विद्युत् सर्ट सर्किटपछि तीन फलाम पगाल्ने भट्टीमा लागेको आगो दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइयो।
बाँके — बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगमा आइतबार बिहान आगलागी हुँदा ८ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार उद्योगभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा बिहान करिब ५ : ४० बजे आगलागी भएको प्रहरीले जनाएको छ । प्रत्येक भट्टीको क्षमता २५ टन रहेको छ ।
आगलागीमा परी बाँकेका ५ र भारतको बहराइच जिल्लाका ३ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो । घाइतेमध्ये बाँकेको जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ ।
आगलागीमा घाइते हुने अन्यमा सोही ठाउँका २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव छन् । त्यस्तै भारतको बहराइच जिल्लास्थित कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाका २ र कोहलपुर नगरपालिकाको एक दमकल परिचालन गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा बिहान ८ : १५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी छ ।