रवि लामिछानेले भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ‘राहत रकम’ दिने कुरा उठाइरहँदा मलाई आमिर खानको फिल्म ‘पिपली लाइभ’ झल्झली याद आयो । सर्वसाधारणको जीवन भन्दा मृत्यु कसरी मूल्यवान बनाइदिन्छन् ? गरिबको नियतिमाथि राजनीतिले कति रसिलो खेल खेल्छन् ? कसरी उनीहरूको बाध्यतालाई आफ्नो लोकप्रियतामा बदल्छन् ? फिल्मले एकदमै चोटिलो ढंगले यही प्रश्नको उत्खनन गर्छ।
हचुवाको भरमा गरिने राजनीतिक निर्णयहरूले गरिब सर्वसाधारणको शरीरमा अक्सिजन भरिदिन्छन् कि रक्तचाप बढाउँछन् ?
फिल्म हेरिरहँदा मनलाई यस्तै उथलपुथलले अशान्त बनाइरहन्छ । सन् २०१० मा प्रदर्शनमा आएको यो फिल्म हामीले गोपीकृष्ण हलमा पुगेर हेरेका थियौँ । फिल्म केवल मनोरञ्जन मात्र होइन, एउटा अभियान पनि हो । यो फिल्मले गरिब किसानको पक्षमा वकालत गरिरहँदा त्यस्तै लागेको थियो । दृश्यभाषाको यति शक्तिशाली माध्यमले राष्ट्रिय योजनाहरूमा केही प्रभाव पार्छ भन्ने लागेको थियो । तर आज जुग बित्यो, संसार उस्तै छ । सर्वसाधारणको दुःख उस्तै छ । खेल उस्तै छ, खेलाडी उस्तै छन् ।
फिल्मले प्रदूषित राजनीतिलाई मात्र होइन, अर्काको पीडालाई मरमसला बनाउने मिडियालाई पनि निकै चोटिलो झापड हानेको छ ।
भारतको पिपली भन्ने एउटा गाउँ छ । त्यहाँ दुई किसान दाजुभाइ बस्छन् । उनीहरूकी आमा रोगले थलिएकी छन् । दुई लालाबाला भोकले निचोरिएका छन् । अनि किसान दाजुभाइ ? उनीहरू कहिल्यै नसकिने दुःख, अभाव र ऋणले थिचिएका छन् ।
खेतीपातीबाट गुजारा गर्न गाह्रो भएपछि उनीहरूले बैंकबाट मामुली ऋण लिएका हुन्छन् । जब ऋणभार बढ्दै जान्छ, उनीहरू त्यसको साँवा–ब्याज तिर्न असमर्थ हुन्छन् । अब बैंकले सूचना जारी गर्छ, ‘तिमीहरूले ऋण तिर्न सकेनौ, भएको घर र जग्गा लिलाम हुनेछ ।’
यति ठूलो आपत् आइलाग्छ भनेर उनीहरूले कहिल्यै सोचेका थिएनन् । यदि घर र भएको थोरै जग्गा नै लिलाम भए कहाँ जाने ? के खाने ? कसलाई गुहार माग्ने ? रोगी आमालाई कहाँ लगेर थन्क्याउने ? भोका छोराछोरीलाई कहाँ लगेर छाडिदिने ?
उनीहरूको त्यो सानो झुपडीभित्र तनावको ठूलो आँधी चल्छ । उनीहरूलाई रातमा निद्रा लाग्दैन । अन्ततः अनिदो आँखा लिएर उनीहरू स्थानीय नेतालाई भेट्न पुग्छन् । आफूहरूमाथि आइलागेको आपत् यिनै नेताले सुल्झाउन सक्छन् भन्ने उनीहरूलाई लाग्छ । किनभने उनीहरू सोझा भए पनि यति त थाहा छ नि, ‘नेतालाई भोट चाहिन्छ । तीन–चार थान भोट हामी नै हौँ ।’
नेताको रमाइलो–घमाइलो आँगनमा पुगेर आफूमाथि कृपा खोजिरहँदा अर्का नेताले गजबको कुरा गर्छन् । उनी भन्छन्, ‘किसानले ऋणबाट मुक्ति पाउने एउटा सरकारी योजना छ ।’
सरकारी योजनाले भन्छ, ‘यदि ऋणले थिचिएका किसानले आत्महत्या गरेको खण्डमा उनको परिवारलाई क्षतिपूर्ति दिइनेछ ।’ ठ्याक्कै अहिले हामीकहाँ भएजस्तै ।
कुरा त मनासिब नै हो । तर आत्महत्या गर्नु सजिलो छ त ?
किसान दाजुभाइ चुपचाप घर फर्कंदै गर्दा दाजुको मनमा एउटा चलाखी पैदा हुन्छ । किनभने उनका भाइ निकै सोझा हुन्छन् । दाइ भन्छन्, ‘अब म आत्महत्या गर्छु । अनि सरकारी क्षतिपूर्तिले तिमीहरू घरबार चलाउनू ।’
सोझा भाइ यो कुरामा मञ्जुर हुँदैनन् । किनभने दाइकी श्रीमती छन्, छोराछोरी छन् । दाइ अलि टाठाबाठा पनि छन् । उनले आफूलाई नै बेकामे ठान्छन् र भन्छन्, ‘तिमी होइन दाइ, म चाहिँ आत्महत्या गर्छु ।’
बस्, दाइले खोजेको यही थियो । उनी भाइलाई आत्महत्याका लागि मानसिक रूपमा तयार गर्नतिर लाग्छन् ।
यहाँ आइपुगेपछि राजनीतिले खेल्ने कबड्डी मात्र होइन, मिडियाले गर्ने छक्कापञ्जाको पनि पोल खुल्न थाल्छ । सरकारी राहतका लागि एउटा किसानले आत्महत्या गर्ने तयारी गरिरहेको सुइँको स्थानीय पत्रकारले पाउँछन् । उनले यो कुरा आफ्नो मिडियामा पठाउँछन् । खबर भाइरल हुन्छ । तब मूलधारका मिडियाहरू भएभरका मुद्दा छाडेर यसैको पछाडि दौडन्छन् । अब के हुन्छ ?
एकदमै गरिबहरू बस्ने पिपली भन्ने गाउँमा मिडियाको मेला लाग्न थाल्छ । हरेक दिन होइन, हरेक घण्टामा ओभी भ्यानसहितका रिपोर्टरहरू ओइरिन थाल्छन् । प्रत्यक्ष प्रसारणका लागि सबैजना तयारी गर्छन् । उनीहरू आफ्ना दर्शकलाई प्रत्यक्ष प्रसारणमार्फत एउटा किसानले आत्महत्या गरेको दृश्य देखाउन चाहन्छन् ।
राष्ट्रिय मिडियाहरूको ओइरो लागेपछि त्यहाँ रमाइलो मेला नलाग्ने कुरै भएन । रोटीपिङ हालिन्छ, बदाम-भटमासका स्टल राखिन्छन्, कटन क्यान्डी र बेलुन बिक्री गरिन्छ । हेर्दाहेर्दै पिपली गाउँ गुल्जार हुन्छ । गाउँ त गुल्जार हुन्छ, तर ती गरिब किसान दाजुभाइको अवस्था के हुन्छ ?
उनीहरूले त ढुक्कले आत्महत्या पनि गर्न पाउँदैनन् । कतिसम्म भने दिसा गर्न पाइखाना जानुपर्ने, त्यहीँबाट मिडियाले लाइभ गरिदेला भन्ने आपत् पर्छ ।
अब समस्या ऋणमा भन्दा पनि दुनियाँको नजरबाट कसरी अलग बस्ने भन्नेमा केन्द्रित हुन्छ । अन्ततः फिल्मको अन्त्यमा हामी देख्छौँ, यी किसान दाजुभाइ एउटा ट्र्याक्टरको पछाडि लुकेर कतै भागिरहेका छन् ।
फिल्ममा अब के हुन्छ होला भन्दा भन्दै जसरी टुंगिन्छ, आखिर सर्वसाधारण र किसानहरूको समस्या पनि यसरी नै थाँती रहन्छ । उनीहरूको जीवनमा कहिल्यै क्लाइमेक्स आउँदैन । र, त्यसमा ह्याप्पी इन्डिङ पनि हुँदैन ।
किनभने यी किसान दाजुभाइले कुन समस्या झेलिरहेका छन् ? कस्तो मनोदशाबाट गुज्रिरहेका छन् ? त्यसतर्फ कसैको ध्यान जाँदैन । सबैलाई उनीहरूको विवशतामाथि टेकेर आफ्नो उचाइ बढाउनु छ ।
सर्वसाधारणको दुःख, विवशता र मृत्युमाथि कस्तो किसिमको खेलबाड हुन्छ ? अनुषा रिज्वी निर्देशित फिल्मले पारदर्शी दृश्यभाषामार्फत सबै कुरा भन्छ ।
सर्वसाधारणका व्यावहारिक कठिनाइहरूमा आँखा चिम्लने, उनीहरूको कष्ट र पीडाप्रति कहिल्यै जवाफदेही नहुने र उनीहरूको मृत्युमाथि सौदाबाजी गर्ने राजनीतिलाई फिल्मले उदाङ्गो बनाइदिएको छ ।
फिल्मले एउटा गम्भीर प्रश्न छाड्छ, सर्वसाधारणको जीवन आखिर उसको मृत्युभन्दा किन सस्तो हुन्छ ?
बाँचुञ्जेल उसलाई सहज बनाइदिनुपर्ने हो । उसको जीविका, बसोबास र यातायातलाई सुलभ बनाइदिनुपर्ने हो । उसले खेती गर्छु भन्दा मल र बीउबिजन उपलब्ध गराइदिनुपर्ने हो । उसले उपचार गर्छु भन्दा कम खर्चिलो अस्पताल पाउनुपर्ने हो । उसले यात्रा गर्छु भन्दा सुरक्षित र सजिलो सवारीसाधन पाउनुपर्ने हो । उसले सानो उद्यम गर्छु भन्दा वित्तीय सहयोग पाउनुपर्ने हो ।
जीवनभर उसलाई यावत् कुरामा कुनै सहजीकरण गरिदिँदैनन् । जब उसको मृत्यु हुन्छ, तब त्यसको मोल तोकिन्छ ।
आखिर मृत्युको मोल पाउने यो दुनियाँमा जीवन किन यति मूल्यहीन भएको ?
शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।