हेलिकप्टरबाट लगेको राहत अपर्याप्त, बाटो नभएपछि ढुवानी हुन नसक्दा बाढी प्रभावित बस्तीमा नुनतेलको अभाव देखिन थाल्यो। बाढीले घर बगाएकालाई पकाउने भाँडाकुँडाको पनि अभाव।
गोरखा — चुमनुब्री–३ पैयुका मंगल गुरुङको घर असोज २५ को बुढीगण्डकी बाढीले बगाएपछि उनी गाउँमाथिको पाखामा छिमेकीको घरसँगै टेन्ट टाँगेर बसेका छन्। पहिलो चरणमा हेलिकप्टरबाट पुगेको राहत उनले धेरथोर पाएका छन्, तर उनलाई पकाउने भाँडाको अभाव छ। चम्चासमेत नभेटिने गरी उनको घरसहित सबै सामग्री बगाएको छ। राहतमा खाद्यान्न र लत्ताकपडा आए पनि पकाउने भाँडाकुँडा नआउँदा उनी बिलखबन्दमा छन्।
उनीजस्तै अधिकांश प्रभावितलाई पकाउने भाँडाको अभाव देखिएको चुमनुब्री–३ का वडाध्यक्ष रामकुमार गुरुङले बताए। राहतमा भाँडाकुँडा पनि पठाउन उनले आग्रह गरेका छन्। बाढीले घर बगाएका स्थानीयलाई प्राथमिकतामा राखेर हेलिकप्टरमार्फत राहत वितरण गरिएको पनि उनले बताए।
‘तर हेलिकप्टरबाट निकै थोरै सामग्री आउँदो रहेछ, यहाँ आवश्यकता धेरै छ,’ उनले भने, ‘खच्चड हिँड्ने बाटो पनि छैन। घरमा अन्न भएकालाई केही दिन पुग्ला, घर नै बगाएकालाई हेलिकप्टरबाट ल्याएको राहतले दुई–चार दिनभन्दा पुग्दैन।’
चुमनुब्री–३ मा मात्रै ३० भन्दा बढी घरधुरी बगेका छन्। पहिलो चरणमा चामल, तेल, चिउरा, दाललगायत खाद्यान्न तथा त्रिपाल र लत्ताकपडा राहतस्वरूप आएको स्थानीयले बताए। चुमनुब्री र धार्चे गाउँपालिकाका तीनवटा वडा पुग्ने सडक खोर्लाबेँसीमा बुढीगण्डकीले कटान गरेको छ। उत्तरी क्षेत्र पुग्ने एक मात्र लार्के सडकको खोर्लाबेँसीदेखि सल्लेरीसम्म दर्जनभन्दा बढी ठाउँमा बुढीगण्डकीले कटान गर्दा आवतजावत ठप्प बनेको हो।
बाटो नहुँदा हेलिकप्टरबाट खाद्यान्नलगायत सामग्री ल्याउनुपर्ने बाध्यता रहेको चुमनुब्रीका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले पनि बताए। ‘आएका राहत धेरै बाँडिसक्यौँ,’ उनले भने, ‘बाटो नहुँदा भनेजसरी राहत आउन सकेन।’
पहिलो चरणमा बाढीपछि फसेकाहरूको उद्धारलाई प्राथमिकता दिइएको उनले बताए। चुमनुब्री क्षेत्रमा फसेका स्थानीय र पर्यटकको उद्धारलाई प्राथमिकता दिइएको थियो। दसैँ बिदा भएपछि घर फर्कनेको भीड लागेपछि आरुघाटबाट उत्तरी क्षेत्र पुग्ने स्थानीयलाई पनि हेलिकप्टरमार्फत नै लगिएको थियो। विद्यालय बिदा भएपछि गाउँ जान लागेका बालबालिका र स्थानीयलाई पनि हेलिकप्टरमार्फत सम्बन्धित ठाउँमा पुर्याइएको चुमनुब्री–३ का रमेश गुरुङले बताए।
बाढी प्रभावित क्षेत्रमा पर्याप्त मात्रामा राहत पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको दाबी छ।
घर बगाएका प्रभावितलाई राहत वितरण गरिए पनि बाटो नभएपछि आवतजावत ठप्प बनेका गाउँमा खाद्यान्नको अभाव देखिन थालेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए। धार्चे र चुमनुब्रीका अधिकांश गाउँ पुग्ने बाटो बाढीपछि अवरुद्ध छ। बाटो नहुँदा स्थानीयले उपभोग्य सामग्री ढुवानी गर्न सकेका छैनन्। सामग्री ढुवानी हुन नसक्दा उत्तरी क्षेत्रका बस्तीमा नुन र तेलको अभाव देखिन थालेको हो।
‘केरौँजा बेँसी, हुल्चोकका मान्छे अतालिन थालेका छन्,’ उनले भने, ‘अन्न केही भए पनि नुन सकियो, तेल सकियो भनेर आज कराइरहेका छन्।’ घर नबगाएका स्थानीय झनै समस्यामा पर्दै गएको उनले बताए।
‘खच्चड जाने बाटो पनि छैन, नुनतेल पनि कसरी पठाउने? समस्या थपिँदै गयो,’ उनले भने।
हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।