भारतीय मौसम विभागका अनुसार दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली पश्चिम-उत्तरपश्चिमतर्फ अघि बढ्दै आइतबार रातिसम्म चक्रवाती आँधीमा परिणत हुने क्रममा छ ।
काठमाडौँ — बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवात विकसित हुने सम्भावना बढ्दै गएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै चक्रवाती आँधीमा परिणत हुने क्रममा छ ।
विभागका अनुसार शनिबार राति साढे ११ बजे उक्त प्रणाली दक्षिणपूर्वी बंगालको खाडीमा केन्द्रित थियो । यो चेन्नईबाट करिब ८३० किलोमिटर पूर्व–दक्षिणपूर्व र आन्ध्र प्रदेशको विशाखापट्टनमबाट ८८० किलोमिटर दक्षिण–दक्षिणपूर्वमा थियो । यो प्रणाली आइतबार मध्याह्नसम्म गहिरो न्यूनचापीय प्रणाली बन्ने, सोही दिन मध्यरातसम्म चक्रवाती आँधीमा परिणत हुने विभागको अनुमान छ । सोमबार शक्तिशाली चक्रवाती आँधीमा परिणत हुन सक्ने विभागले विश्लेषण गरेको छ ।
मंगलबार बिहान दक्षिण आन्ध्र प्रदेशको तटनजिक आइपुग्ने अनुमान छ । नेल्लोर तथा नरसापुरबीचको तटीय क्षेत्रमा १०० देखि ११० किलोमिटर प्रतिघण्टाको वेग तथा १२० किलोमिटरसम्मको झोक्कासहितको हावाको गतिमा तट पार गर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
भारतीय मौसम विज्ञान विभागका महानिर्देशक मृत्युन्जय महापात्रले पूर्ण विकसित भएपछि उक्त चक्रवातको नाम 'मुरासु' राखिने बताएका छन् । तमिल भाषामा 'मुरासु' को अर्थ ड्रम अर्थात् नगरा वा ढोल हुन्छ । भर्चुअल पत्रकार सम्मेलनमा उनले नोभेम्बरमा भारतका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा र औसतभन्दा बढी तापक्रम रहने सम्भावना रहेको पनि बताए ।विकसित हुँदै गरेको प्रणाली चक्रवाती आँधीमा परिणत हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
विभागका अनुसार आइतबार तमिलनाडुको उत्तरी तटीय जिल्ला, पश्चिमी घाट आसपासका क्षेत्र र भित्री जिल्लाहरूमा मध्यम वर्षा हुने सम्भावना छ । निलगिरि, तिरुवल्लुर, कुड्डालोर र भिल्लुपुरम जिल्लामा आगामी दुई दिन केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ । राज्यका अन्य क्षेत्रमा भने हल्का वर्षा हुन सक्नेछ ।
आइतबार मदुरै, तिरुचिरापल्ली, नमक्कल, सेलम, इरोड र करुरमा पनि मध्यम वर्षा हुने विभागले जनाएको छ । अन्य जिल्लाका एक वा दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ ।
राजधानी चेन्नईमा आइतबार आकाश आंशिक बदली रहनेछ । सहरका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ ।
मौसमविद् विनोद पोखरेलले अहिलेसम्मका सबै मोडेल हेर्दा यो प्रणाली नेपालतर्फ आउने वा यसको प्रभावले नेपालमा वर्षा गराउने सम्भावना नदेखिएको बताएका छन् ।