३ कारोबार दिनदेखि २७०० विन्दु परीक्षण गरिरहेको नेप्से शुक्रबार २७१३ सम्म पुगे पनि त्यहाँ टिक्न नसकेपछि नाफा सुरक्षित गर्ने क्रम बढेको छ ।
काठमाडौं — सेयर बजार परिसूचक नेप्से २७ सय विन्दुको प्रतिरोध परीक्षणमा देखिएसँगै लगानीकर्ताहरू नाफा सुरक्षित गर्न लागेका छन् । ३ कारोबार दिनदेखि नेप्से परिसूचकले २७०० विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको हो । १२ कात्तिकदेखि नेप्सेले यो तह पार पर्ने प्रयास गरिरहेको छ । यसबीच नेप्से गत शुक्रबार २७१३ विन्दुसम्म पुगे पनि अडिन भने सकेन ।
प्रायः बजारमा सय अंकहरूलाई मनोवैज्ञानिक तह मानिन्छ । बढ्ने वा घट्ने दुवै क्रममा यो तहमा बजार केही सम्हालिन्छ । २२ असोजमा २५७५ बाट बढ्न थालेको नेप्से एकाध दिनबाहेक लगातर बढिरहेको थियो । नेप्सेले यो अवधिमा करिब १२५ अंक जोडेको छ ।
यो क्रममा सेयरको मूल्य अन्तरबाट राम्रो प्रतिफल समेत भएको देखिएकोले पनि बजारमा लगानीकर्ताहरू नाफा सुरक्षित गर्न लागिरहेको ब्रोकरहरू बताउँछन् ।
उदाहरणको रूपमा घलेम्दी हाइड्रोपावरलाई नै लिन सकिन्छ । घलेम्दीको मूल्य १३ असोजमा २५३ रूपैयाँमा कारोबार भइरहेको थियो । सोमबार यो ३३५ रूपैयाँमा कारोबार भएको छ । लगातार बढेको यसको मूल्यमा सोमबार सामान्य सुधार आएको हो । यसको सेयर मूल्य करिब ३ रूपैयाँले बढेको हो । त्यस्तै, बैंकिङ समूह पनि एक वर्षयताकै उच्च विन्दुमा पुगेर बढ्न रोकिएको छ । यसले १६१८ विन्दुमा प्रतिरोध पाएको हो । सोमबार भने यो समूह एक प्रतिशतले घटेर १५९३ विन्दुमा आएको छ ।