रेडक्रस जिल्ला शाखाको व्यवस्थापन तथा प्रशासन र दशरथचन्द नगरपालिकाको सहयोगमा गत मंसिरदेखि सेवा सञ्चालन भएपछि बिरामीलाई रगत जुटाउन सहज भएको छ।
बैतडी — जिल्ला अस्पताल बैतडीमा मिनी ब्लड बैंक सञ्चालनमा आएपछि रगत आवश्यक पर्ने बिरामीलाई सहज भएको छ।
ब्लड बैंक स्थापना हुनुअघि अस्पतालमा उपचारका लागि आउने बिरामीलाई रगत चाहिँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग सहयोग माग्नुपर्ने बाध्यता थियो। आफन्त वा अन्य व्यक्तिबाट रगत जुटाउन नसके बिरामीलाई रेफर गर्नुपर्ने अवस्था थियो।
गत वर्षको मंसिरदेखि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीको व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालय र दशरथचन्द नगरपालिकाको समन्वय र सहयोगमा जिल्ला अस्पतालमा मिनी ब्लड बैंक सञ्चालनमा ल्याइएको हो। त्यसयता रगत अभावका कारण बिरामी र तिनका आफन्तले भोग्नुपर्ने सास्ती कम भएको छ।
जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा नहुँदा दुर्गम क्षेत्रबाट उपचारका लागि आएका बिरामीका आफन्त रगत खोज्न भौंतारिनुपर्ने अवस्थामा थिए। आफन्त तथा अन्य व्यक्तिबाट रगत जुटाउन नसके सेना र प्रहरीका कार्यालय धाउनुपर्ने र त्यहाँबाट पनि व्यवस्था हुन नसके बिरामीलाई डडेल्धुरा रेफर गर्नुपर्ने बाध्यता रहेको तत्कालीन अस्पताल व्यवस्थापन समिति पूर्वअध्यक्ष रमेश भण्डारीले बताए।
ब्लड बैंक स्थापना हुनुअघि आफ्ना आफन्त बिरामी हुँदा पटक–पटक नेपाली सेना र नेपाल प्रहरीलाई अनुरोध गरेर रगतको व्यवस्था गर्नुपरेको सेवाग्राही निर्मला टेरले बताइन्। अहिले अस्पतालमै मिनी ब्लड बैंक सञ्चालनमा आएपछि रगत व्यवस्थापन सहज भएको उनको भनाइ छ।
त्यतिबेला जनचेतनाको कमी र रक्तदान गर्दा शारीरिक रूपमा कमजोर भइन्छ भन्ने अन्धविश्वासका कारण सर्वसाधारण रगत दिन हिचकिचाउने गरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिष पन्तले बताए। अहिले भने त्यस्तो अन्धविश्वास हट्दै गएको र सर्वसाधारण आफैं अस्पताल आएर रक्तदान गर्न थालेको उनले जानकारी दिए।
अहिले बिरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउन मिनी ब्लड बैंकले सहयोग गरिरहेको ल्याब असिस्टेन्ट गंगा जोशीले बताइन्। उनका अनुसार मिनी ब्लड बैंक सञ्चालनमा आएदेखि हालसम्म ७३ जनाले रक्तदान गरेका छन्। उनीहरूबाट संकलित ७३ युनिट रगतमध्ये ५२ जना बिरामीलाई ६० युनिट प्रयोग गरिएको छ। अहिले मिनी ब्लड बैंकमा १३ युनिट रगत मौज्दात छ। रक्तदानबाट संकलित रगत ३५ दिनभित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ। उक्त अवधिमा प्रयोग हुन नसके रगतको म्याद सकिने ल्याब असिस्टेन्ट जोशीले बताइन्।
मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।