सरकारले नेपालमा विकसित मोबाइल गेमलाई विश्व बजारमा पुर्याउँदै गेम विकासलाई उद्योगका रूपमा स्थापित गर्न नीतिगत सुधार गर्ने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार सामाजिक सञ्जालमार्फत नेपालमा गेम विकास तथा सूचना प्रविधि (आइटी) उद्योगको प्रवर्धनका लागि नीतिगत सुधार गर्ने जनाउनुभएको छ । उहाँले नेपालमा विकास गरिएका लुडो (करिब २० करोड पटक डाउनलोड भएको) र कलब्रेक (१५ करोडभन्दा बढी पटक डाउनलोड भएको) गेमले विश्व बजारमा ठुलो सफलता हासिल गरेको उल्लेख गर्दै यस क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पुनरवलोकन गरिने जनाउनुभएको हो । सरकारले गेम विकासमा संलग्न कम्पनी तथा युवाले भोग्दै आएका समस्या समाधानका लागि पहल अघि बढाउने जनाउँदै उहाँले गेम विकासमा संलग्न कम्पनी तथा युवासँग छलफल गरी उहाँहरूले भोगिरहेका समस्या र यस क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न आवश्यक नीतिगत व्यवस्थाबारे जानकारी लिइएको जनाउनुभएको छ । छलफलबाट प्राप्त सुझावका आधारमा समस्या समाधानका लागि विद्यमान कानुनी तथा नीतिगत व्यवस्था पुनरवलोकन गरिने उहाँले स्पष्ट पार्नुभएको छ ।
Read full story at source ( barnanmedia.com )