Trending
Prev Story
Next Story

बाढी प्रभावितका लागि ‘पुन्टु’ र कम्बलको न्यानो बाँड्ने दुई विदेशी महिला

Ekantipur •
October 07, 2026 • 01:23 PM
4
4 reads 0 reactions

दूरदेशबाट आएका वाङ सिउ एनगान र क्याटरिना स्भेइनोहोभाले भोटेकोशी बाढीपीडितका बस्तीमा पुगेर राहतसँगै स्नेह र आशा बाँडे ।

बाढी प्रभावितका लागि ‘पुन्टु’ र कम्बलको न्यानो बाँड्ने दुई विदेशी महिला

दूरदेशबाट आएका वाङ सिउ एनगान र क्याटरिना स्भेइनोहोभाले भोटेकोशी बाढीपीडितका बस्तीमा पुगेर राहतसँगै स्नेह र आशा बाँडे ।

काठमाडौँ — नुवाकोटको विदुरस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा भोटेकोशी-बाढी प्रभावितहरू आफूलाई चाहिने राहत सामग्री छान्न व्यस्त थिए । कोही थाल, कचौरा, अम्खरा समातिरहेका थिए, कोही कराही र डाडु टिप्दै थिए । त्यहाँ भाँडाकुँडा, खाद्यान्न र लत्ताकपडाको चाङ थियो ।

बाढीले बसोबास नै लगेपछि अस्थायी आवास केन्द्र र कोठा भाडामा लिएर बस्न बाध्य भएकाहरूले राहतमा आफ्नो आवश्यकताअनुसार एकसरो सामान आफैं रोज्न पाएको दृश्य हेरेर मलेसियाकी वाङ सिउ एनगान भावुक बनिन् ।

बाढी प्रभावितका लागि मलेसियाबाटै एन्टिसेप्टिक मलम, गम्छा र मोजा बोकेर आएकी उनले काठमाडौंमा खाने तेल र एक गाडी हरियो कम्बल किनेकी थिइन् । तिनै सामग्री वितरण गर्न गत हप्ता नुवाकोट पुगेकी उनी बाढी प्रभावित महिलाहरूलाई भेटेपछि मर्माहित भइन् । ‘मलाई मन थाम्नै गाह्रो भइरहेको छ,’ उनले भनिन्, ‘नेपालमा यसपालि एकद्वार प्रणालीमार्फत राहत विवरण गरिएको रहेछ । यसबारे हिजोसम्म मलाई धुकचुक भइरहेको थियो, मैले दिएका सामग्री बाढी प्रभावितसम्म पुग्छन्/पुग्दैनन् भन्ने लागेको थियो । तर, आज उहाँहरू आफैंले यसरी सामान छानेको देख्दा ढुक्क भएँ ।’

वाङ सिउ एनगानले आफूले ल्याएको राहत सामग्री नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँलाई हस्तान्तरण गरेकी छन् । बाढीपीडितले आफ्नो रोजाइका सामान आफैं छान्दै गरेको देख्दा खुसी र समवेदनाले मन भरिएको उनले प्रतिक्रिया दिइन् । ‘नेपालमा बाढी आउँदा म दक्षिण कोरियामा थिएँ, त्यहाँबाट मलेसिया फर्कँदै गर्दा मेरो मनले ‘नेपाल जाऊ’ भन्यो, प्रकृतिले नै मलाई बोलाएझैँ लाग्यो,’ पेसाले संगीतकर्मी रहेकी एनगान भन्छिन्, ‘खाली हात आउने कुरा भएन । मैले राहतका लागि साथीहरूलाई म्यासेज पठाएँ । सुरुमा १ सय परिवारलाई सहयोग गर्ने लक्ष्य थियो, साथीहरूको मद्दतले ३ सय परिवारलालई सहयोग जुट्यो ।’

भदौ १० मा भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोट र रसुवा क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍यायो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अर्थ मन्त्रालयको तथ्यांकअनुसार बाढीमा परी १ हजार ४ सय ५१ जनाले ज्यान गुमाए भने ५ हजार ७ सय ८६ जना अझै सम्पर्कविहीन छन् । बाढीबाट १० हजार १ सय ७८ जना घाइते भए भने १३ हजार ७ सय ८४ जनाको उद्धार गरियो । रसुवा, नुवाकोट र धादिङका होल्डिङ सेन्टरहरूमा अझै पनि १ हजार २३१ जना विस्थापित आश्रय लिएर बसिरहेका छन् ।

विश्वभर तरंग पैदा गरेको विपत्‌को यो घडीमा बाढी पीडितका घाउमा मलम लगाउन गत हप्ता मलेसियाकी वाङ सिउ एनगान र चेक रिपब्लिककी क्याटरिना छुट्टाछुट्टै रूपमा नुवाकोट र रसुवाका बस्तीहरूमा आइपुगेका थिए । दुवै महिला कुनै सरकारी नियोग वा निजी संस्थासँग आबद्ध नभई विशुद्ध मानवीय संवेदना र सहयोगको भावना बोकेर नेपाल आएका थिए । विपद्को भयानक दृश्य र स्थानीयको पीडा देखेर दुवै भावुक बने ।

नुवाकोट पुगेकी वाङ सिउ एनगान मलेसियाकी ख्यातिप्राप्त संगीत शिक्षिका हुन् । दृष्टिविहीनहरूका लागि ‘जोयफुल ब्रेल म्युजिक नोटेशन’ प्रणाली विकास गरेपछि ‘एसिया बुक अफ रेकर्ड्स’मा उनको नाम दर्ता भएको छ । उनी ‘हार्ट्स सिम्फोनी सोसाइटी’की अध्यक्षसमेत हुन् । उनको समूहले एकताका काठमाडौँको एलआरआई स्कुलमा प्रस्तुतिसमेत दिएको थियो । नेपालमा बाढीको खबर सुनेपछि उनी आफ्नो सांगीतिक समूहका सहयोगीमार्फत राहत जुटाएर काठमाडौँ हानिएकी थिइन् । एलआरआई स्कुलकै भ्यानमा प्रभावित परिवारलाई जाडोका कम्बल, गम्छा, मोजा, खाने तेल, सरसफाइका सामग्री र मलम हालेर उनी नुवाकोट गएकी थिइन् ।

नुवाकोटमा केही दिन बसेपछि उनी काठमाडौँ फर्किइन् । यहाँ यल्लो गुम्बामा रहेका ६५ जना अनाथ बालबालिकालाई ट्र्याक सुटलगायतका सामान बाँढेर हाल क्वालालम्पुर फर्किसकेकी छन् । ‘नेपाल आउँदै गर्दा भने मेरो मनमा ठूलो अन्योल र चिन्ता थियो, सन् २०१५ को भूकम्पका बेला हामी आफैँ पहाड उक्लेर राहत बाँड्न सक्थ्यौँ, तर यसपालि ४० किलोमिटर बाटो ध्वस्त भएको खबर सुनेपछि सामग्री कसरी पुर्‍याउने होला भन्ने लागेको थियो,’ उनले जाने बेला भनेकी थिइन्, ‘हामीजस्ता साना दातालाई हेलिकप्टर प्रयोग गर्न धेरै खर्चिलो हुन्छ । तर, यहाँ मानिसहरूले सामान छानेर लग्न पाइरहेका छन्, यो राम्रै लाग्यो ।’

चेक रिपब्लिककी ५१ वर्षीया क्याटरिना स्भेइनोहोभा भने रसुवाका दुर्गम गाउँसम्मै पुगिन् । झोलामा कपडाका साना पुतलीहरू बोकेर उनी बाढीप्रभावित बस्तीहरू चहारेकी थिइन् । प्रागमा एक औषधि कम्पनीमा काम गर्ने उनी तीन सन्तानकी आमा हुन् । बाढीपछि ‘चेक पिपल इन निड’ संस्थामार्फत उनले ‘पुन्टुलाई नेपाल पठाऔँ’ नामक अभियान चलाएकी थिइन् । ‘पुन्टु’ चेक भाषामा कुकुरको छाउरोलाई दिइने मायालु नाम हो, सायद हामीले ‘पुन्टे’ भनेजस्तो !

क्याटरिनाले आफ्नी जेठी छोरीको सहयोगमा कपडाका ५६ वटा पुन्टे पुतली आफ्नै हातले सिलाइन् । दाताहरूले प्रतिपुतली हवाइ टिकट किनेझैँ सहयोग गरेपछि ३३,४०० चेक क्राउन (करिब १५ सय अमेरिकी डलर) संकलन भयो । प्रत्येक पुतलीमा सहयोग गर्ने दाताको नाम लेखिएको ट्याग झुन्ड्याइएका थिए । ‘गाउँ-गाउँमा पुगेर आमाबाबु गुमाएका र पीडामा परेका बालबालिकालाई यी पुतली बाँड्दा उनीहरूका अनुहारमा केही क्षणका लागि भए पनि खुसी देख्न पाउँदा मन हलुका भयो,’ उनी भन्छिन्, ‘म कुनै धनी वा शक्तिशाली मान्छे होइन, तर साना-साना प्रयासबाट पनि अरूको जीवनमा खुसी ल्याउन सकिन्छ भन्ने मेरो विश्वास छ ।’

६४ वर्षे श्रीमान् मार्टिनसँग नेपाल आएकी क्याटरिना बाढीले बाटो बिगारेको हुँदा उत्तरगया पब्लिक स्कुलबाट उकालो लागेर, तेर्सो हिँडी, फेरि ओरालो झर्दै बेत्रावतीमा काठको फड्के तरेर रसुवाका धुन्चे र स्याफ्रुबेँसीसम्म पुगेकी थिइन् । त्यहाँका बाढीप्रभावित गाउँमा पुगेर उनले आफन्त गुमाएका र एक तमास टोलाइरहेका बालबालिकालाई ती पुतली बाँढिन् । ‘युरोपमा हामीसँग भौतिक सुख-सुविधा भए पनि दौडधुप र हतारको जिन्दगी छ,’ उनी भन्छिन्, ‘नेपालमा मानिसहरूबीच आत्मीयता, धीरता र आपसी सहयोगको भावना छ । बाढीपीडितका घाउमा सानो भए पनि मलम लगाउन पाउनु मेरो जीवनकै सबैभन्दा भावुक र अविस्मरणीय अनुभव बन्यो ।’

क्याटरिनाले खासमा बालबालिकाका लागि पुतली ल्याएकी थिइन् । तर, बाढीमा परिवारका ६ जना सदस्य गुमाएर शोकमा रहेकी ७० वर्षीया वृद्धालाई उनले सुटुक्क एउटा पुतली हातमा थमाइदिइन् । वृद्धाका आँखाबाट अनायासै आँसु झरे । क्याटरिनाले पनि आफूलाई सम्हाल्न सकिनन् । ‘यो यात्राको सबैभन्दा कठिन र मन छुने क्षण नै ती वृद्धालाई पुतली दिँदाको थियो,’ क्याटरिना भन्छिन्, ‘बालबालिकालाई पुतली दिँदा उनीहरू रमाउँछन् किनभने उनीहरूले विपत्तिको गम्भीर परिणाम बुझिसकेका हुँदैनन् । तर, ती वृद्धाको पीडा असाध्यै गहिरो थियो । बाढी आएको एक महिना बितिसक्दा पनि उहाँ दिनभर रुने र ईश्वरसँग प्रार्थना गर्नेबाहेक अरू केही गर्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो ।  उहाँ बच्चा हुनुहुन्थ्यो तै पनि मैले पुतली दिएँ ।’

क्याटरिनाले सात वर्षअघि आफ्ना बुबा गुमाएकी थिइन् । तर, एकैपटक परिवारका ६ जना सदस्य गुमाउनुको पीडा कस्तो हुन्छ, कल्पनासम्म पनि गर्न नसक्ने उनले बताइन् । ‘बितेर जानेहरू कोही बिरामी थिएनन्, सामान्य मानिसहरू थिए जो एकाएक घर फर्किएनन्,’ उनी भन्छिन्, ‘हाम्रो देश चेक रिपब्लिकमा सन् २००२ मा विनाशकारी बाढी आउँदा कुनै पूर्वतयारी थिएन । तर, त्यो घटनापछि हाम्रो सरकारले नदीहरूको नियमित अनुगमन गर्ने, कानुन बनाउने र आवश्यक पूर्वतयारीका कदम चालेको थियो । कारले समयमै अपनाएका तिनै पूर्वतयारी र अनुगमनका उपायहरूका कारण २ वर्षअघि चेक गणतन्त्रमा पुनः बाढी आउँदा कुनै पनि मानवीय क्षति हुन पाएन र क्षति निकै कम भयो ।’

नेपालमा पनि नदीहरूको नियमित अनुगमन गर्ने, नीतिगत तथा कानुनी संरचना तयार गर्ने र विपद् पूर्वतयारीका ठोस कदम चाल्ने हो भने भविष्यमा आउन सक्ने यस्ता प्राकृतिक विपत्ति र ठूलो मानवीय क्षतिबाट बच्न सकिने उनको सुझाव छ । धन, सम्पत्ति वा ठूलो शक्ति नभए पनि जो कोहीले स-साना प्रयासबाट दुःखीको अनुहारमा खुसी ल्याउन सक्छन् भन्ने क्याटरिनाको अनुभव छ । भोटेकोशीको बाढीले सर्वस्व गुमाएका स्थानीयका लागि यी दुई महिलाको आगमन राहत सामाग्रीको वितरण मात्र थिएन । दूरदराजका बाढीपीडितका घाउमा टाढाको भूगोलबाट आएको न्यानो मानवीय संवेदनाले मलम लगाउने काम गर्‍यो ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#बाढी-पहिरो #प्रभावित #बाढी
Compare →
Nagarik News
7h ago
भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको छ।

#प्रभावित #बाढी
Compare →
Hamro Patro News
1d ago
छठको बिदाले दानबहादुर कार्कीको रिट सुनुवाइ प्रभावित, पेशी सर्ने

छठको बिदाले दानबहादुर कार्कीको रिट सुनुवाइ प्रभावित, पेशी सर्ने

काठमाडौं । छठ पर्वका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ प्रभावित हुने भएको छ। आफूलाई गैरकानुन...

#प्रभावित
Compare →

Related Stories

World News
Build #2612