बिहीबार केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै शर्माले कांग्रेसको नयाँ नेतृत्वमा युवासहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता बढेको बताएका हुन् ।
काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिमा युवा, द्वन्द्वपीडित र सहिद परिवारसहित विभिन्न क्षेत्रका व्यक्तित्वको प्रतिनिधित्व बढेको बताएका छन् ।
बिहीबार केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै शर्माले कांग्रेसको नयाँ नेतृत्वमा युवासहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता बढेको बताएका हुन् । उनले भने, ‘आज शपथ लिँदै गर्दा नेपाली कांग्रेस तन्नेरी नेपाली कांग्रेस, स्वयं आफैँमा तरुण, तरुण बन्दै गएको अनुभूति भएको छ। हामीले जहिले पनि द्वन्द्व प्रभावितको कुरा हामी बसेर गर्यौँ। तर स्वयं प्रभावितहरू अहिले यहाँ केन्द्रीय कार्यसमितिमा निर्वाचित भएर आउनुभएको छ। हामीले सहिद परिवारको कुरा गर्यौँ, प्रजातन्त्र सेनानीको कुरा गर्यौँ। पेसा र व्यवसायको कुरा गर्यौँ। तर अहिले त्यो सम्बन्धित क्षेत्रका व्यक्तित्वहरू नै यहाँ नेतृत्वमा आउनुभएको छ।’
शर्माले नेपाली युवाको चाहना बुझ्न संवाद गर्दै आएको कांग्रेसमा अहिले युवाकै प्रतिनिधित्व बढेको बताए। उनका अनुसार ३५ वर्षमुनिका ३५ हजारभन्दा बढी युवा विभिन्न तहमा निर्वाचित भएर आएका छन् । उनले यसपटकको महाधिवेशन अघिल्लो महाधिवेशनको तुलनामा बढी जटिल र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रतिकूल परिस्थितिका बाबजुद महाधिवेशन सफल बनाउन भूमिका खेल्ने निर्वाचन समितिलाई धन्यवाद दिए ।
शर्माले निर्वाचन समितिमा रहेर समन्वयकारी भूमिका निर्वाह गरेको भन्दै प्रेमबहादुर खड्काको प्रशंसा गरे। उनले केन्द्रदेखि गाउँ–गाउँसम्म पुगेर पार्टीको महाधिवेशन सफल बनाउन योगदान दिने सबैलाई सम्मान व्यक्त गरे। उनले कांग्रेसको ऐतिहासिक विरासतलाई जोगाउँदै वर्तमानलाई जिम्मेवार र भविष्यलाई सुन्दर बनाउने संकल्प नयाँ नेतृत्वले गर्नुपर्ने बताए ।
शर्माले नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई आफूलाई मत दिएर विश्वास गर्ने प्रत्येक मतदाताप्रति इमानदार रहन आग्रह गरे । केन्द्रीय समितिमा निर्वाचित हुँदैमा आफूहरू नै सबैभन्दा लोकप्रिय, योग्य वा सक्षम भएको नठान्न पनि उनले सचेत गराए । उनले पार्टीको इतिहासप्रतिको गर्वलाई वर्तमानको जिम्मेवारीसँग जोड्दै आगामी दिनमा कांग्रेसलाई अझ जिम्मेवार र प्रभावकारी बनाउने दायित्व नयाँ नेतृत्वको काँधमा रहेको बताए ।
नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।