तत्कालीन माओवादीका नेता–कार्यकर्ताले भूमिगतकालमै सन्तान जन्माएका थिए । ती सन्तानमध्ये कतिपयले युद्धका कारण बाल्यकालमै आमाको न्यानो काख गुमाए । केहीले आफन्त गुमाए । अधिकांशले आफ्नो घरमा हुर्कन पाएनन् । ती दिन सम्झँदै उनीहरू भन्छन्, ‘अब त्यस्तो नहोस्, ती दिन सम्झन चाहँदैनौं ।’
काठमाडौँ — अग्रणी चापागाईं सशस्त्र द्वन्द्व चर्किएकै बेला मोरङको विराटनगरमा जन्मिइन् । उनकी आमा धर्मशीला चापागाईं भूमिगत थिइन् । जेठ २०५८ मा जन्मिएकी अग्रणी सात महिनाकी छँदा धर्मशीलालाई प्रहरीले पक्राउ गर्यो । त्यसपछि उनी आमासँगै हिरासत हुँदै जेल पुगिन् ।
बाल्यकालमै उनले खुला आकाश गुमाइन् र जेलका पर्खालभित्र पुगिन् । बिस्तारै जेल नै उनको संसार बन्न थाल्यो । सेना, प्रहरी, कैदी र जेलका नाइके देखेपछि उनलाई त्यही नै समाजजस्तो लाग्थ्यो । ‘हामी साँघुरो ठाउँमा अरूसँगै बस्थ्यौं । म त्यही खेल्थें,’ अग्रणीले सुनाइन् ।
तत्कालीन माओवादी नेतृ धर्मशीला पुस २०५८ मा विराटनगरबाट पक्राउ परेकी थिइन् । त्यसपछि मोरङ, सुनसरी, झापा र इलामका कारागारमा जेलजीवन बिताइन् । मुलुकमा संकटकाल थियो । जेलभित्र पनि धर्मशीलामाथि कडा निगरानी थियो । ‘जेलमै भए पनि मलाई आमाको न्यानो काख र माया थियो । जेलमा सबैभन्दा सानी म नै थिएँ । प्रहरी, कर्मचारी र अरू कैदीले पनि माया गर्थे,’ अग्रणीले सुनाइन् ।
अग्रणीको स्कुल इलाम कारागारमा रहेका बेला सुरु भयो । ‘अरू बच्चा स्कुल जाँदा म जेलको ढोकाबाट हेर्थें रे । त्यसपछि आमाले जेल प्रशासनसँग झगडा गरेर मलाई स्कुल पठाउन थाल्नुभयो । सानो पार्टी खाने टिफिन बोकेर स्कुल जान्थें । प्रहरीले स्कुल पुर्याउने र ल्याउने गर्थे । स्कुलमा मलाई जेलकी विद्यार्थी भन्थे रे,’ अग्रणीले भनिन् ।
जेलमा अग्रणीले माओवादी महिला कार्यकर्तामाथि भएको कठोर यातना देखिन् । ‘इलाममा बस्दा दुई जना महिलालाई जेलमा ल्याएर राखिएको थियो । पहिलो दिनमै नाङ्गै पारेर पिटेको देखें । उनीहरू उठेर हिँड्नसमेत सकेका थिएनन् । त्यस्तै यातना मेरी आमाले पनि पाउनुभएको रहेछ, पछि थाहा पाएँ,’ उनले सुनाइन् ।
धर्मशीला जनआन्दोलनपछि ९ जेठ २०६३ मा जेलमुक्त भइन् । त्यसपछि अग्रणीले पनि बाहिर संसार देखिन् । उनले भनिन्, ‘जेलभित्रको त स्वतन्त्र संसार रहेनछ । बाहिर अर्को विशाल संसार छ भन्ने त जेलबाट निस्किएपछि मात्र थाहा पाएँ ।’
एकथरी सन्तान नेता बा–आमाका कार्यकर्ता बने, बदनाम पनि भए । अर्काथरी युद्धमा दुःख पाएकाले राजनीतिमा जोडिन चाहँदैनन् । तेस्रोथरी छन्, जो युद्धसँग कुनै पनि सम्बन्ध राख्न चाहँदैनन् । उनीहरूमा राजनीतिप्रति खासै रुचि छैन । – राम कार्की, पूर्वमाओवादी नेता अग्रणीलाई बुबाको याद छैन । आमाछोरी जेलमै रहेका बेला उनका बुबा शंकर घिमिरेलाई सुरक्षाकर्मीले झापाको चारालीबाट पक्राउ गरेर असार २०५९ मा हत्या गरेको थियो । धर्मशीलाले जेलमा रहेकै बेला यो खबर सुनेकी थिइन्, अग्रणीले त धेरै पछि मात्र थाहा पाइन् ।
आमा लगायतको जेल, नेल र त्यागकै कारण मुलुकमा परिवर्तन आएको अग्रणी ठान्छिन् । धर्मशीला २०६४ मा संविधानसभा सदस्य भइन् । झापाको अर्जुनधारा–५ मा खेतीपाती गर्दै उनी राजनीति पनि गरिरहेकी छन् । अग्रणी भने काठमाडौंमा बसेर अमेरिका र अस्ट्रेलियाका आईटी कम्पनीका लागि काम गर्छिन् । २०६३ मा शान्ति प्रक्रिया सुरु भएपछि उनले माध्यमिक तहको पढाइ पूरा गर्दै आईटीमा स्नातक गरेकी हुन् ।
राजनीतिक आन्दोलनकै कारण बुबा गुमाएकी, आमासँग करिब पाँच वर्ष जेल बसेकी अग्रणीलाई भने राजनीतिमा रुचि छैन । भन्छिन्, ‘म आफ्नो पेसा गरेर आर्थिक रूपमा आमालाई सहयोग गर्छु ।’
तत्कालीन माओवादीले फागुन २०५२ मा सशस्त्र द्वन्द्व सुरु गरेको थियो । नेता तथा कार्यकर्ताको ‘युद्धभूमि’ मै विवाह हुन्थ्यो । ‘युद्धभूमि’ मै सन्तान जन्मिन्थे, हुर्किन्थे । अग्रणीझैं कैयन् त आमासँगै जेलमा हुर्किए । त्यतिबेला जन्मिएका सबैले २० वर्ष उमेर पार गरेका छन् । सशस्त्र द्वन्द्वको प्रत्यक्ष प्रभावमा परेकामध्ये धेरैजसो युवा अग्रणीझैं सक्रिय राजनीतिमा भने छैनन् ।
रोल्पाको सुनछहरी गाउँपालिकामा पर्ने फगामका अनुनय आचार्यलाई राजनीतिप्रति खासै चासो छैन । सत्ताको खिचातानी देख्दा उनलाई त राजनीति फोहोरी खेल हो जस्तो लाग्न थालेको छ । काठमाडौंस्थित आईआईएफटी कलेजमा फेसन डिजाइनिङमा डिप्लोमा कोर्स गरिरहेकी उनी भन्छिन् । ‘अब म फेसन डिजाइनिङसम्बन्धी आफ्नै काम गर्छु होला ।’
रोल्पा लिबाङकी अनुनय आचार्य (२४) का बुवा फणीन्द्र आचार्य र आमा सुनिता मगर तत्कालीन माओवादीका पूर्णकालीन कार्यकर्ता थिए । सदरमुकाम लिबाङस्थित घरमा दैनिक निगरानी हुन थालेपछि फणीन्द्र भूमिगत भए । भूमिगतकालमै उनले सुनितासँग अन्तरजातीय विवाह गरेका थिए । त्यसपछि जन्मिएकी अनुनयलाई रोल्पाका विभिन्न क्षेत्रमा सार्दै दुई वर्षसम्म हुर्काइयो ।
दुई वर्षकी भएपछि लिबाङमा रहेका हजुरबुवा र हजुरआमाको जिम्मा लगाइयो । त्यसपछि लिबाङमै हुर्किइन् । अहिले भन्छिन्, ‘मलाई बुवाआमाले आफूले चाहेको गर् भन्नुभयो । मैले राजनीति रोजिनँ,’ उनले भनिन् ।
सशस्त्र द्वन्द्वमा हजुरबुवा, आमा र माइली काकी गुमाएकी दीपशिखालाई पनि राजनीतिमा रुचि छैन । उनका मामा, माइजू र बुवा भने राजनीतिमा संलग्न छन् । तर उनी भन्छिन्, ‘अरू साथीहरूले राजनीतिमा चासो राखेको देख्छु तर मलाई चासो नै भएन ।’
आमा गुमाउँदा दीपशिखा दुई वर्षकी मात्र थिइन् । उनलाई रुकुम पश्चिमको खोलागाउँको माइतीघर छाडेर आमा पवित्रा बुढामगर २०५४ सालमा चौरजहारीमा खटिएकी थिइन् । त्यहीँ पक्राउ परिन् । केही समयपछि जंगलमा लगेर गोली हानी हत्या गरियो ।
दीपशिखाका बुवा कलबहादुर नाथ जनमुक्ति सेनाका कमान्डर थिए । प्रहरीबाट जोगाउन हजुरआमाले आफूलाई लुकाएर राखेको दीपशिखालाई अहिले पनि सम्झना छ । ‘जंगलको छेउ रहेको खोलागाउँ फेदीखोलामा प्राथमिक स्कुल छ । हजुरआमाले हामीलाई झोलामा सातु राखेर बिहानै पठाउनुहुन्थ्यो । स्कुल बिदा भएको दिन वनतिर लुक्न पठाउनुहुन्थ्यो । घरमा प्रहरी आएर केही गरिदेला कि भन्ने डर थियो,’ उनले सुनाइन्, ‘त्यसबेला सुनिता परियार आन्टीले हामीलाई लुकाएर खाना खुवाएको याद छ । कहिले उहाँकै घरमा राति बस्थ्यौं ।’
सानो छँदा दीपशिखालाई लाग्थ्यो– आमा कामका लागि धेरै टाढा गएकी होलिन् । एक दिन आउनेछिन् । उनी कहिल्यै फर्किइनन् । ‘मैले थाहा नपाउँदै आमा मारिनुभयो । उहाँ कस्तो हुनुहुन्थ्यो, खासै थाहा छैन । फोटो हेरेर अनुमान गर्छु,’ उनले भनिन्, ‘युद्धका कारण आमा मारिनुभएकाले मलाई ती दिन सम्झन मन छैन ।’
छात्रवृत्तिमा बीबीए सकेपछि दीपशिखा बिमा कम्पनीमा काम गरिरहेकी छन् । ‘विगतलाई अलिअलि सम्झिँदै, बिर्संदै अघि बढेकी छु । मेरो ठूलो उद्देश्य केही छैन,’ उनले भनिन् ।
तत्कालीन माओवादीको आधार इलाका रोल्पाको थबाङमा जन्मिएकी शिखालाई पनि राजनीतिमा संलग्न हुने रुचि छैन । राजनीति राम्रो भए हुन्थ्यो भन्ने चाहिँ उनलाई लाग्छ । उनी दाङको घोराहीमा बीबीएस पढिरहेकी छन् ।
शिखाका आमा भूमिका थापामगर र बुवा नवीन आचार्यबीच भूमिगत अवस्थामै विवाह भएको थियो । ‘२०६२ सालमा मेरो जन्म भएको हो । कहिले कसको घरमा, कहिले कसको घरमा राख्नुहुन्थ्यो रे आमा र मलाई । अहिले सोच्दा अचम्म लाग्छ,’ शिखाले भनिन्, ‘२०६३ मा शान्ति प्रक्रिया आयो र हामी लिबाङको घर फर्कियौं । सुरुमा दुःख भए पनि पछि गाह्रो भएन ।’
रोल्पा, रुकुमजस्ता दुर्गम जिल्लामा विकासले गति लिनुलाई उनी ‘युद्ध’ को परिणाम भन्छिन् । ‘युद्धपछि रोल्पामा धेरै परिवर्तन भएको छ । अस्पताल, स्कुल, बाटाघाटा बनेका छन्,’ उनले भनिन्, ‘राजनीति स्वस्थ भइदिए अझै राम्रो हुन्थ्यो ।’
‘जनयुद्ध’ का ‘सहिद’ दम्पतीका छोरा सन्दीप पुन भने राजनीतिमा छन् । सन्दीप रुकुमको मुसिकोट–१०, हिलमा जन्मिएका हुन् । उनका बुवा सूर्यप्रकाश पुन र आमा परम्परा गौतमलाई पार्टीले बझाङ कार्यक्षेत्र तोकेको थियो । जेठ २०५९ मा एक साताको फरकमा दम्पती नै बझाङमा सुरक्षाकर्मीको ‘कारबाही’ मा मारिए ।
बुवा–आमा मारिएपछि सन्दीप दाङ, नेपालगन्ज, कपिलवस्तु, बुटवल हुँदै भारतको सिमलासम्म हुर्किए । ‘म पाँच वर्षको छँदा कपिलवस्तु लगिएको थियो । सेना–प्रहरी आउँदा मान्छे भागेको देखिन्थ्यो । राति माओवादी पनि आउँथे,’ उनले सुनाए, ‘सुरक्षाका लागि त्यहाँ मेरो नामथरसमेत फेरेर राखिएको थियो ।’
शान्ति प्रक्रियापछि अखिल क्रान्तिकारीको राजनीतिमा लागेर केन्द्रीय उपाध्यक्षसमेत भएका सन्दीपले गत फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा संयोजक पुष्पकमल दाहालसँग प्रतिस्पर्धा गरे । तत्कालीन माओवादी पार्टी छोडेर जनार्दन शर्माले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप उम्मेदवार थिए । ‘इमानदार नेता, कार्यकर्ता र समर्थकलाई माओवादीले निराश बनायो । त्यसकारण म अर्कै पार्टीमा लागें,’ उनले भने । चुनावमा भने सन्दीपले २ सय ३ मत मात्र पाए ।
सन्दीपलाई पहिले ‘जनयुद्ध’ मा लागेका नेताहरू पछि राजनीतिक र आर्थिक रूपमा भ्रष्ट भए भन्ने लाग्छ । ‘उनीहरूले युद्धको पृष्ठभूमि बिर्सिंदै गए, युद्धमा लागेर दुःख पाएकाहरूले राज्य र पार्टीबाट परिवर्तनको अनुभूति पाएका छैनन्,’ उनी भन्छन्, ‘ज्यान गुमाउनेहरूले सर्वस्व गुमाए, तर लाभ लिनेहरूले सर्वस्व लिए ।’
नेकपा नेता एवं पूर्वसभामुख ओनसरी घर्ती सशस्त्र द्वन्द्वमा छोराछोरी हुर्काउँदै पार्टीले दिएको जिम्मेवारी पूरा गरेको सम्झँदा गर्व महसुस हने गरेको बताउँछिन् । उनले द्वन्द्वकालमै नेता वर्षमान पुनसँग ‘जनवादी’ विवाह गरेकी थिइन् । द्वन्द्वकालमै उनीहरूका छोरी शीला र छोरा उत्सवको जन्म भयो । शीला २०५५ मा रोल्पामा र उत्सव २०६० मा मोरङमा जन्मिएका हुन् ।
भूमिगतकालमा जनताले नै सुरक्षालगायत सबै व्यवस्था गरेका कारण छोराछोरी हुर्काउँदै युद्ध अघि बढाउन सम्भव भएको ओनसरीले बताइन् । ‘जनताकै घरमा बस्थ्यौं । जनताले नै सुरक्षा दिए । जनताले हाम्रा छोराछोरी हुर्काए । हामीसँग त केही पनि थिएन,’ उनले भनिन् ।
ओनसरीका अनुसार पार्टीले सुत्केरी र गर्भवतीलाई सुरक्षित क्षेत्रमा राख्ने व्यवस्था मिलाउँथ्यो । कतिपय संवेदनशील ठाउँमा जनमुक्ति सेनाले सुरक्षा दिन्थ्यो । बच्चा जन्माउन अस्पताल जाने अवस्था थिएन । भूमिगत जीवनमा एक घरमा बढीमा एक साता बसेर अर्को सेल्टरमा सर्ने गरेको ओनसरीले सुनाइन् ।
शीलाले अर्थशास्त्रमा स्नातकोत्तर र उत्सवले आईटीमा स्नातक गरेका छन् । शीला र उत्सव राजनीतिप्रति चासो राखे पनि सक्रिय राजनीतिमा देखिएका छैनन् ।
सशस्त्र द्वन्द्वताका तत्कालीन माओवादीका भूमिगत नेता–कार्यकर्ताका कति सन्तान जन्मिए भन्ने तथ्यांक कतै पनि छैन । मार्च २०१६ मा प्रकाशित युनिसेफको मूल्यांकन प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्व (विसं २०५२ देखि २०६० सम्म) बाट ५२ हजारदेखि ५७ हजारसम्म बालबालिका प्रभावित भएका थिए । त्यस अवधिमा राज्य पक्षबाट १७ वर्षमुनिका १ सय ५५ बालबालिका मारिएका थिए, माओवादी पक्षबाट ७९ बालबालिकाको ज्यान लिइएको थियो ।
संयुक्त राष्ट्रसंघको राजनीतिक मिसनले १८ वर्षमुनिका २ हजार ९ सय ७३ जना जनमुक्ति सेनामा भर्ती भएको प्रमाणिकरण गरेको थियो । उनीलाई माओवादी लडाकुका २७ अस्थायी शिविरबाट निकालेर पुनःस्थापना गरिएको थियो ।
ह्युमन राइट्स वाचले फेब्रुअरी २००७ मा प्रकाशन गरेको प्रतिवेदनमा तत्कालीन माओवादीमा भर्ती हुनबाट जोगिन १० हजारभन्दा बढी बालबालिका विस्थापित भएको उल्लेख थियो ।
पूर्वमाओवादी नेता राम कार्की सशस्त्र द्वन्द्वकालमा जन्मिएका बालबालिकालाई तीन समूहमा विभाजन गर्न सकिने बताउँछन् । ‘एकथरी सन्तान नेता बा–आमाका कार्यकर्ता बने, आन्दोलनको रस पाएर बदनाम पनि भए । अर्काथरी युद्धमा दुःख पाएकाले राजनीतिमा जोडिन चाहँदैनन्,’ उनले भने, ‘तेस्रोथरी छन्, जो युद्धसँग कुनै पनि सम्बन्ध राख्न चाहँदैनन् ।’ भूमिगत अवस्थामा जन्मिएका बालबालिकालाई स्कुलिङ गर्ने कुनै प्रणाली नभएकाले पनि उनीहरूमा राजनीतिप्रति खासै रुचि नदेखिएको उनले बताए ।
समाजशास्त्री सम्झना वाग्ले भट्टराईले युद्धमैदानमा जन्मिएर हुर्केका बालबालिकाले समाजको सुख–दुःख, सामाजिक मूल्यमान्यता र द्वन्द्वलाई अरूभन्दा फरक ढंगले बुझ्ने अवसर पाएको बताइन् । तर उनीहरूका बुवा–आमाको पार्टी नै सैद्धान्तिक रूपमा तितरबितर भएकाले ती सन्तानमा राजनीतिप्रति रुचि कम भएको हुन सक्ने उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक मानबहादुर खत्रीले युद्धभूमिमा जन्मिएका तत्कालीन माओवादीका सन्तानले सशस्त्र द्वन्द्वको त्रास भोगेकाले त्यसको मनोवैज्ञानिक प्रभाव अझै बाँकी हुन सक्ने बताए । ‘ती दिन सम्झन नचाहनु, राजनीतिमा रुचि नहुनु डर, त्रास र दुःखको प्रभाव हुन सक्छ,’ उनले भने ।
गंगा कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।