तत्कालीन जाजरकोट राज्यको शक्ति र ऐतिहासिक सम्बन्धको प्रतीकका रूपमा रहेको उक्त खड्ग जाजरकोटको पुरानो सदरमुकाम जगतीपुरबाट भेरी नगरपालिका–४, गैरीखाली हुँदै शनिबार बिहान जाजरकोटको सेतो दरबारमा भित्र्याइएको हो।
जाजरकोट — नेपाल एकीकरण अभियानका क्रममा गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालीन जाजरकोट राज्यलाई उपहार दिएको २५८ वर्ष पुरानो खड्ग (तरबार) बडादसैँको फूलपातीका दिन जाजरकोट दरबारमा भित्र्याइएको छ।
तत्कालीन जाजरकोट राज्यको शक्ति र ऐतिहासिक सम्बन्धको प्रतीकका रूपमा रहेको उक्त खड्ग जाजरकोटको पुरानो सदरमुकाम जगतीपुरबाट भेरी नगरपालिका–४, गैरीखाली हुँदै शनिबार बिहान जाजरकोटको सेतो दरबारमा भित्र्याइएको हो।
फूलपातीका दिन खड्ग र फूलपाती दरबारमा भित्र्याउने परम्पराअनुसार स्थानीय सर्वसाधारण, सरकारी कर्मचारी र सुरक्षाकर्मीको सहभागितामा शङ्खध्वनि तथा पञ्चेबाजासहित खड्ग ल्याइएको थियो। गैरीखालीमा पूजाआजा र सलामी दिएपछि बोकाको बलि चढाएर प्रमुख जिल्ला अधिकारी नवराज बरालले विधिपूर्वक पूजाआजा गरी खड्ग र फूलपाती दरबारमा भित्र्याएका थिए।
परम्पराअनुसार फूलपाती अर्थात् सप्तमीदेखि महाअष्टमी, महानवमी र विजयादशमीसम्म उक्त खड्गको विशेष पूजाआजा गरिन्छ। यस अवधिमा पञ्चेबाजासहित बोका र राँगाको बलि दिने चलन छ। दशमीका दिन टीका लगाएपछि खड्गलाई पुनः जगतीपुरमै फर्काउने परम्परा छ।
जाजरकोटमा २०८० कात्तिक १७ गते गएको भूकम्पले ऐतिहासिक दरबारमा ठूलो क्षति पुर्याएको थियो। भूकम्पका कारण चर्किएको सेतो दरबारको आधा भाग भत्किएको छ। ऐतिहासिक सम्पदाका रूपमा रहेको यही क्षतिग्रस्त दरबारमा यस वर्ष पनि खड्ग र फूलपाती भित्र्याएर परम्परालाई निरन्तरता दिइएको हो।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीका अनुसार विक्रम संवत् १८२५ माघ ५ गते काशीको मणिकर्णिकाघाटमा गोरखाका राजा पृथ्वीनारायण शाह र तत्कालीन जाजरकोटी राजा हरि शाहबीच धर्मसन्धि भएको थियो। नेपाल एकीकरण अभियानलाई सफल बनाउने उद्देश्यसहित दुई राज्यबीच एकअर्कालाई सहयोग गर्ने सम्झौता भएको र सोही क्रममा दुवै राजाले मितेरी साइनो गाँस्दै उपहार आदानप्रदान गरेका थिए। त्यसै क्रममा पृथ्वीनारायण शाहले जाजरकोट राज्यलाई उक्त खड्ग उपहार दिएको केसीले बताए।
२५८ वर्ष पुरानो खड्गसँग जोडिएको यो परम्पराले जाजरकोटको ऐतिहासिक पहिचान, सांस्कृतिक विरासत र तत्कालीन राज्यबीचको सम्बन्धलाई स्मरण गराउँदै आएको छ। भूकम्पले दरबारमा क्षति पुर्याए पनि खड्ग भित्र्याउने परम्परालाई निरन्तरता दिइनुले ऐतिहासिक सम्पदाको संरक्षण र सांस्कृतिक परम्पराको महत्त्वलाई उजागर गरेको छ।