कांग्रेसको १५औं महाधिवेशन गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। महाधिवेशनबाट सभापतिसहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
काठमाडौँ — नेपाली कांग्रेसले १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अध्यावधिक गराउन आवश्यक कागजातसहित सोमबार निर्वाचन आयोगमा निवेदन दिएको छ।
महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सहमहामन्त्री मनोजमणि आचार्य, प्रकाश रसाइली स्नेही, प्रतिमा गौतम र योगेन्द्र चौधरी तथा निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता सीताराम केसीसहितको टोली आयोग पुगेको थियो। टोलीले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र सचिव कृष्णप्रसाद काप्रीलाई निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण र आवश्यक कागजात बुझाएको हो।
सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार आयोगका प्रमुख आयुक्त कार्कीले प्राप्त कागजात पूर्ण भए–नभएको जाँच गरी प्रक्रिया अघि बढाउने बताएका थिए।
'आवश्यक कागजात पुगे–नपुगेको हेरेर अध्यावधिकको प्रक्रिया अघि बढाउँछौँ भन्ने जानकारी प्रमुख आयुक्तले दिनुभएको छ,' स्नेहीले भने।
कांग्रेसको १५औं महाधिवेशन गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। महाधिवेशनबाट सभापतिसहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। निर्वाचित मध्ये चार सदस्यहरू विभिन्न आरोपमा अनुसन्धानको दायरामा रहेकाले उनीहरूको शपथ भएको छैन।
राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि त्यसको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार कांग्रेसले निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण आयोगमा बुझाएको हो।