमै थिई । अर्की बहिनी पनि उसलाई हेर्न स्कुल नगई घरमै बसेकी थिई । म मेरा साथीहरूलाई पनि धेरै सम्झिन्छु । मेरा आधा साथीहरूलाई बाढीले बगाएर लग्यो ।
मलाई फुटबल राम्रो मन पर्छ, रोनाल्डोले खेलेको राम्रो लाग्छ । तर, भविष्यमा के गर्ने भन्ने मलाई थाहा छैन । आमा–बुबाले मान्नुभयो भने म काठमाडौं गएर पढ्न तयार छु । एक्लै त जान्नँ । सरकारले पुरानै ठाउँमा स्कुल बनाइदिए हुन्थ्यो भन्ने लाग्छ ।
नीलकण्ठ माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्थें । पीपलटार आउनुअघि केही दिन रसुवामा मोहन आचार्यको घरमा बसें । त्यसपछि नभत्किएको एउटा स्कुलमा बसें । म मेरा टाढाका नातेदारहरूसँग एक्लै थिएँ । बाढीले गर्दा हामी सबै जना तितरबितर भयौं ।
आमाबुबा कामका लागि माथिल्लो गाउँमा बस्नुहुन्थ्यो । म भने पढ्नका लागि तल खाल्टेमा बस्थें। अहिले परिवारमा बुबा, आमा, ठूली दिदी र सानो भाइ हुनुहुन्छ। मैले दुई जना बहिनीहरू गुमाएँ। बाढी आउँदा उनीहरू घरमै थिए। आमाले बहिनीलाई फोन गरेर भन्नुभएको थियो तर ठूलो बाढी नआउला भन्ने सोचेर उनीहरू ओछ्यानमै पल्टिरहेका रहेछन्। त्यसैले उनीहरूले भाग्ने मौका नै पाएनछन् जस्तो लाग्छ । मैले बाढीमा आफ्ना दुई जना मिल्ने साथीहरू पनि गुमाएँ। राति उनीहरूलाई र बहिनीहरूलाई धेरै सम्झिन्छु ।
म काठमाडौं वा अरू कुनै पनि ठाउँमा सर्न चाहन्नँ । सरकारले हामीलाई यहीँ राखोस् र पुरानै ठाउँमा फिर्ता नपठाओस् । म परिवारको जतिसक्दो नजिक बस्न चाहन्छु।
भविष्यबारेमा केही सोचेकी छैन । अहिले त हामी खाने र सुत्ने मात्रै भइरहेको छ । सरकारले हामीलाई बाढी आउने ठाउँमा नभई सुरक्षित र राम्रो जमिनमा सानोतिनो घर बनाइदिए हुन्थ्यो । जुनसुकै बेला पनि फेरि बाढी आउन सक्छ भन्ने डर लागिरहन्छ ।
सुरुका दिनमा सुत्दा धेरै डर लाग्थ्यो । अहिले अलिअलि सजिलो हुँदै छ । स्कुल सम्झिँदाचाहिँ पढाइमा पछाडि परिसकें किभनेर चिन्ता लाग्छ । गाउँ बगाए पनि मेराे स्कुल बन्द भएको छैन, खुलिसक्यो रे । साथीहरू पढिरहेका होलान्, मचाहिँ यहाँ टेन्टमा छु ।
बाढी आउँदा बिहान ६:४५ देखि ९:३० सम्म चल्ने ट्युसन कक्षामा थिएँ। त्यसपछि खाना खान आफ्नो कोठामा गएँ । कसैले बाढी आउँछ भनेका थिएनन् । हामीले पनि त्यत्रो ठूलो बाढी आउँदैन होला भन्ने नै सोचेका थियौं । पाँच मिनेटसम्म त हामीले खोला बिस्तारै बगिरहेको मात्र देख्यौं ।
म भर्खरै खाना खान बसेकी मात्र थिएँ, माइलो ममीले बाढी आउँदै छ भन्नुभयो। म भागें, काकीले मलाई ढोकासम्म छाडिदिनुभयो र कागजपत्र लिन भित्र जानुभयो । म भागेर माथि जंगलतिर गएँ । म स्कुलकै ड्रेसमा थिएँ । खाना खाएर कपाल कोर्ने सोच्दै थिएँ, हातमा काइँयो बोकेरै भागेछु ।
बुबाका चार जना भाइहरू हुनुहुन्थ्यो । कान्छा काकाको पहिले नै नदी किनारमा सुतेका बेला निधन भइसकेको थियो । ठूलोबुबाले आफ्नो जेठो छोरा गुमाउनुभयो । माहिला काकाको सिङ्गो परिवार नै छैन । म कान्छा छोराकी छोरी हुँ । बाढीपछि मेरो पनि सानी बहिनी र हजुरआमा हुनुहुन्न ।
पहिले म ट्युसनका लागि बिहानै ब्युँझिन्थें । अहिले भने म बिहान र राति दुवै समय ढिलोसम्म सुत्छु । म कहिलेकाहीँ यहाँ दिदीहरूलाई भान्सामा सघाउँछु । मेरो निद्रा खलबलिएको छ । बाढीअघि काकीकी छोरी र बहिनीहरूसँग सुत्थें । अहिले एक्लै सुत्नुपर्छ । राति कस्ताे कस्ताे लाग्छ । उनीहरू तीन जनालाई धेरै सम्झिन्छु ।
बाढी आउनुअघि भविष्यबारे धेरै सोच्ने गर्थें । बाढीपछि भने यसबारे सोच्नै पाएकी छैन । पढ्न पाएकी छैन । मसँगै पढ्ने साथीहरूलाई काठमाडौं पठाइसकिएको छ । उनीहरूले पढ्न पनि थालिसके होलान् । म यहीँ छु, पढ्न पाएको छैन । काठमाडौं गएकाहरूले राम्रो गर्छन् होलाजस्तो लाग्छ । पढ्न नपाएकाले मेरो पढाइ बिग्रिएको छ । याे वर्ष एसईई दिने हो, कसरी पो दिने हो ! आमाले एसईईसम्म टाढा नपठाउने भन्दै हुनुहुन्छ ।
म अब खोलाको किनारतिर बस्न चाहन्नँ । सानो पोखरीकाे छेउछाउ बस्न पनि डर लाग्छ । त्रिशूली पनि पहिले त सानै थियो, पछि त्यत्रो ठूलो र विनाशकारी बन्यो । अचेल पानी पर्दा पनि मलाई सिरिङ्ग हुन्छ किनभने बाढीबाट भागेको समयको याद दिलाउँछ । म जतिसुकै छिटो भागे पनि त्यो मेरो पछाडि-पछाडि आइरहेको थियो । नदी कति ठूलो हुन सक्दो रहेछ भन्ने कुरा यस पटक थाहा भयाे ।
बाढी आउँदा म देवीघाटमा यत्तिकै बसिरहेको थिएँ । मेरो काकालाई कतैबाट फोन आयो र उहाँ भाग्न थाल्नुभयो । म पनि भागें । त्यसपछि बाढी एकदमै नजिक आयो । मेरा काकाहरू बिस्तारै भागिरहनुभएको थियो । म भने काकाको सानो छोरा (मेरो भाइ) लाई बोकेर एकदमै छिटो कुदें । भाग्दै गर्दा मेरो दिमाग पूरै शून्य भएको थियो ।
मेरो स्कुल खोलापारि छ । पुल भत्किएकाले करिब एक महिना भइसक्यो । म अब यो होल्डिङ सेन्टर नजिकै रहेको चन्द्रज्योति स्कुलमा पढ्न थालेकाे छु । आजै मात्र भर्ना भएँ, स्कुलले पैसा लिएन ।
मलाई काठमाडौं सर्ने हो कि भनेर मान्छेहरूले सोधेका थिए । तर, मैले नजाने भन्दिएँ । पुल बनेपछि म मेरै पुरानो स्कुलमा जान चाहन्छु । त्रिशूलीपारि मेरो घर त बग्यो तर त्यहाँ हजुरआमाको घर छ। म त्यहीँ बस्न चाहन्छु किनभने त्यो खोलाभन्दा टाढा र सुरक्षित छ ।
आजकाल म बिहानै ब्युँझिन्छु, हातमुख धुन्छु र चिया बनाउँछु । कहिलेकाहीँ मोबाइलमा गेम खेल्छु र साथीहरूसँग घुम्न जान्छु । यसरी नै दिन बिताइरहेकाे छु । सरकारले जतिसक्दो छिटो पुल बनाइदियोस्।
बाढी आउँदा स्कुल (रणभुवनेश्वरी) मै थिएँ । मेरा दिदीहरू मलाई लिन आउनुभयो र हामी घर गयौं । मैले स्कुलको ड्रेस फेरें अनि त्यत्तिकैमा सबै जना ‘बाढी आयो’ भन्दै कराउन थाले । त्यसपछि हामी सबै जना देवीघाटबाट भागेर पीपलटारतिर गयौं । हाम्राे तीनतले घर अहिले छैन।
आफ्नै आँखाअगाडि बाढी देख्दा मलाई लाग्यो- अब त देवीघाट नै डुब्यो र मेरो घर पनि सकियो ! मेरा सबै सम्झनाहरू अब हराइसके । मैले मेरा साइकलहरू जोगाउन सकेको भए हुन्थ्यो भनेर चुकचुक हुन्छ ।
अहिलेसम्म स्कुल गएको छैन । अब चन्द्रज्योति स्कुल जान्छु । त्यहाँ मेरो कोही साथीहरू छैनन् तर त्यसले खासै फरक पर्दैन । मलाई अंग्रेजी विषय मन पर्छ भने सामाजिक अध्ययन झ्याउ लाग्छ।
आफ्नै अगाडि बाढी देखे पनि मेरो निद्रा बिग्रिएको छैन। अहिले मसँग मेरो हजुरबुबा, हजुरआमा, काकी, आमा र तीन जना दिदीबहिनीहरू हुनुहुन्छ। म टिकटक हेरेर दिन बिताउँछु। पहिले म फ्रिफायर खेल्थें, भविष्यमा म गेमर बन्न चाहन्छु ।
म देवीघाटमा कक्षा १२ मा पढ्दै थिएँ । बोर्ड परीक्षा नजिकिँदै छ, धेरै चिन्तित छु । बाढी आएदेखि कलेज गएकी छैन, त्यसैले तनाव भएको छ ।
बाढी आएको दिन, मेरी आमा मन्दिरमा हुनुहुन्थ्यो, त्यतिबेलै उहाँले मलाई फोन गर्नुभयो । सधैं कलेज अलि ढिलो जाने भएकाले आफ्नै कोठामा थिएँ । मेरो भाइ भने अघि नै स्कुल गइसकेको थियो । आमाले मलाई ‘चार घण्टामा बाढी आउँदै छ, त्यसैले गएर भाइलाई स्कुलबाट लिएर आऊ र हामी माथिल्लो डाँडामा गएर सँगै बसौं’ भन्नुभयो । मेरी सानी बहिनी पनि बिहानै कलेज गइसकेकी थिई ।
भाइलाई स्कुलबाट फर्काएर ल्याएँ र स्कुल ड्रेस भर्खरै फेरिदिएको मात्र के थिएँ, बजारमुनिका भवनहरू ढल्न थालिसकेका रहेछन् । त्यतिबेला भूकम्प आएजस्तै भएकाे थियो । बाढी हाम्रै घरको पछाडि पुगिसकेको थियो । समय खेर नफाली हामी माथितिर भागेर ज्यान जोगाउन सफल भयौं ।
बाढी आएको दुई-तीन दिनसम्म मलाई सुत्न गाह्रो भयो । अलर्ट म्यासेजहरू आइरहने भएकाले फेरि बाढी आउँछ कि भन्ने डर लागिरहन्थ्यो । अहिले भने सुत्न सक्छु ।
खोलापारि जानुपर्ने भएकाले कलेज अहिले टाढा भएको छ । म त्यहाँ कसरी पुग्न सक्छु भनेर सोचिरहेकी छु । मेरा साथीहरू नियमित कलेज गइरहेका छन् । सायद म मात्रै छुटेकी छु । अरू सबै जना पारिपट्टिका हुन् ।
मेरो कलेजका शिक्षकहरूले ‘जहाँ पढे पनि हुन्छ’ भन्नुभएको छ तर यतातिरका कलेजमा मेरो विषय मिल्दैन । भर्ना हुनुअघि नै मैले सबै कलेजहरू चेक गरिसकेकी थिएँ । त्यसैले मसँग कि त पारिपट्टि जाने कि त काठमाडौं जाने मात्र विकल्प छ । तर, म मेरो परिवारलाई छाडेर र आफ्नो आधा पढाइ छाडेर काठमाडौं जान चाहन्नँ ।
साथीहरूले पढ्न पाइरहेका छन् तर मैले पाएकी छैन । मलाई धेरै घाटा भइरहेकाे छ । अभिभावकले पारिपट्टि कोठा खोजिरहनुभएकाले म अर्को महिनादेखि कलेज जान्छु होला । मैले यसबारे कलेजसँग पनि कुरा गरेकी थिएँ । उहाँहरूले मलाई साथीहरूको घरमा बस्न र पुल बन्न तीन महिना लाग्ने भन्नुभयो । म साथीको घरमा त्यति लामो समय कसरी बस्न सक्छु र ?
म सरकारलाई भन्न चाहन्छु- जतिसक्दो छिटो सडक र पुल बनाइदिनुस्, म छिट्टै कलेज जान पाऊँ, मेरो बोर्ड परीक्षा एकदमै नजिक आइसक्यो ।
नोट : हामीले १३ वर्षभन्दा माथि उमेरका बालबालिकासँग मात्रै कुराकानी गरेका छौं । उनीहरूका अभिभावक वा केयर टेकरहरूसँग अनुमति लिएर कुराकानी गरिएको थियो । तस्बिर, अडियो, भिडियो रेकर्डिङका लागि अभिभावक/केयर टेकरसँग र बालबालिका दुवैसँग मौखिक अनुमति लिइएको छ ।