रौतहटको धुलाम्मे बाटो, सानो झुपडी र सीमित स्रोतसाधनको घेराबाट निस्केर एनपीएलको चम्किलो प्रकाशमा आइपुगेका राहुल अहिले नेपाली क्रिकेटका नयाँ पोस्टर ब्वाई बन्ने बाटोमा रहेको उनका छिमेकीहरू सुनाउँछन् ।
रौतहट — गौर–गरुडा सडकखण्डको जयनगर चोकबाट पश्चिमतिर करिब १५ किलोमिटरको यात्रा गरेपछि पुगिन्छ अजगैबी गाउँ । गाउँको पश्चिमी छेउमा उभिएको छ एउटा सानो, जीर्ण झुपडी । झुपडीको अगाडि हुर्किएको बाँसको झ्याङले त्यसको आधाभन्दा बढी भाग ढाकेको छ । त्यही सानो छाप्रोबाहिर केही दिनयता गाउँलेहरूको भीडभाड र रौनक छ । १६ वर्षका किशोर राहुल यादव कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा छाइरहेका छन् र उनको यही सफलताले यो गुमनाम झुपडीमा खुसीयालीको उज्यालो छरेको छ ।
जतिबेला राहुल टिभी वा मोबाइल स्क्रिनमा देखिन्छन्, उनका बुबा वीरबहादुर यादवसँग गाउँलेहरू बधाई दिन आइपुग्छन् । छोराको खेल हेर्नकै लागि मोबाइल स्क्रिनमा आँखा गाडिरहेका वीरबहादुरको मुहारमा अहिले खुसीको सीमा छैन । छोराको प्रगतिको यो कथा सुनाउँदा उनको छाती गर्वले चौडा हुन्छ । ‘पहिले मलाई क्रिकेटप्रति कुनै मतलबै थिएन, खेलकुदमा के नै हुन्छ र भन्ने लाग्थ्यो,’ वीरबहादुरले भने, ‘तर अहिले छोराले देशैभर नाम कमाएको छ । टिभी र मोबाइलमा उसको खेल र चर्चा देख्दा छाती चौडा भएर आउँछ । आज म निकै खुसी छु । भगवानसँग प्रार्थना गर्छु, मेरो छोराले यसैगरी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन पाओस् र देशको नाम उच्च राखोस् ।’
गरिबीको साङ्लो तोड्दै हुर्किएको प्रतिभा
राहुलको परिवारको आर्थिक अवस्था दयनीय छ । घरमा साना दुईवटा मात्र कोठा छन् । तिनै कोठाको एउटा कुनामा राखिएको सानो डालीमा राहुलले ४ वर्षयता विभिन्न क्रिकेट प्रतियोगिताहरूमा जितेका ट्रफीहरू छन् । यही सानो डालीले उनीभित्रको अथक प्रयास र खेलप्रतिको समर्पणको कहानी बोलिरहेको छ । दुई दाजुभाइ र बुबाआमा रहेको यो परिवारको जम्मा १२ कठ्ठामात्र खेतीयोग्य जमिन छ ।
घरको गर्जो टार्न जेठा छोरा कमलेश बुटवलस्थित एक अस्पतालमा काम गर्दै आएका छन् भने दिदी सकुन्तलाको विवाह भइसकेको छ । घरमा राहुलसँगै उनका बुबा वीरबहादुर र आमा पनापति देवी बस्छन् । कमाइको स्रोत खासै केही नभएको परिवारका लागि राहुलको क्रिकेटप्रतिको लत सुरुमा चिन्ताको विषय बनेको थियो । आमा पनापति देवी पुराना दिन सम्झन्छिन्, ‘सुरुमा हामीलाई छोराको कुरामा विश्वासै लाग्दैनथ्यो । ऊ सधैँ पढाइमा जोड दिनुपर्छ भन्ठानेर हामी सम्झाइबुझाइ गर्थ्यौं । तर आज उसले खेलबाट सिंगो परिवार र गाउँकै मन जितेको छ ।’
राहुलले २ वर्षअघि गरेको एउटा अनुरोध अझै पनि बुबा वीरबहादुरको कानमा गुन्जिरहेछ । ‘बुबा, मेरो भागमा पर्ने जमिन बेचेर भए पनि मलाई राम्रो क्रिकेट सिक्ने अवसर मिलाइदिनुस् न,’ राहुलले राखेको त्यो जिद्दीपूर्ण तर दृढ अनुरोध सम्झँदै वीरबहादुर भन्छन्, ‘घरको आर्थिक अवस्थाका कारण जमिन त बेचिएन, तर राहुलको भित्री जिद र मिहिनेतमा भने कुनै कमी आएन ।’ ठ्याक्कै मिति थाहा नभए पनि १२ वर्षकै उमेरदेखि नै क्रिकेट ब्याट समाउन थालेका राहुलले आफ्नो खेल निखार्नका लागि कठिन संघर्ष गरे । उनले एक वर्ष दिल्ली र अर्को एक वर्ष लखनउमा क्रिकेटको आधारभूत प्रशिक्षण लिएका थिए । छाप्रोमा बसेर पनि राहुलको सपना र महत्त्वाकांक्षा भने आकाशजस्तै फराकिलो थियो । गाउँमा हुने सानातिना स्थानीय प्रतियोगितामा राहुलको बलसामु क्रिजमा टिक्न कुनै पनि ब्याट्सम्यानका लागि मुस्किल हुन्थ्यो ।
बाल्यकालका उनका साथी दिपेश यादव भन्छन्, ‘राहुलले जब बलिङ गर्न थाल्छ, विपक्षी ब्याट्सम्यानहरू डराउँछन् । ऊसँग जुन गति र नियन्त्रण छ, त्यो गाउँस्तरमा मात्र सीमित रहने किसिमको थिएन ।’ गत वर्ष सम्पन्न मधेश प्रदेशको अन्डर–१६ म्यान अफ द सिरिजका रूपमा राहुल परिचित छन् । चन्द्रपुरमा हुने कुनै पनि प्रतियोगितामा उनी म्यान अफ द म्याच र म्यान अफ द सिरिज घोषित हुन्थे । उनी चन्द्रपुर क्रिकेट एकेडेमीका उत्पादक खेलाडी हुन् । यसको ज्वलन्त उदाहरण एक वर्षअघि चन्द्रपुर–८ स्थित कोटीहोम खेलमैदानमा सम्पन्न चन्द्रपुर क्रिकेट लिगमा देखिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच बनेका राहुलले आफू छिट्टै ठूलो मञ्चका लागि तयार भइसकेको संकेत दिएका थिए । ठीक त्यसै बेला नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै मधेश प्रदेशको गौरवशाली तथा एक मात्र प्रतिनिधित्व गर्ने टोली ‘जनकपुर बोल्ट्स’ले मोफसलका प्रतिभावान् युवाका लागि ढोका खोल्यो ।
चन्द्रनिगाहपुरका क्रिकेटर देवराज कार्कीको विशेष पहल र चन्द्रपुर युवा क्लबको संयोजनमा गत २२ असोजमा चन्द्रपुर नगरपालिका–८ स्थित कोटीहोम क्रिकेट खेलमैदानमा दुईदिने उच्चस्तरीय बन्द प्रशिक्षण तथा प्रतिभा छनोट (ट्यालेन्ट हन्ट) कार्यक्रम आयोजना गरिएको थियो । मोफसलका प्रतिभावान् युवा खेलाडीलाई राष्ट्रियस्तरको व्यावसायिक मञ्चमा उक्लिने मार्गप्रशस्त गर्ने उद्देश्य राखिएको उक्त ट्यालेन्ट हन्टमा देशैभरबाट करिब ४४६ भन्दा बढी उदयमान र मिहिनेती क्रिकेट खेलाडीले नाम दर्ता गराएका थिए । अत्यन्तै तीखो र कडा प्रतिस्पर्धाबाट गुज्रिएका सयौँ आकांक्षीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम ७ मा राहुल पनि छनोट भए । जनकपुर बोल्ट्सले आयोजना गरेको उक्त ट्यालेन्ट हन्टबाट छनोट भएपछि राहुल सोझै टोलीमा आइकोनिक तथा उदीयमान खेलाडीका रूपमा आबद्ध हुन पुगे । यसरी नेपाली क्रिकेटमा नयाँ र निस्वार्थ प्रतिभाको खोजी भइरहेका बेला रौतहटको यो माटोबाट राहुल राष्ट्रिय मञ्चमा उक्लन सफल भएका छन् । मध्यमगतिको बलिङमा विशेष दख्खल राख्ने राहुलले एनपीएलको मैदानमा आफ्नो क्षमताको प्रभावशाली र अद्भुत नमुना प्रस्तुत गरेका छन् ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा उनले गरेको प्रदर्शनले सिंगो नेपाली क्रिकेट वृत्तको ध्यान खिचेको छ । काठमाडौंका शक्तिशाली ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने क्रममा राहुलले कसिलो र घातक बलिङ गरे । १६ वर्षीय राहुलले काठमाडौंको ब्याटिङ ध्वस्त मात्र पारेनन्, टिमलाई नै जित दिलाए । उनले ४ओभरमा मात्र ३१ रन खर्चिएर ४ विकेट हात पारे । यसअघि कर्णालीविरुद्धको डेब्यु एनपीएल खेलमा समेत उनले १५ रन मात्र खर्चेर २ विकेट लिएका थिए । क्रिकेट मैदानमा स्थापित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टार खेलाडीसामु विचलित नभई राहुलले कप्तान करण केसी, स्मित पटेल, साम हेजलेट र मोहम्मद आदिल आलमजस्ता दिग्गज ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाए । राहुलको यो धारिलो बलिङ आक्रमणसामु विपक्षी टोली निमेषभरमै धराशयी बन्यो र जनकपुर बोल्ट्सले खेलमा सहज रूपमा ८ विकेटको शानदार जित निकाल्यो ।
हिजोसम्म गाउँको सानो झुपडीबाहिर बसेर टेलिभिजनमा ठूला खेलाडीलाई हेर्ने राहुल, आज तिनै खेलाडीसँग काँधमा काँध मिलाएर मैदानमा पसिना बगाइरहेको रौतहटका पुराना क्रिकेटर बिकु सिंहले सुनाए । ‘राहुलको यो छलाङ केवल एउटा व्यक्तिगत सफलता मात्र होइन,’ उनले भने, ‘यो साधन र स्रोतविहीन अवस्थामा पनि अगाडि बढ्न चाहने हजारौँ मोफसलका युवाका लागि प्रेरणाको एक ज्वलन्त दस्तावेज हो ।’ छोराको प्रगति देखेर राहुलकी आमा पनापति देवी मख्ख नहुने कुरै भएन । ‘हामी गर्वका साथ भन्छौँ, हाम्रो छोराले आफ्नै मिहिनेतले आज यो स्थान बनाएको छ । हामीलाई पूर्ण विश्वास छ, उसले भविष्यमा अझै कडा मिहिनेत गरेर देशकै नाम उच्च राख्नेछ ।’
रौतहटको धुलाम्मे बाटो, सानो झुपडी र सीमित स्रोतसाधनको घेराबाट निस्केर एनपीएलको चम्किलो प्रकाशमा आइपुगेका राहुल अहिले नेपाली क्रिकेटका नयाँ पोस्टर ब्वाई बन्ने बाटोमा रहेको उनका छिमेकीहरू सुनाउँछन् । उनको यो उडानले अजगैबी गाउँ मात्र होइन, सिंगो मधेश र नेपालको क्रिकेटप्रेमीहरूको शिर उच्च बनाएको स्थानीय सरोज यादवले सुनाए ।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।