चक्रवात ‘अर्णव’को प्रभावले रोकिएका पर्यटक थोराङ्ला पास र तिलिचो तालतर्फ लागेपछि आइतबारदेखि पदमार्गमा चहलपहल बढेको छ।
लमजुङ — चक्रवात ‘अर्णव’को प्रभावले अवरुद्ध चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला पास र तिलिचो ताल जाने पदमार्ग खुलेसँगै मनाङमा पर्यटकको चहलपहल बढेको छ। मौसममा सुधार आएपछि केही दिनदेखि माथिल्लो मनाङमा रोकिएका पर्यटक गन्तव्यतर्फ लागेका छन्।
कात्तिक १२, १३ र १४ गते उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा भएपछि सुरक्षालाई ध्यानमा राख्दै माथिल्लो क्षेत्रका पदमार्गमा पर्यटकको आवागमन रोकिएको थियो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङले बिहीबारदेखि पर्यटकलाई माथिल्लो क्षेत्रतर्फ जान रोक लगाएको थियो।
शनिबार अपराह्नदेखि मौसममा सुधार आएपछि आइतबारबाट पर्यटकलाई पदयात्रामा जान अनुमति दिइएको हो। आइतबार बिहान १० बजेसम्म मात्रै ४ सय ३६ पर्यटक तिलिचो बेसक्याम्प र थोराङ्ला पासतर्फ प्रस्थान गरेको एक्याप मनाङले जनाएको छ।
एक्याप इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार चक्रवातको प्रभाव हटेसँगै मनाङका सबै पदमार्ग खुला भएका छन्। मनाङ भ्रमणका लागि अहिले मुख्य पर्यटकीय सिजन भएकाले प्राकृतिक दृश्य, मौसम र तापक्रमका हिसाबले यो समय उपयुक्त रहेको उनले बताए। उच्च क्षेत्रमा हिउँको अनुभवसमेत गर्न सकिने भएकाले मनाङ भ्रमणको योजना बनाइरहेका पर्यटकलाई उनले भ्रमणमा आउन आग्रह गरेका छन्।
तिलिचो ताल जाने खाङ्सार, श्रीखर्क र बेसक्याम्प क्षेत्रमा पनि पर्यटकको चहलपहल बढेको छ। खाङ्सारस्थित माया होटल सञ्चालक छिरिङ गुरुङका अनुसार मौसम खुलेपछि विदेशी पर्यटकसँगै नेपाली पर्यटक पनि आउन थालेका छन्। केही पर्यटक मोटरसाइकलमा समेत खाङ्सार पुग्न थालेको उनले बताइन्।
‘केही दिनअघि मौसम निकै खराब थियो। अलिअलि हिउँ पनि परेको थियो। अहिले मौसम सफा भएको छ। तिलिचो जाने पर्यटक आउन थालेका छन्। पर्यटकहरू खुलेको मौसममा रमाउन थालेका छन्,’ उनले भनिन्।
थोराङ्ला पासतर्फ जाने गुन्साङ, याकखर्क र लेदर क्षेत्रमा पनि पर्यटकको आवागमन बढ्न थालेको छ। लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्गमा अहिले पर्यटकीय गतिविधि बढ्ने मुख्य समय हो।
मौसम प्रतिकूल बनेपछि रातको समयमा बन्द गरिएको बेंसीसहर–चामे सडक पनि पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार मौसममा सुधार आएपछि शनिबारदेखि रातको समयमा समेत सवारीसाधन सञ्चालन गर्न खुला गरिएको छ।
प्रतिकूल मौसम र पदमार्ग तथा सडकमा देखिएका अवरोधका बाबजुद अक्टोबर २०२६ मा ९१ देशका ७ हजार ८ सय ८८ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन्। एक्याप मनाङको तथ्यांकअनुसार तीमध्ये सार्क राष्ट्रका ७ सय ८७ र अन्य देशका ७ हजार १ सय १ पर्यटक छन्। कुल पर्यटकमध्ये ४ हजार ८ सय २६ पुरुष, ३ हजार ५९ महिला र तीन जना अन्य छन्।
पदमार्ग र सडक दुवै सञ्चालनमा आएसँगै चक्रीय अन्नपूर्ण पदमार्गको पर्यटन गतिविधि पुनः लयमा फर्किन थालेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए।
आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।