डा किसान खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारको कार्यशैली, पत्रकार पक्राउ प्रकरण र पार्टीका विभिन्न गतिविधिबारे प्रश्नैप्रश्न गरेका छन्।
खत्रीले सामाजिक सञ्जालमार्फत लामिछानेलाई लोकतन्त्रको अर्थ भाषणमा मात्र नभई व्यवहारमा देखाउन आग्रह गर्दै प्रश्न गरेका हुन्। उनले सरकारको निर्देशनमा पत्रकार पक्राउ गरिएको आरोप लगाउँदै यस विषयमा लामिछाने किन मौन बसेको भन्दै असन्तुष्टि समेत प्रकट गरे।
‘डेमोक्रेसी भनेको के हो? एक्काइसौँ शताब्दीमा लोकतन्त्र बोलीमा हुनुपर्ने हो कि व्यवहारमा?’ खत्रीले प्रश्न गरेका छन्। उनले सरकारका व्यक्तिहरूकै निर्देशनमा बालेन्द्र शाहको समूहबाट पत्रकारहरूलाई पक्राउ गरिएको दाबी गर्दै यसबारे स्पष्ट हुन कठिन नहुने बताएका छन्।
खत्रीले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ को संज्ञा दिँदै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने वा सच्याउनुपर्ने बताएका छन्। सभामुख डीपी अर्याल र ठूलो दलको सभापतिको हैसियतमा लामिछानेले यस विषयमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनको माग समेत गरेका छन्।
उनले खगेन्द्र सुनारलाई पार्टीमा राखिरहनुको औचित्यमाथि पनि प्रश्न उठाएका छन्। साथै, अन्य व्यक्तिहरूको बिचौलियासँगको सम्बन्ध र उठबसबारे पार्टीले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
खत्रीले पार्टीमा आबद्ध व्यक्तिहरूको आचरण, क्षमता र राजनीतिक संस्कारबारे पनि आलोचना गर्दै विभिन्न पृष्ठभूमिका व्यक्तिहरूलाई एकत्रित गर्दैमा लोकतन्त्र बलियो नहुने उनको तर्क छ। पार्टीले लोकतान्त्रिक मूल्य, नैतिकता र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
यसैगरी, उनले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिबारे पनि प्रश्न उठाएका छन्। उक्त अभिव्यक्तिका विषयमा पार्टीको आधिकारिक धारणा के हो भन्ने स्पष्ट पार्न उनले लामिछानेसँग माग गरेका छन्।
खत्रीले आनी छोइङ डोल्मालाई वंशजका आधारमा नागरिकता दिने विषयमा सरकारको धारणा के छ र त्यससम्बन्धी नियुक्ति कसरी भयो भन्ने प्रश्नसमेत उठाएका छन्।
प्रकाशित: १५ कार्तिक २०८३ १०:५८ आइतबार