विराटनगरको पहिलो जितमा सेहन जयसूर्याको प्रदर्शन निर्णायक रहेको कप्तान सन्दीप लामिछानेको भनाइ छ ।
काठमाडौँ — विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएएल) तेस्रो सिजनको शनिबार प्राप्त पहिलो जितमा सेहन जयसूर्याको ठूलो भूमिका रहेको बताएका छन् । उनले भने, ‘जयसूर्याले पहिलो ओभरमा अविश्वसनीय खेल प्रदर्शन गरे ।’
ओपनर जयसूर्याले ११ बलमा ३९ रन बनाएका थिए । उनले खेलपछि भने, ‘आजको खेल दर्शनका लागि पनि खेल्न आवश्यक थियो । नियम अनुसार सबै अवस्था ठिक थियो भने आजको खेल हुनु नै ठिक हो ।’ खेल वर्षाले प्रभावित भएपछि राति नौ बजेपछि सुरु भएको थियो र त्यति बेलासम्म ठूलो संख्यामा दर्शक त्रिविको क्रिकेट रंगशालामै उपस्थित थिए ।
खेल पाँच ओभरमा छोटयाइएको थियो र त्यसमा विराटनगर ३५ रनले विजयी रहेको हो । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले दुई विकेटमा १ सय ५ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिमले तीन विकेटमा ७० रन मात्र बनाउन सक्यो ।
लगातार दुई हारपछि विराटनगरको यो पहिलो जित हो । सुदूरपश्चिम भने तीन खेलमा दोस्रो हार बेहोर्न बाध्य रह्यो । यो हारले सुदूरपश्चिमका प्ले अफ खेल्न समीकरण कठिन हुन सक्नेछ । विराटनगरलाई भने यो जितले ठूलो राहत दिनेछ ।
खेलको ‘प्लेयर अफ द म्याच’ आन्द्रे रसेलले नेपालमा आएर खेल्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘म यो प्रतियोगितामा खेल्न मात्र आएको थिइनँ, म प्रभाव छोड्न चाहन्छु ।’ उनले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको पनि प्रतिक्रिया दिए ।