विमानस्थलका एक अधिकारीका अनुसार स्थानीय समयअनुसार बिहान ६:३६ बजे अवतरणको चरणमा रहेका बेला जहाजमा परेवा ठोक्किएको थियो।
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्किँदा नोज ल्यान्डिङ गियरको लाइटमा सामान्य क्षति पुगेको छ।
विमानस्थलका एक अधिकारीका अनुसार स्थानीय समयअनुसार बिहान ६:३६ बजे अवतरणको चरणमा रहेका बेला जहाजमा परेवा ठोक्किएको थियो। घटनापछि जहाजको नोज ल्यान्डिङ गियरमा रहेको लाइटमा सामान्य क्षति देखिएको हो। ल्यान्डिङ गियरमा भने क्षति पुगेको जानकारी छैन।
घटनापछि धावनमार्ग सफाईकालागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ७:४८ बजेसम्म बन्द गरिएको थियो। जहाजमा ठोक्किएको चराको अवशेष सफा गर्न केही समय लागेकाले विमानस्थलको उडान सञ्चालन प्रभावित भएको थियो।
विमानस्थलको एयरसाइडका एक अधिकारीका अनुसार चराको अवशेष सफा गर्न आवश्यक जनशक्ति उपलब्ध हुन केही ढिलाइ भएको थियो। सरसफाइमा खटिने कर्मचारी बिदामा रहेकाले प्रक्रिया लम्बिएको उनले बताए।
उक्त जहाजमा बाहिरिने ७१ जना यात्रु रहेको बताइएको छ। आगमनतर्फका यात्रुको विवरण भने उपलब्ध हुन सकेको छैन।
नोज ल्यान्डिङ गियरको लाइटमा सामान्य क्षति देखिए पनि अहिले जहाज पुनः उडानका लागि तयार रहेको विमानस्थलका अधिकारीले बताएका छन्।
सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।