काट्न ठिक्क परेको धान दुई तीन दिन सम्म वर्षा भएमा पछि सुक्न समयम लाग्ने र काट्न ढिलो हुँदा खेतमा नै ढल्ने समस्या हुने किसानको गुनासो छ ।
नवलपुर — चक्रवातको प्रभावको कारण पूर्वी र पश्चिम नवलपरासीमा वर्षा भएको छ । पूर्वी नवलपरासीको त्रिवेणीमा पछिल्लो २४ घण्टामा ६ दशमलव २ मिलिमिटर र दुम्किबासमा ४ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यसले गर्दा काट्न ठिक्क पारेको धान लाई असर पुर्याएको छ । बिहीबार रातिदेखि परेको वर्षा शुक्रबारसम्म पनि जारी छ ।
वर्षा हुने भएपछि किसानले हतार हतार खेती भित्राएको भए पनि अझै पनि ४० प्रतिशत किसानले धान काटेका छैनन् । काट्न ठिक्क परेको धान दुई तीन दिन सम्म वर्षा भएमा पछि सुक्न समयम लाग्ने र काट्न ढिलो हुँदा खेतमा नै ढल्ने समस्या हुने किसानको गुनासो छ ।
देवचुली–१६ का गोविन्द प्रसाद गैरेको धान काट्ने समय भएको छ । दसैं मनाएर धान काट्ने सोच बनाएका उनले पानी पर्ने सूचना समाजिक सञ्जालमा देखे । अहिले केही दिनदेखि कात्तिक १२ देखि १४ गतेसम्म पानी पर्न सक्ने सूचना आएको छ । यस पटक जिल्ला प्रशासन कार्यालय, मुख्य सञ्चार माध्यममा पनि मौसम खराब हुने सूचना आएको छ ।
‘बिहीबार दिउँसो पनि आकासमा बादल देखेपछि धान काटिएन । तर, धान खेतमा नै झर्ने समय हुन लागिसेकेको छ,’ गैरेले भने, ‘ग्रामीण भेगमा छौं । फेसबुक, टिकटकमा आउने सूचना र समाचारको भर पर्नुपर्ने अवस्था छ । अब यो चक्रवात आँधीको प्रभाव सकिएपछि धान काट्नुपर्ला । ठूलै पानी पर्ने होकी भन्ने चिन्ता छ । ’
दशैं मनाएर फुर्सदमा रहेका किसानले धान थन्काउने तयारी गरे पनि मौसममा आएको बदलीको कारण अधिकांशले काटेका छैनन् । आकाशको बादल र सञ्चार माध्यममा आउने मौसम सम्बन्धी समाचारको भर पर्नुपर्ने अवस्था छ । अधिकांशले मेसिन प्रयोग गरेर एकै दिन काट्ने र खेत भित्र्याउने गर्दछन् । तर , मेसिन नलगाउने र आफैंले अर्मपर्म गरेर खेती भित्र्याउनेलाई भने धान भिज्ने पिरलो छ ।
वर्षभरी खाने धान भिज्यो भने चामल किनेर खानुपर्ने पिरलो एकातिर छ भने पानी र हावाहुरीले पाकिसकेको धान ढलाउने होकी भन्ने चिन्ता लागेको मध्यबिन्दु ४ का रेबती तिवारीले गुनासो गरिन् । ‘पानीसहित हावाहुरी चल्ने भनेको छ । खेतमा धान पाकेको छ । अब पानीले खेतमा नै धान ढलेर भिज्यो भने वर्षभरी चामल किन्नु पर्दछ । मेहनत र लगानी दुबै खेर जान्छ,’ उनले भनिन्, ‘मौसम सम्बन्धी सूचना किसान लाई समयमा नै थाहा दिने प्रणालीको विकास गर्नुपर्यो । मौसमको भर नै नहुने भयो ।’
दसैंमा पनि पानी पर्ने भनेर सामाजिक सञ्जालमा देखिएको थियो । तर , पानी परेन् । पानी पर्ने सम्भावित स्थानको क्षेत्रमा अझ भनौ यस्ता चक्रवात आउने सम्भावना भएको क्षेत्रका स्थानीय लाई समयमा नै जानकारी गराउन आवश्यक रहेको कावासोतीका माधव सुवेदीले बताए ।
‘जलवायु परिवर्तनको कारण मौसमको आकलन गर्न पनि असहज छ । बिहान भरी घाम लागेको भए पनि दिउासो पानी पर्ने, हुस्सु लाग्ने अवस्था छ ।’ यसको प्रतक्ष्य असर किसानले भोगिरहेका छन् ।’
चक्रवातले असर गर्ने भन्दै किसानलाई कात्तिक १२, १३ र १४ गतेसम्म धान नकाट्न र काटिसेको भए तत्कालै व्यवस्थापन गर्न केही दिन अगाडि सूचना प्रवाह गरेको कृषि ज्ञान केन्द्र, नवलपुरका सूचना अधिकार विश्वास ढकालले बताए । तर, ग्रामीण भेगका किसानसम्म सूचना प्रभावकारी ढंगले पुग्न नसक्दा बिहीबार पनि किसानले धान काटिरहेका थिए । बिहीबार काटेको धानलाई रातीको पानीले असर पुर्याएको छ । यस अगाडि गरिएको मौसम पूर्वानुमान नमिलेको र सामाजिक सञ्जालको बढ्दो प्रयोग सँगै गलत सूचना प्रवाहको कारण पनि किसान समस्यामा पर्दै आएका छन् । पूर्वी नवलपरासीमा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ । बिहीबार सम्म ५० प्रतिशतभन्दा बढीले धान खेती भित्र्याइसकेका छन् ।
नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।