Trending
Prev Story
Next Story

कलात्मक र व्यावसायिक सिनेमामा कसरी जमिन् शबाना आजमी ?

Ekantipur •
October 31, 2026 • 03:01 PM
1
1 reads 0 reactions

काठमाडौं फिल्म फेस्टिभलमा अभिनेत्री स्वस्तिमा खड्कासँगको संवादमा आजमीले अभिनय यात्रा, महिला सशक्तीकरण र सिनेमाबारे अनुभव सुनाइन् । व्यावसायिक सिनेमाले आर्थिक रूपमा सबल बनाएको र कलात्मक सिनेमाले आत्मिक सन्तुष्टि दिएको उनले बताइन् ।

कलात्मक र व्यावसायिक सिनेमामा कसरी जमिन् शबाना आजमी ?

काठमाडौं फिल्म फेस्टिभलमा अभिनेत्री स्वस्तिमा खड्कासँगको संवादमा आजमीले अभिनय यात्रा, महिला सशक्तीकरण र सिनेमाबारे अनुभव सुनाइन् । व्यावसायिक सिनेमाले आर्थिक रूपमा सबल बनाएको र कलात्मक सिनेमाले आत्मिक सन्तुष्टि दिएको उनले बताइन् ।

काठमाडौँ — प्रसिद्ध भारतीय अभिनेत्री शबाना आजमीका लागि नेपाल नौलो देश होइन। सिनेमा र कलासँग जोडिएका महोत्सवहरूको निम्तो स्विकारेर उनी पटक-पटक नेपालीहरूको पाहुना बन्न आइपुग्छिन्।

यसपटक काठमाडौं महानगरपालिकाले आयोजना गरेको फिल्म फेस्टिभलका निम्ति उनी काठमाडौं ओर्लिएकी थिइन्। महोत्सवको दोस्रो दिन शनिबार, झरीमय समयमा रुझेरै पनि शबानालाई सुन्न भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा सिनेमा पारखीहरू पुगेका थिए। शबानासँगै मञ्च सेयर गर्दै थिइन्, अभिनेत्री स्वस्तिमा खड्का।

फरक देश र फरक पुस्ताकी भए पनि शबाना र स्वस्तिमाको फिल्म करिअरमा केही समानता छन्। श्याम बेनेगलको फिल्म ‘अंकुर’बाट फिल्म करिअर सुरु गरेकी शबानाले जीवनमा व्यावसायिक र आर्ट हाउस दुवै चलचित्रबाट उचाइ चुमिरहिन्। यता स्वस्तिमाले भने व्यावसायिक चलचित्रबाट अभिनय करिअर सुरु गरे पनि ‘बुलबुल’ नयाँ घुम्ती बनेर आयो। त्यसयता स्वस्तिमाको पनि व्यावसायिक मात्रै होइन, आर्ट हाउस चलचित्रमा उत्तिकै सिर्जनशील हस्तक्षेप छ। यी दुवै अभिनेत्री फिल्म करिअरमा महिला सशक्तीकरणका कथामा बाँचेका छन्।

कार्यक्रममा स्वस्तिमाले शबानालाई ‘अंकुर’ (१९७४) देखि ‘रकी और रानी की प्रेम कहानी’ (२०२३) सम्म आइपुग्दासम्मका कथा-किस्साहरू खण्ड खण्डमा सोधिन्। स्वस्तिमाको पहिलो जिज्ञासा थियो— अभिनयको बीजारोपणबारे।

भारतकी प्रसिद्ध रंगमञ्च र चलचित्र अभिनेत्री शौकत कैफी शबानाकी आमा हुन्। शबाना ६ महिनाकी हुँदादेखि नै शौकत छोरीलाई नाटकका रिहर्सलहरूमा बोकेर हिँड्थिन्। त्यसकारण शबानाभित्र अभिनयको अंकुरण बाल्यकालदेखि नै भयो। ‘म स्कुल पढ्दा हाम्रो आर्थिक अवस्था निकै दयनीय थियो। हामी करिब १८० देखि २०० वर्ग फिटको सानो कोठामा बस्थ्यौँ, जहाँ ८ परिवारका मानिसहरू एउटै मात्र बाथरुम प्रयोग गर्दथे। मेरा बुबाले कमाएको सबै पैसा कम्युनिस्ट पार्टीलाई दिनुहुन्थ्यो र परिवार चलाउन हामीलाई जम्मा ४० रुपैयाँ मात्र मिल्थ्यो,’ शबाना ती दिनतर्फ फर्किंदै भनिन्, ‘त्यही परिस्थितिमा मैले काल्पनिक कथाहरू बुन्न थालेँ।’

शबानाले फिल्म इन्स्टिच्युटमा भर्ना हुने निर्णय लिएपछि बा कैफी आजमीलाई सोधिन्, ‘तपाईं मेरो चाहनालाई समर्थन गर्नुहुन्छ?’ भारतका प्रसिद्ध कविसमेत रहेका कैफीले भने, ‘तिमीले जुन बाटो रोज्छौ, म त्यसमा साथ दिन्छु । भोलि तिमी जुत्ता सिउने काम गर्न चाहन्छौ भने पनि म समर्थन गर्छु, तर तिमी त्यो पेसामा पनि उत्कृष्ट हुनुपर्छ।’

‘तपाईंको पृष्ठभूमि र परिवारमा राजनीतिक चेतना, लैंगिक समानता र लेखकहरूको प्रभाव गहिरो थियो। यो पृष्ठभूमि नै तपाईंको अभिनयको मूल आधार बन्यो?’ स्वस्तिमाले सोधिन्। शबानाले बाको कविताबाट परेको प्रभावबारे सुनाउँदै भनिन्, ‘बुबाले करिब ७५ वर्षअघि महिलाहरूलाई समर्पित एउटा कविता लेख्नुभएको थियो, जसमा महिलालाई पुरुषको पछि नभई काँधमा काँध मिलाएर अगाडि बढ्न भनिएको थियो। मैले समानतालाई नै सामान्य जीवनको नियम ठानेँ, तर जब म १९ वर्षकी भए, तब बुझेँ कि समाजमा समानता त अपवाद रहेछ।’

शबानालाई आज पनि खुसी लाग्ने कुरा के हो भने, उनले काम गरेका फिल्महरू सामाजिक रूपमा सचेत थिए; जसले समाज र दर्शकमा गहिरो प्रभाव छाडे। ‘समयसँगै एक कलाकारको जीवनमा यस्तो मोड आउँछ, जहाँ तपाईंले ९ देखि ५ को जागिरजस्तो मात्र अभिनय गर्न सक्नुहुन्न। तपाईंले शोषण, दमन र मानवाधिकारजस्ता गम्भीर मुद्दाहरूमा चुप बस्न सक्नुहुन्न,’ शबानाले भनिन्।

शबानाले कलात्मक र व्यावसायिक दुवै विधाका चलचित्रमा उत्तिकै सशक्त अभिनय गरिन्। पहिलो चलचित्र ‘अंकुर’ (१९७४) बाटै उनले पहिलो राष्ट्रिय अवार्ड जितेर अभिनयको बलियो जग बसालिन्। त्यसपछि ‘अर्थ’ (१९८२) बाट राष्ट्रिय र फिल्मफेयर दुवै अवार्ड प्राप्त गरिन्। पारिवारिक र मानवीय संवेदना बोकेको ‘मासूम’ (१९८३) मा उनको अभिनय आज पनि स्मरण गरिन्छ। यस्तै, ‘पार’ (१९८४) होस् वा ‘फायर’ (१९९६)— यी उनका कलात्मक यात्राका कोशेढुंगा हुन्।

कलात्मकसँगै बलिउडको इतिहासमै ब्लकबस्टर मानिने मल्टिस्टारर चलचित्र ‘अमर अकबर एन्थोनी’ (१९७७) मा उनले ठूलो सफलता प्राप्त गरिन्। त्यसै वर्ष रिलिज भएको एक्सन-ड्रामा फिल्म ‘परवरिश’ (१९७७) मा पनि उनी प्रमुख भूमिकामा देखिइन्। राजेश खन्नासँगको पारिवारिक र भावनात्मक चलचित्र ‘अवतार’ (१९८३) बक्स अफिसमा व्यावसायिक रूपमा निकै सफल भयो।

शबाना सुरुमा मानिसहरूले भनेको सुन्थिन्, ‘आर्ट फिल्म गर्ने अभिनेत्रीले कमर्सियल फिल्म गर्न सक्दैनन्।’ तर दुवै संसारलाई सन्तुलनमा राखेका कारण उनलाई आफूप्रति गर्व छ। ‘कलाकारका लागि माध्यमभन्दा पनि उसको कथा र इमानदारी महत्त्वपूर्ण हुन्छ। व्यावसायिक फिल्महरूले मलाई आर्थिक रूपमा बलियो बनाए भने कलात्मक फिल्महरूले मलाई आत्मिक सन्तुष्टि दिए,’ शबाना भनिन्।

फिल्मसँगै स्वस्तिमाले शबानाका प्रेम सम्बन्ध पनि केलाइन्। जावेद अख्तर भारतका एक अत्यन्त प्रसिद्ध र प्रभावशाली गीतकार, पटकथा लेखक र कवि हुन्। शबाना र जावेद जीवनसाथीसमेत हुन्। ‘हजुरहरूको व्यक्तित्व एकदमै बलियो तर फरक छ। यति बलियो व्यक्तित्व भएका दुई जनाले एकअर्कालाई कसरी ठाउँ दिनुहुन्छ र आफ्नो अस्तित्व कसरी जोगाउनुहुन्छ?’ स्वस्तिमाले सोधिन्। ‘हाम्रो सम्बन्धको सबैभन्दा ठूलो सिमेन्टिङ फ्याक्टर भनेको मित्रता हो। उहाँ मेरा सबैभन्दा राम्रो साथी हुनुहुन्छ र म उहाँकी राम्रो साथी हुँ,’ शबाना दुई जनाको आधारभूत भिन्नतालाई जोड्दै भनिन्, ‘म मिनिमलिस्ट हुँ, जबकि जावेद म्याक्सिमलिस्ट हुनुहुन्छ।’ एकअर्काको स्पेस र स्वाभिमानलाई सम्मान गर्ने कुरा पनि उनले सम्झिइन्। यदि विवाद हुँदैछ भन्ने थाहा पाउनसाथ दुवैले भन्थे— 'ड्रप इट'। ‘त्यो शब्दले हामीबीचको तनावलाई तुरुन्तै समाप्त गरिदिन्छ। जब दुवै जनाको मन शान्त हुन्छ, तब हामी फेरि त्यो विषयमा कुरा गर्छौं,’ शबानाले भनिन्, ‘प्रेममा एकअर्काको कमजोरी र सबलतालाई स्वीकार गर्नु नै सबैभन्दा ठूलो कुरा हो।’

शबानाकै अनुरोधमा स्वस्तिमाले पनि निश्चल बस्नेतसँगको सम्बन्धबारे बताइन्। फिल्म निर्देशक निश्चल र स्वस्तिमा जीवनसाथी हुन्। ‘हामी दुई जना स्वभावको हिसाबले एकदमै फरक मानिस हौँ। उनी अलि अन्तर्मुखी छन्, म एकदमै बहिर्मुखी।’ बाहिरबाट हेर्दा उनीहरूबीच देखिने धेरै भिन्नतालाई लिएर मानिसहरू जिज्ञासा राख्छन्, ‘यो जोडी कसरी चलिरहेको छ?’ ‘तर कुरा के हो भने, हाम्रा बानीव्यहोरा वा स्वभाव फरक भए पनि हाम्रा आधारभूत मूल्य-मान्यता र सोचाइ धेरै हदसम्म मिल्छन्। जीवनलाई हेर्ने दृष्टिकोण र इमानदारी एउटै भएकाले हाम्रोबीचको सम्बन्ध कसिलो बनेको छ,’ स्वस्तिमा थपिन्।

शबानाले जीवनमा धेरै शक्तिशाली र महिला-केन्द्रित भूमिकाहरू निर्वाह गरिन्। तर वास्तविक जीवन र फिल्मको पर्दाबाहिर महिलाहरूले भोग्ने पितृसत्तात्मक सोच र चुनौतीहरूलाई कसरी सामना गरिन् त? शबानाले विगत र अहिलेको समयसँग महिलाको चरित्रचित्रणबारे तुलना गरिन्। ‘विगतमा मुख्यधारका फिल्महरूमा महिलाहरूलाई कमजोर वा केवल पुरुषको छायामा मात्र देखाइन्थ्यो। तर समयसँगै त्यो सोच बदलिँदै गएको छ। परिवर्तनको यो लडाइँमा कलाकारहरूको ठूलो भूमिका हुन्छ। हामीले यस्ता कथाहरू भन्नुपर्छ, जसले समाजलाई प्रश्न गर्न बाध्य गरोस्। म भाग्यमानी छु कि मलाई मेरा निर्देशकहरूले सधैं बलियो र अर्थपूर्ण भूमिकाहरू दिए, जसले दर्शकको सोचमा सकारात्मक प्रभाव पार्न सफल भयो,’ शबानाले भनिन्। आफ्नो अनुभव बाँड्दै उनले नयाँ पुस्ताका महिला कलाकारहरूलाई सुझाइन्, ‘तपाईं आफ्नो कामप्रति इमानदार हुनुहोस् र समाजका कुरीतिविरुद्ध बोल्न कहिल्यै नडराउनुहोस्।’

कार्यक्रममा जिज्ञासाका निम्ति दर्शकदीर्घाबाट उठेर एक जना प्रशंसकले भने, ‘मैले आज विश्वास नै गर्न सकिरहेको छैन कि मेरो सामुन्ने शबाना आजमी हुनुहुन्छ।’ स्कुल पढ्दादेखि शबानालाई हेरेर हुर्किएका प्रशंसक प्रश्न सोध्दा भावुक सुनिएका थिए। शबाना नेपाली प्रशंसकहरूको यिनै अथाह श्रद्धा र प्रेम देखेर मन्त्रमुग्ध सुनिएकी थिइन्।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Related Stories

Entertainment & Cinema
Build #2612