अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले लिगको समय भरि खेलका क्रममा फाल्ने प्रत्येक डट बलबापत मधेश प्रदेशमा ग्रामीण समुदायका किशोरी तथा महिलालाई सेनेटरी प्याड उपलब्ध गराइनेछ ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्ष्य गर्दै जनकपुर बोल्ट्सको फ्यान क्लब 'बोल्ट्स बटालियन'ले ‘डट फर डिग्निटी’ नामक सामाजिक अभियान घोषणा गरेको छ ।
उक्त अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले लिगको समयभरि खेलका क्रममा फाल्ने प्रत्येक डट बलवापत मधेश प्रदेशमा ग्रामीण समुदायका किशोरी तथा महिलालाई सेनेटरी प्याड उपलब्ध गराइनेछ ।
'हरेक डट बलको महत्त्व हुन्छ । हरेक महिला सम्मानको हकदार हुन्छिन्' भन्ने नारासहित बोल्ट्स बटालियनले उक्त अभियान सुरु गरेको हो ।
फ्यान क्लब 'बोल्ट्स बटालियन'का अनुसार क्रिकेटको भावना मैदानबाहिर पनि फैलाउने उद्देश्यले ‘डट फर डिग्निटी’ अभियान सञ्चालन गरिएको हो ।