एनएफसीएको आयोजनामा सुरु भएको महोत्सव नोभेम्बर १ सम्म चल्नेछ, जसमा २१ देशका २६ फिल्म प्रदर्शन गरिनेछन् ।
काठमाडौँ — 'काठमाडौं हरर फिल्म फेस्टिभल (केएचएफएफ)' को दोस्रो संस्करण आजदेखि सुरु भएको छ । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमी (एनएफसीए) को आयोजनामा भएको यो फेस्टिभल नोभेम्बर १ सम्म सञ्चालन हुनेछ ।
फेस्टिभलको उद्घाटन सत्रमा विभिन्न देशका राजदूतावासका प्रतिनिधिहरू, चलचित्रकर्मी तथा कलाकर्मीहरूको सहभागिता थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै रसियन हाउसकी निर्देशक अनास्तासिया खोख्लोभाले भनिन्, ‘यो फेस्टिभल अनौठो र विशेष महत्त्वको छ । एनएफसीसँगको सहकार्यलाई आगामी दिनमा अझै प्रगाढ बनाउँदै नेपाली चलचित्रकर्मीहरूसँगको अनुभव आदानप्रदान र सहकार्यलाई निरन्तरता दिनेछौँ ।’
कार्यक्रमका प्रमुख अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले मन्तव्यका क्रममा भने, ‘यस्ता फेस्टिभलहरूले सिनेमामा विविधता, सृजनात्मकता र कलाकर्मीहरूलाई आफ्नो प्रतिभा देखाउने महत्वपूर्ण अवसर प्रदान गर्दछन् । हामी सहकार्य गरेर नेपाली फिल्म उद्योगलाई अगाडि लैजान र नयाँ अवसरहरू सिर्जना गर्न कटिबद्ध छौँ ।’
उद्घाटन समारोहमा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि थिए । नेपाल रसियन युथ क्लबका पियानोवादक सार्तक मानन्धरले प्रसिद्ध रुसी कम्पोजर प्योत्र च्चाइकोभ्स्कीको शास्त्रीय पियानो सोलो 'सोनेटक' प्रस्तुत गरेर दर्शकहरूलाई मन्त्रमुग्ध पारे ।
कार्यक्रममा नेपालको पारम्परिक लाखे डान्स प्रस्तुत गरिएको थियो ।
फेस्टिभल निर्देशक रसिक पाठकले भने, ‘यस वर्ष २१ देशबाट २६ वटा उत्कृष्ट फिल्महरू फेस्टिभलमा समेट्न पाउँदा हामी गर्व महसुस गर्छौं । युवा चलचित्रकर्मीहरूलाई प्रोत्साहन गर्न, अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्न र विश्वभरका कलामार्फत समाजलाई जोड्न यस्ता पहलहरूले ठूलो भूमिका खेल्छन् ।’
यस फेस्टिभलको ओपनिङ फिल्मका रूपमा रुसी चलचित्र 'द विन्ड'को विशेष स्क्रिनिङसमेत भयो । उद्घाटन सत्रमा फिल्मका कार्यकारी निर्माता तथा प्रतिनिधि अलेक्जेन्दर अस्त्रभेर्च पञ्चियानीको विशेष उपस्थिति थियो ।
हालै रुसमा प्रतिष्ठित अवार्ड जितेको यस फिल्मलाई रसियन हाउसमा भोलि शनिबार १० बजे निःशुल्क प्रदर्शन गरिनेछ । त्यतिबेला दर्शकहरूले निर्देशक पञ्चियानीसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्नेछन् ।
अन्तर्राष्ट्रिय आह्वानमार्फत चयन भएका ८ फिचर र १८ सर्ट फिल्महरू प्रदर्शन हुने यस फेस्टिभलले तीन दिनसम्म फिल्मप्रेमीहरूका लागि विशेष सिनेमात्मक अनुभव प्रदान गर्नेछ ।