प्रतियोगिताको पाँचौं दिन शनिबार लुम्बिनी लायन्स र चितवन राइनोज तथा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुने कार्यक्रम रहेको छ ।
काठमाडौँ — देशभरीकै वर्षाका कारण नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारका खेलहरु प्रभावित हुने भएको छ । प्रतियोगिताको पाँचौं दिन शनिबार लुम्बिनी लायन्स र चितवन राइनोज तथा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुने कार्यक्रम रहेको छ ।
पहिलो खेल दिउसो १२.३० बजे हुने तालिका रहेको छ । तर वर्षाका कारण १२ बजे तोकिएको टस हुन सकेको छैन । १२:२० सम्म पनि वर्षा रोकिएको छैन । मैदान फुल कभर भए पनि बाउन्ड्री छेउहरु भिजेर पानी जमेका छन् ।
दुवै टोलीलाई स्ट्यान्डबाई राखिएको नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बताए । मौसम पूर्वानुमानमा दिउँसो ३ बजे देखि घाम देखाए पनि पहिलो खेल हुने सम्भावना कमै देखिएको छ ।
लुम्बिनी र चितवन दुबैले पहिलो खेलमा विजय हात पारेका थिए ।
डिफेन्डिङ च्याम्पियन लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो भने चितवनले विराटनगरमाथि ८ रनको विजय हात पारेको थियो ।