आज हुने खेलका लागि भने मौसम खुलेको छ । भिजेको मैदानलाई पारिलो घामले पूर्ण रूपमा सुकाइसकेको छ । खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा साँझ ५ बजे सुरु हुनेछ ।
काठमाडौँ — नेपाल प्रिमियर लिग क्रिकेटमा आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुँदै छ । शनिबार चितवन राइनोज र लुम्बिनी लायन्सबीचको पहिलो खेल वर्षाले रद्द भएको थियो भने विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीचको खेल ढिलो गरी राति खेलाइएको थियो ।
आज हुने खेलका लागि भने मौसम खुलेको छ । पारिलो घामले भिजेको मैदानलाई पूर्ण रूपमा सुकाइसकेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा यो खेल साँझ ५ बजे सुरु हुनेछ । निर्धारित समयमै खेल हुने निश्चित रहेको छ । शनिबारको खेलमा चोभार एन्डमा रहेको एउटा फ्लड लाइटमा समयमा आएको थियो । आजको खेलमा त्यो समस्या समाधान भई फ्लड लाइट बल्ने प्रतियोगिताका संयोजक एवं नेपाल क्रिकेट संघका सदस्य धीरेन्द्र साउदले जनाए ।
जनकपुरको यो तेस्रो र पोखराको दोस्रो खेल हो । पहिलो खेलमा कर्णाली याक्सँग १९ रनले पराजित जनकपुरले दोस्रो खेलमा काठमान्डु गोर्खाजमाथि ८ विकेटको प्रभावशाली विजय हात पारेको थियो । तर जनकपुर इफ्तिखार अहमद र हुनेन साहबिनै खेल्नेछ । पाकिस्तान क्रिकेट बोर्डले एनओसी जारी नगरेको र तोकिएको २५ हजार डलर दस्तुर जनकपुर बोल्ट्सले नतिर्ने भएपछि यी दुई पाकिस्तानी खेलाडी फर्किसकेका छन् ।
पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । पोखराका कप्तान कुशल भुर्तेलसहितका खेलाडीलाई ठूलो प्रदर्शन देखाउनु पर्ने दबाब रहेको छ ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।