कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि चितवनलाई ब्याटिङको निम्तो दिएका छन्, जबकि सिकन्दर राजा चितवनको कप्तानीमा फर्किएका छन्।
काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध पहिला फिल्डिङ रोजेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि चितवनलाई पहिला ब्याटिङका लागि बोलाएका हुन् ।
चितवन राइनोजबाट सिकन्दर राजाले कप्तानी गरिरहेका छन् । अघिल्लो खेलमा रवि बोपाराले चितवनको कप्तानी गरेका थिए । जिम्बावेबाट खेलिरहेका कारण राजा भने त्यो खेलमा थिएनन् । अघिल्ला दुई सिजन कप्तानी गरेका कुशल मल्ल सोमबारको खेलमा पनि प्लेइङ ११ मा रहेका छैनन् ।
सुदूरपश्चिमले अघिल्लो खेल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ । थारिन्दु रत्नायकेको स्थानमा ब्रान्डन म्याकमुलेन टोलीमा फर्किएका छन् । विराटनगर किंग्सविरुद्धको अघिल्लो खेलमा रत्नायकेले आफ्नो एकमात्र ओभरमा ३५ रन खर्चेका थिए । उक्त ओभरमा सेहन जयसूर्याले ५ छक्का प्रहार गरेका थिए ।
चितवनले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको थियो । तर, लुम्बिनी लायन्ससँगको टोलीको दोस्रो खेल वर्षाका कारण टस पनि हुन नपाई रद्द भएको थियो ।
सुदूरपश्चिम ३ खेलमा २ हार र १ जितका साथ ८ टोली सहभागी प्रतियोगिताको अंक तालिकामा सातौँ स्थानमा छ । पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको थियो । तर, तेस्रो खेलमा टोली विराटनगर किंग्ससँग ३५ रनले पराजित भएको थियो ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।