कञ्चनपुरका तीन छुट्टाछुट्टै घटनामा प्रहरीले २२.५८ ग्राम खैरो हेरोइन बरामद गरेको हो । एक जनाले पेटभित्र पुडिया लुकाएका थिए भने अर्काले मुखभित्र लागूऔषध लुकाएर ल्याएका थिए ।
कञ्चनपुर — कञ्चनपुरमा लागूऔषध ओसारपसारका फरक–फरक तरिका फेला परेका छन् । खैरो हेरोइनका पुडिया नै निलेर पेटभित्र लुकाउनेदेखि मुखभित्र राखेर सीमा पार गर्ने क्रम देखिएको छ । प्रहरीले तीनवटा छुट्टाछुट्टै घटनामा चार पुडियासहित पेटभित्र लुकाइएको १०.४२ ग्राम, सीमामा बरामद गरिएको १२ ग्राम र तालिमप्राप्त कुकुरको सहयोगमा मुखभित्रबाट फेला पारिएको ०.१६ ग्राम गरी कुल २२.५८ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पेटभित्र लागूऔषध लुकाएर ओसारपसार गरिरहेको सूचनाका आधारमा भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीलाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय ब्रह्मदेव र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ भीमदत्त नगरपालिका–९ स्थित जिरो पोइन्टबाट उनलाई नियन्त्रणमा लिएको थियो ।
महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएका चौधरीले सोमबार बिहान दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा लुकाइएको खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । मान्यताप्राप्त तराजुमा तौल गर्दा उक्त पदार्थको शुद्ध तौल १०.४२ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन् ।
कञ्चनपुरमा पेटभित्र लागूऔषध लुकाएर ओसारपसार गरेको यो पहिलो घटना भने होइन । यसअघि गत साउनमा गड्डाचौकी नाकाबाट पेटभित्र लुकाएर ल्याइएका नौवटा प्लास्टिकका पुडियाबाट ७.७५ ग्राम खैरो हेरोइन बरामद भएको थियो । पछिल्लो घटनाले सीमा क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणमा चुनौती कायमै रहेको देखाएको छ ।
यसैगरी, सशस्त्र प्रहरीले भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव सीमा नाकाबाट १२ ग्राम खैरो हेरोइनसहित १९ वर्षीय अभि नाथलाई नियन्त्रणमा लिएको छ । उनी भीमदत्त नगरपालिका–९ मटैनाका बासिन्दा हुन् । सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरीका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नाथलाई सशस्त्र प्रहरी निरीक्षक जितेन्द्रकुमार शाहको कमान्डमा खटिएको पाँच सदस्यीय जाँच टोलीले शङ्काका आधारमा जाँच गर्दा उक्त पदार्थ फेला पारेको थियो । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय ब्रह्मदेवमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिएका छन् ।
त्यस्तै, गड्डाचौकीस्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरीको तालिमप्राप्त कुकुरले मुखभित्र लुकाएर ल्याइएको ०.१६ ग्राम खैरो हेरोइनसमेत पत्ता लगाएको छ । आइतबार भारतबाट नेपाल प्रवेश गर्ने क्रममा रहेका कैलालीको घोडाघोडी नगरपालिका–६ का २४ वर्षीय विक्रम मिजारलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार सीमा नाकामा जाँच गर्ने क्रममा ल्याब्राडोर जातको ‘अल्फा’ नामक पोथी कुकुरले शङ्कास्पद सङ्केत गरेपछि थप जाँच गरिएको थियो । त्यसक्रममा मिजारको मुखभित्र लुकाइएको खैरो हेरोइन फेला परेको हो । बरामद लागूऔषधसहित मिजारलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।
दसैँ–तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरीले शनिबारदेखि गड्डाचौकी नाकामा दुईवटा तालिमप्राप्त कुकुरसहितको स्क्वाड परिचालन गरी जाँच तीव्र पारेको छ । सीमा नाकाबाट आवतजावत गर्ने यात्रु तथा उनीहरूले बोकेका सामानको जाँचमा तालिमप्राप्त कुकुरको समेत प्रयोग भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । तीनवटै घटनामा बरामद लागूऔषध र नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।