कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुवै सरकारका तर्फबाट उक्त प्रस्ताव पेस गरेकी हुन्। आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा हुने कोप–३१ मा प्रस्तावमाथि छलफल हुनेछ।
काठमाडौँ — नेपाल र भुटानले हिमाली क्षेत्रमा तापक्रम वृद्धिको प्रभावबारे जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा छुट्टै एजेन्डा राख्न प्रस्ताव गरेका छन्। दुवै देशले ‘हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धिको प्रभाव’ शीर्षकमा नयाँ एजेन्डा समावेश गर्न औपचारिक प्रस्ताव पेस गरेका हुन्।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुवै सरकारका तर्फबाट उक्त प्रस्ताव पेस गरेकी हुन्। आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा हुने कोप–३१ मा प्रस्तावमाथि छलफल हुनेछ।
हिमाली क्षेत्रमा तीव्रगतिमा तापक्रम बढ्दा हिमनदी पग्लिने, जलसुरक्षा कमजोर हुने र चरम जलवायु विपद् बढ्ने जोखिम रहेको भन्दै नेपाल र भुटानले हिमाली मुद्दालाई जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय निर्णय प्रक्रियाको प्राथमिकतामा राख्न माग गरेका छन्।
प्रस्तावमा हिमाली क्षेत्रमा तापक्रम वृद्धिबारे वैज्ञानिक अध्ययन अघि बढाउने, प्रत्येक वर्ष उच्चस्तरीय संवाद गर्ने, हिमाली पारिस्थितिक प्रणालीसम्बन्धी राष्ट्रसंघीय कार्ययोजना बनाउने प्रक्रिया सुरु गर्ने तथा जलवायु अनुकूलन, वित्त र हानि–नोक्सानीसम्बन्धी कार्यक्रममा हिमाली क्षेत्रका प्राथमिकता समेट्नुपर्ने उल्लेख छ।
नेपालको २०२६ को भोटेकोशी बाढीले करिब २ अर्ब ७० करोड अमेरिकी डलर क्षति पुर्याएको र पुनःस्थापनाका लागि ४ अर्ब ७० करोड डलर आवश्यक पर्ने अनुमान गरिएको प्रस्तावमा उल्लेख छ। यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत हो।
मन्त्री चौधरीले हिमाली क्षेत्रमा देखिएका जोखिमले राष्ट्रिय सीमा नचिन्ने र त्यसको असर हिमाली समुदायमा मात्र सीमित नरही तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने अर्बौं मानिससम्म पुग्ने बताएकी छन्। जलवायु परिवर्तनको पहिलो मार खेपिरहेका हिमाली समुदायका समस्यालाई विश्व समुदायले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।
नेपाल र भुटानले जलवायु परिवर्तनसम्बन्धी महासन्धिको धारा ४.८ तथा कोप–३० का निर्णयलाई आधार बनाएर प्रस्ताव अघि सारेका हुन्। हिमाली मुद्दा हालसम्म महासन्धिको मुख्य निर्णय प्रक्रियामा पर्याप्त रूपमा समेटिन नसकेको भन्दै दुवै देशले छुट्टै एजेन्डामार्फत त्यसलाई संस्थागत गर्न खोजेका छन्।
विकास कान्तिपुर टीभीका संवाददाता हुन् । उनका रिपोर्टिङहरु राजनीति र जलवायु परिवर्तनका मुद्धामा केन्द्रीत छन् ।