अर्णव चक्रवातको प्रभावले देशभर वर्षा र हिमपात भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपालनजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ ।शुक्रबार बिहानैदेखिको निरन्तर वर्षाका कारण जनजीवन प्रभावित भइरहेको छ भने कतै पहिरो पनि गएको छ ।देशभरको निरन्तर अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोस् ।
लार्के सडकअन्तर्गत धार्चे–३ खोर्लाबेँसीको अस्थायी डाइभर्सन बुढीगण्डकीको बाढीले बगाएको छ ।
बुढीगण्डकीको बाढीले क्षति पुर्याएको खोर्लाबेँसी–लुस्याङमा अस्थायी डाइभर्सन बनाएर सडक खुलाइएको थियो। शुक्रबार रातिदेखि परेको वर्षापछि बढेको बुढीगण्डकीले बाटो बगाएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । झन्डै २० मिटर सडक बगाएको र मान्छे हिँड्न पनि नमिल्ने बनेको उनको भनाइ छ ।
असोज २५ को बुढीगण्डकी बाढीले क्षतिग्रस्त बनाएको बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत खोर्लाबेँसी–लुस्याङ खण्डमा अस्थायी डाइभर्सन गरेर सडक सञ्चालन गरिएको थियो ।
खोर्लाबेँसीमा बुढीगण्डकीले सडक कटान गर्दा धार्चे गाउँपालिकाका ३ वटा वडा र चुमनुब्री सडक सम्पर्कबाट फेरि विच्छेद भएका छन् । खोर्लाबेँसीमा सडक कटान भएको क्षेत्रमा ढुंगा, गिट्टी थुपारेर अस्थायी रूपमा सडक निर्माण गरिएको थियो। अस्थायी सडक निर्माण गरेको कुनातर्फबाट अहिले नदी बगेको उनले बताए ।
काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा रहेको ढुंगाखानीले थुपारेको वेस्टेज (खानीजन्य फोहोर तथा गेग्रान) वर्षासँगै बगेर बस्तीमा पस्दा घर तथा गोठमा क्षति पुगेको छ ।
गेग्रानसहितको लेदो बस्तीमा पस्दा एउटा घर पुरिएको छ भने एउटा गोठ भत्किएको छ । अन्य दुई घरमा भल पस्दा घरभित्र र बाहिर राखिएका सामान बगाएको छ ।
प्रहरी चौकी खोपासीका असई सीताराम खत्रीका अनुसार स्थानीय शेरबहादुर तामाङको ढुंगा–माटोले बनेको, जस्तापाताको छाना भएको एकतले घर गेग्रानले पुरिएको छ । घरको छानासम्मै गेग्रान थुप्रिएको उनले बताए । उनकै अर्को तीनतले घरमा भल पस्दा घरभित्र र बाहिर राखिएका सामान बगाएको छ ।
त्यस्तै, स्थानीय हर्कबहादुर तामाङको गोठ भत्किएको छ। उनको तीनतले घरको तल्लो तलामा भल पस्दा घरभित्र राखिएका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबाट दुई परिवार प्रभावित भएका छन् । घरमा रहेका परिवारका सदस्यहरू बिहानै आफन्तको घरमा सरेका थिए। घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन ।
लगातारको वर्षाका कारण संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडकमाथिबाट लेदो र पहिरो खस्दा यातायात प्रभावित भएको छ ।
राजमार्गको कृष्णभीर, गजुरी नजिकैको चालिसे तथा खटौती खोला नजिकै पानीसँगै लेदो र साना–साना पहिरो झर्दा सडक एकतर्फी बनेको छ ।
विशेष गरी मलेखु नजिकैको परेवा भीर खण्डमा भने जोखिम अत्यन्तै उच्च देखिएको छ । सो क्षेत्रमा माथिबाट निरन्तर पहिरो झरिरहेको र तलबाट नदीले समेत कटान गरिरहेकाले सवारी सञ्चालनमा उच्च जोखिम देखिएको सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङका प्रमुख तुला चौधरीले बताए । हाल सो क्षेत्रमा सुरक्षाकर्मीको समन्वयमा सवारीसाधन सञ्चालन भइरहेको छ ।
बाटोमा खसेको लेदो र पहिरो पन्छाएर यातायात सुचारु गराउन निर्माणाधीन सडक आयोजनाका डोजरहरू निरन्तर परिचालन गरिएको छ। पहिरो झर्नेबित्तिकै पन्छाउने काम भइरहेको भए पनि निरन्तरको वर्षा र पहिरोका कारण सडक पूर्ण रूपमा सुचारु गर्न चुनौती थपिएको छ। जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा चालक तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।