धनकुटा । कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बिचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन् । जहाँ अन्नबाली उत्पादनको सम्भावना कम छ, त्यहीँ अहिले मौरीका घार राखिएका छन् । जङ्गलका रुख बिरुवा, खोलानाला र प्राकृतिक वातावरणको उपयोग गर्दै किसानले मह उत्पादनबाट राम्रो आम्दानी लिन थालेपछि धनकुटामा मौरीपालनप्रति आकर्षण बढ्दै गएको छ । खेती गर्न कठिन जमिनलाई समेत उपयोगमा ल्याएर आम्दानी गर्न सकिने भएपछि स्थानीय किसानका लागि मौरीपालन वैकल्पिक पेसामात्र नभई आत्मनिर्भर बन्ने माध्यम बन्दै गएको छ । थोरै जनशक्ति र तुलनात्मक रूपमा कम दैनिक श्रमबाट सञ्चालन गर्न सकिने यस व्यवसायले ग्रामीण क्षेत्रमा नयाँ आर्थिक सम्भावनाको ढोका खोलेको छ ।
धनकुटा नगरपालिका वडा नं १ का दुर्गा दर्लामी यसका एक उदाहरण रहके छन् । उनले २०७५ सालदेखि सुरु गरेको मौरीपालन अहिले परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । पाख्रिबास नगरपालिका–९ मजुवास्थित जङ्गलको बीचमा करिब १०० घार मौरीपालन गर्दै आएका दर्लामीले वार्षिक करिब छ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । प्रयोगविहीन जमिनलाई सदुपयोग गरेर नियमित आम्दानी गर्नसक्नु उनका लागि सन्तुष्टिको विषय बनेको छ । परम्परागत खेतीपातीबाट पर्याप्त लाभ लिन कठिन हुने ठाउँमा मौरीपालनले आम्दानीको सम्भावना देखाएको उनको भनाइ छ ।
Read full story at source ( ratopati.com )