बजार क्षेत्रमा सडकको सेन्टरलाइन र इन्टरसेक्सन (चोक)सम्बन्धी विवादका कारण निर्माण रोकिएको थियो ।
काठमाडौं — लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढेको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक निर्माण पुनः सुरु भएको जानकारी दिँदै दुई महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन् ।
सडकको सेन्टरलाइन र इन्टरसेक्सन (चोक)सम्बन्धी विवादका कारण निर्माण रोकिएको थियो । मन्त्रालयको पटक–पटकको सहजीकरणपछि विवाद समाधान भएसँगै निर्माण अघि बढाइएको मन्त्री लम्सालले जानकारी दिए । हाल निर्माणस्थलमा सडकको पुरानो सतह हटाउने काम भइरहेको छ । बाँकी सडकखण्डलाई सर्भिस लेनसहित ४ लेनमा स्तरोन्नति गरी यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।
मन्त्री लम्सालका अनुसार साँगा–धुलिखेल सडकखण्डको सर्भिस लेनसहित कूल लम्बाइ ७ दशमलव ९ किलोमिटर रहेको छ । जसमध्ये ६ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । अब बाँकी १ दशमलव ४ किलोमिटर सडक निर्माण गर्न बाँकी छ ।
बाँकी सडकखण्डमा पनि निर्माण कार्यलाई तीव्रता दिँदै सर्भिस लेनसहित ४ लेनमा स्तरोन्नति गरिने मन्त्रालयले जनाएको छ ।