सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन् ।नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै बस्ने तयारी छ ।
काठमाडौँ — कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन् । केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा पार्टी सभापतिबाहेक बाँकी सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्। नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले दसैंको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सम्पन्न गरिने र नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै आजै पदबहालीसमेत गराइने जानकारी दिए ।
असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। महाधिवेशन अन्तर्गत उदघाटन र बन्दसत्र खुल्लामञ्चमा भएको थियो भने मतदान खुलामञ्च र राष्ट्रिय सभागृहमा भएको थियो ।
महाधिवेशनको मतदान गत असोज २३ गते भएको थियो भने त्यही दिन राति सभापतिको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो । सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो । अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा गरिएको थियो ।
१४ औं महाधिवेशनमा ४ हजार ७ सय मतदाताको मतगणना गर्न १२ दिन लागेकामा यसपटक ७ हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको सदस्य सचिव कटुवालले जानकारी दिए । यस पटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको उनले बताए ।
कुल २२९ पदका लागि निर्वाचन भएकामा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।
महाधिवेशनबाट सभापतिमा गगन थापा सर्वाधिक ९४ प्रतिशत मतसहित निर्वाचित भए भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्। त्यस्तै महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला (पन्त) रहेको कार्यसमिति चयन भएको छ।
शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ । पहिलो बैठकले महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टी पंक्तिलाई धन्यवाद ज्ञापनलगायतका विषयमा निर्णय गर्ने जनाइएको छ । बैठकमा पार्टीको जिल्ला तथा प्रदेश अधिवेशनहरुका बारेमा पनि छलफल हुने नेताहरुले जानकारी दिएका छन् । - यो समाचार कांग्रेस मिडिया सेन्टरबाट प्राप्त जानकारीका आधारमा तयार पारिएको हो ।