खोटाङमा ‘दसैं–तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत दसैंमा चार दिन र तिहारमा तीन दिन घरदेखि माइतीसम्म र माइतीबाट घरसम्म निःशुल्क बाइक सेवा दिइनेछ ।
खोटाङ — जिल्लामा ‘दसैं–तिहार, चेलीलाई उपहार’ अभियान सुरु गरिएको छ । अभावमा गुज्रिरहेका चेलीहरूलाई घरदेखि माइतीसम्म र माइतीबाट घरसम्म निःशुल्क रूपमा बाइक सेवा उपलब्ध गराउने उद्देश्यले मंगलबारदेखि उक्त अभियान सुरु गरिएको हो ।
अभियानको पहिलो दिन करिब ५० जनाभन्दा बढीले सेवा पाएको अभियानका सचिवालय प्रमुख निराजन ढकालले बताए । ‘अभियानको पहिलो दिन ५० जनाभन्दा बढी चेलीहरूलाई निःशुल्क सेवा दिएका छौँ,’ ढकालले भने, ‘अरू ३ दिन कात्तिक ६ गतेसम्म यो अभियान सञ्चालन गरिने छ ।’
निःशुल्क सेवा पाएपछि सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट माइती भोजपुरसम्म निःशुल्क रूपमा सेवा पाएपछि रनमायाँ तामाङले खुसी व्यक्त गरिन् । ‘मलाई साह्रै खुसी लागेको छ, उहाँहरूलाई धेरै–धेरै धन्यवाद छ,’ उनले भनिन् । त्यस्तै, निःशुल्क रूपमा माइतीसम्म पुग्न पाएपछि आफूलाई खुसी लागेको रावाबेसी गाउँपालिका–२ खार्पा रुभुङकी रेस्मा राईले सुनाइन् ।
चेलीहरूलाई सेवा दिन पाउँदा खुसी लागेको राइडर भविन्द्र राईले बताए । चेलीहरूलाई सेवा दिनका लागि स्वतःस्फूर्त रूपमा ३५ जना राइडर खटिएका छन् । दसैंको अवसरमा कात्तिक ६ गतेसम्म अभियान सञ्चालन गरिने अभियानका संयोजक सञ्जयकुमार राईले बताए । तिहारको अवसरमा पनि कात्तिक २४, २५ र २६ गते अभियान सञ्चालन गरिने राईले सुनाए । ‘अभावमा गुज्रिरहेका चेलीहरूलाई निःशुल्क सेवा दिन दसैंमा ४ दिन र तिहारमा ३ दिन सेवा दिने योजना बनाइएको छ,’ राईले भने, ‘युवाहरूले सिर्जनशील काममा योगदान गर्नुपर्छ भन्ने धारणा विकास होस् भनेर पनि यो अभियान आयोजना गरिएको हो ।’
यो अभियान विगत दुई वर्षदेखि सञ्चालन गरिँदै आएको छ । गत वर्ष ७ सय ५० जना र अघिल्लो वर्ष ५ सय जना चेलीहरूलाई घर–माइती, माइती–घरसम्मको सेवा दिइएको राईले सुनाएका छन् ।
डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।